Butwal Today

औषधीमा खेलवाड नगर

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

केही दिनयता एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य चुनौति नित्म्याएको कुरा सार्वजनिक भएको छ । यद्यपि यो समस्या अहिलेमात्रै होइन, धेरै पहिलेदेखि एन्टिबायोटिकले स्वास्थ्यमा चुनौति सिर्जना गरेको कुरा बाहिर आएको थियो । चिकित्सकहरूले रुघाखोकी र ज्वरोमा पनि एन्टिबायोटिक सिफारिस गर्ने गरेको घटना बाहिर आएको छ । एन्टिबायोटिकको प्रयोग कुन अवस्थामा कसरी गर्ने भन्ने कुराको जानकारी नभै जथाभावी चलाउँदा यसले ठूलो चुनौति निम्याउने गरेको सार्वजनिक भएको छ । एन्टिबायोटिकको जथाभावी प्रयोगले मानिसहरू अनेक रोगले थलिएको समेत सार्वजनिक भएको छ । तसर्थ एन्टिबायोटिकको प्रयोग लापरवाही अनुसार गर्नुहुँदैन । त्यसैगरी शरीरको तौल घटाउने, मधुमेह शत प्रतिशत निको पार्ने तथा मुटु र मिर्गौला रोग ग्यारेन्टीका साथ सञ्चो गराउने नाममा केही समयदेखि अनेकौ खालका औषधीको प्रचार प्रसार भैरहेको छ । खासगरी टिकटकमा प्रमाणित नभएका त्यस्ता औषधीको विज्ञापन पनि ब्यापक हुने गरेको छ । त्यसले रोग नियन्त्रण गर्नुको साटो झनै बढाउने अनुगमनकै क्रममा देखिएको छ । त्यसैगरी खुल्ला हाटबजारमा पनि आयुर्वेदिक औषधीको नाममा प्रहरीका अधिकृतहरूसंग खिचेका तस्वीर राखेर उपभोक्तालाई विश्वासमा लिने दाउका साथ खुलारूपमा विक्री वितरण भैरहेको छ । ती औषधी पनि प्रमाणविनाको पुष्टी भैसकेको छ भने त्यसमा माटो समेत मिश्रण भएको देखिएको छ । औषधीजस्तो अति मानवीय संवेदनशीलताको बिषयमा लापरवाही हुनु हदैसम्मको गैरजिम्मेवारी हो । यस प्रकारका अवैध काममा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनैपर्दछ । मानिसको जीवनमाथि खेलवाड गर्नु कुनैपनि मानेमा सुहाउने बिषय होइन । रोग सञ्चो होला भनेर उपयोग गरिने औषधि नै मापदण्ड विपरीत भएको थाहा पाएपछि यस्ता औषधि सेवन गरिरहेका बिरामीमा त्रास उत्पन्न हुँदा स्वास्थ्यमा झनै जटिलता आउने कुरालाई पनि नकार्न सकिँदैन् । त्यसैले औषधिजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्नैपर्छ । औषधी व्यवस्था विभागले हालै गरेको अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरीत रहेको स्पष्ष्ट गरिसकेको छ । अन्य औषधिहरू पनि गुणस्तरहीन र मापदण्ड विपरीत हुन सक्ने कुरालाई मध्यनजर गरी सम्बन्धित निकायले बजार अनुगमनलाई अझै तीव्र बनाउनुपर्ने आवश्यकता छ ।
केही समयदेखि अंग्रेजी औषधी समेत बजारमा नक्कली, म्याद सकिएको विक्री वितरण हुने गरेको देखिएको छ । त्यसमाथि आयुर्वेदिक औषधीको नाममा नक्कली र प्रमाणित विनाका औषधी समेत हाटबजारमा खुल्लारूपमा विक्री वितरण गर्ने गरिएको छ । त्यस्तो औषधी विक्री वितरण गर्नेहरूले आयुर्वेद सम्वन्धि कुनैपनि औपचारिक शिक्षा लिएको देखिदैन् । बजार अनुगमनका क्रममा संकलन गरिएका ती औषधिको नमुना परीक्षण गर्दा केही औषधिहरू न्यून गुणस्तरका पाइएको र ती औषधीले स्वास्थ्यमा असर पर्ने निश्चित छ । बजारमा भएका यस्ता औषधिको बिक्री रोकी फिर्ता गराएर मात्र हुँदैन, मापदण्ड विपरीतका गुणस्तरहीन औषधि उत्पादन गरी जनस्वास्थ्यमा खेलबाड गर्ने औषधि कम्पनीहरूलाई पनि कडाभन्दा कडा कारबाही गर्नु नितान्त जरुरी छ । यसतर्फ सम्वन्धित निकायको चाँडोभन्दा चाँडो ध्यान जानु जरुरी छ । औषधी विरामीका लागि जीवन हो । त्यही औषधीले मानिसको ज्यान लिने अवस्था पुग्नुलाई स्वाभाविक मान्न सकिदैन् । सम्वन्धित निकायले ध्यान नदिने र अनुगमन नगर्ने हो भने कतिपय नेपालीले यस्तै औषधीका कारण ज्यानै गुमाउनुपर्ने अवस्था आउन सक्छ । तसर्थ नेपाल सरकारको आधिकारिक निकायले औषधीको बजार अनुगमन गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?