Butwal Today

बुटवलमा आजदेखि पाँच दिने खाना महोत्सव हुँदै

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल 

पर्यटन प्रवद्र्धन र होटल तथा रेस्टुरेन्ट व्यवसायको विकास गर्ने उद्देश्यले बिहीबारदेखि बुटवलमा बृहत् खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रूपन्देहीको आयोजनामा बुटवललाई केन्द्रबिन्दु बनाएर ‘बुटवल खाना महोत्सव–२०८३’ मङ्सिर ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन लागेको हो ।
महोत्सव बुटवल उपमहानगरपालिका वडा नं. ११, देवीनगरस्थित खुला मञ्च, हिलपार्क उद्यान परिसर र सिद्धेश्वर कुमारी माध्यमिक विद्यालयको खेल मैदानमा समेत सञ्चालन गरिने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले बताए ।
उनका अनुसार नेपाली मौलिक कला संस्कृति र खानपानका परिकारहरूको प्रचारप्रसार तथा बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ‘अतिथि देवो भव’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत महोत्सवको रहेको छ ।
यसअघि बुटवल सडक खाना महोत्सव २०७९, २०८०, २०८१ र २०८२ मा पनि सोही ठाउँमा भव्य रूपमा सम्पन्न भएको थियो । यस वर्ष त्यसैलाई निरन्तरता दिँदै अझ व्यवस्थित र परिष्कृत रूपमा महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।
किन ठाउँ सारियो ?
विगतका महोत्सव सडकमा सञ्चालन गर्दा अत्यन्तै भिड हुने गरेको, ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको, खानपानी, शौचालय एवं त्यस क्षेत्रका स्थानीयवासीलाई गुनासो हुने गरेको कारण यस वर्ष खुला मञ्चमा महोत्सव सञ्चालन गर्न लागिएको हो । यस महोत्सवले व्यवसायिक, स्थानीयवासी र सडक प्रयोगकर्ताका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ । आयोजकले महोत्सवका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण, अस्थायी संरचना, टेन्ट, विद्युत्, खानपानी, शौचालय, सरसफाइ, सुरक्षा, सांस्कृतिक कार्यक्रम लगायतको व्यवस्थापनका लागि ५० लाख रुपियाँभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।
५० स्टल, जातीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्म
महोत्सवमा जम्मा ५० वटा स्टल रहने छन् । जसमा विभिन्न जातीय खानाका परिकार, अन्तर्राष्ट्रिय खानाका परिकार, २ वटा नेवारी परिकार, ३ वटा थारु परिकार, ३ वटा मगर परिकार र ४ वटा क्लब तथा समूहका ६ वटा स्टल रहनेछन् । त्यसैगरी विभिन्न रेस्टुरेन्ट, पार्टी प्यालेस, क्याफे, स्कुल कलेजका स्टल पनि रहनेछन् ।
महोत्सवमा होटल तथा रेस्टुरेन्टहरू एवं विभिन्न जातीय खानाका परिकारको प्रदर्शनी, बिक्री वितरण र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गरिएको कार्यक्रममा खाना सम्बन्धी विभिन्न प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।
स्टल सहभागीहरूलाई न्यूनतम दरमा स्टल उपलब्ध गराइएको छ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दर्शकहरूका लागि सौचालयको निःशुल्क सुविधा, सोधपुछ, अस्वस्थ्य शौचालय व्यवस्थापन गरेका छन् । सुरक्षाको लागि सिसिटिभी जडान, सेक्युरिटी कम्पनीबाट सेक्युरिटी गार्ड, सोधपुछ कक्ष तथा थप प्रहरी सुरक्षा समेत सुरक्षा व्यवस्था मिलाइएको छ ।
महोत्सव पाँच दिनसम्म दिउँसो ४ बजेदेखि रातको १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको अवसरमा रक्तदान तथा पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गोष्ठी समेत सञ्चालन हुनेछ । महोत्सवले बजार चलायमान गराउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?