Butwal Today

मदानेमा दूध उत्पादन गर्ने किसानलाई मासिक पाँच हजार प्रोत्साहन रकम

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

गुल्मी ।

पशुपालनलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्ने र किसानको आम्दानी बढाउने उद्देश्यले गुल्मीको मदाने गाउँपालिकाले दैनिक कम्तीमा १० लिटर दूध उत्पादन गर्ने कृषकलाई मासिक रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । कम्तीमा तीन वटा दुहुना गाई वा भैँसी पालेका किसानलाई लक्षित गरी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँ कार्यपालिकाले सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमबाट फाईदा लिन इच्छुक कृषकलाई निवेदन दिन आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कँडेलद्वारा जारी सूचना अनुसार इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले सात दिन भित्र आवश्यक कागजात सहित गाउँपालिकाको पशु विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा सहभागी हुने कृषकले निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषि फर्म, समूह वा सहकारी दर्ता तथा नवीकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेस गर्नुपर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?