© 2026
“धेरै व्यस्त छु, सास फेर्ने फुर्सद छैन”– आजभोलि जोसुकैलाई भेट्दा यही रेडिमेड जवाफ सुनिन्छ; तर साँझ परेपछि “खै, आज दिनभरि के काम भयो र ?” भन्ने गुनासो पनि उत्तिकै सुनिन्छ । हामी सबैसँग दिनमा उही २४ घण्टा मात्र छ, तर कसैले यही सीमित समयको सदुपयोग गरेर असाधारण उचाइ हासिल गर्छन् भने कोही दिनभरि दौडिएर पनि साँझ रित्तो हात फर्कन्छन् । सीमित समयको असीमित सदुपयोग कसरी गर्ने त ? यसको उत्तर जीवन व्यवस्थापनका तीन आधारभूत कलामा लुकेको छ— अस्वीकार गर्ने साहस, छनोट गर्ने विवेक र गुनासो त्याग्ने परिपक्वता । अर्थात्, अनावश्यक कुरालाई ‘नाइँ’ भन्नु, सही कामलाई ‘प्राथमिकता’ दिनु र परिस्थितिमाथि ‘गुनासो’ नगर्नु नै सीमित समयको असीमित सदुपयोग गर्ने अचूक सूत्र हो । आधुनिक मानव जीवनको सबैभन्दा ठूलो विडम्बना नै समय र ऊर्जा सीमित हुनु, तर इच्छा, अपेक्षा र दायित्वहरू असीमित हुनु हो । हाम्रो सामाजिक संरचनाले सधैँ अरूलाई खुसी पार्न, सबै काममा ‘हुन्छ’ भन्न र परिस्थिति प्रतिकूल हुँदा अरूलाई दोष दिन सिकाएको हुन्छ । तर, जबसम्म मानिसले आफ्नो समयको लगाम आफ्नै हातमा लिँदैन, तबसम्म ऊ अरूकै योजनाको गोटी मात्र बनिरहन्छ । मानिस स्वभावतः सामाजिक प्राणी भएकाले समाजमा स्वीकृत हुन चाहन्छ र कसैको चित्त दुखाउन चाहँदैन। यही मनोविज्ञानका कारण हामी दैनिक जीवनमा अनगिन्ती यस्ता काममा ‘हुन्छ’ भनिदिन्छौँ, जुन न हाम्रो लक्ष्यसँग मेल खान्छन्, न त हाम्रो समयले नै भ्याउँछन्। कसैले अनावश्यक भेटघाट र बैठकमा बोलाउँदा, कसैले आफ्नो कामको बोझ हामीमाथि थोपर्न खोज्दा वा सामाजिक सञ्जाल र अनावश्यक भेटघाटले सिर्जनशील समय खाइदिँदा पनि हामी ‘नाइँ’ भन्न हिचकिचाउँछौँ ।
समयको सदुपयोग गर्ने पहिलो सर्त नै अनावश्यक कुरालाई ‘नाइँ’ भन्नु हो । हरेक पटक जब हामी कुनै अनावश्यक कुरामा ‘हुन्छ’ भन्छौँ, त्यति नै बेला हामीले आफ्नो जीवनको कुनै अत्यन्त महत्त्वपूर्ण काम र समयलाई ‘नाइँ’ भनिरहेका हुन्छौँ । प्रसिद्ध लगानीकर्ता वारेन बफेटले भनेका छन्, “सफल मानिस र अत्यन्त सफल मानिसबीचको फरक यही हो कि अत्यन्त सफल मानिसहरूले लगभग सबै कुरालाई ‘नाइँ’ भन्छन् ।” समयको सदुपयोग गर्न सामान्य र औसत अवसरहरूलाई त्याग्न सक्नुपर्छ। ‘नाइँ’ भन्नुको अर्थ स्वार्थी वा असहयोगी बन्नु होइन, बरु आफ्नो सीमित समय र लक्ष्यप्रति इमानदार हुनु हो । जब हामी स्पष्ट र विनम्रतापूर्वक ‘नाइँ’ भन्छौँ, तब आफ्नो समयको मूल्य स्थापित गर्छौँ । सुरुवाती चरणमा अस्वीकार गर्दा अरूलाई नराम्रो लाग्न सक्छ, तर बिस्तारै समाज र वरपरका मानिसले समयको कदर गर्न थाल्छन्। सिधै अस्वीकार गर्नुको सट्टा आफ्नो वर्तमान व्यस्तता र प्राथमिकतालाई विनम्रतापूर्वक स्पष्ट पार्दा सम्बन्ध पनि बिग्रन पाउँदैन र आफ्नो समय पनि सुरक्षित रहन्छ । समय सदुपयोगको दोस्रो महत्त्वपूर्ण आधार हो— सही प्राथमिकता निर्धारण । व्यस्त हुनु र उत्पादक हुनु नितान्त फरक कुरा हुन् । कमिला दिनभरि व्यस्त रहन्छ, तर ऊ सही दिशामा गइरहेको छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। यदि मानिसले जीवनका प्राथमिकता तय गर्न सकेन भने, ऊ दिनभरि दौडिरहन्छ तर साँझ पर्दा आफू जहाँको तहीँ रहेको पाउँछ । सीमित समयबाट अधिकतम नतिजा निकाल्न आफूसँग भएका दर्जनौँ काममध्ये कुन कामले जीवन, पेसा, स्वास्थ्य र सम्बन्धमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ भन्ने पहिचान गर्नुपर्छ । अर्थशास्त्री भिल्फ्रेडो पारेटोको ८०÷२० को नियम अनुसार हाम्रो जीवनको ८० प्रतिशत परिणाम केवल २० प्रतिशत महतवपूर्ण कामबाट प्राप्त हुन्छ, जबकि बाँकी ८० प्रतिशत समय र परिश्रमले केवल २० प्रतिशत मात्र नतिजा दिन्छ। बुद्धिमान मानिसले आफ्नो सीमित समय त्यही २० प्रतिशत महत्त्वपूर्ण काममा लगानी गर्छ । अमेरिकी पूर्वराष्ट्रपति ड्वाइट डी.आइजन हावरको समय व्यवस्थापन सम्बन्धी सिद्धान्त निकै सान्दर्भिक छ । उनका अनुसार कामहरू चार प्रकृतिका हुन्छन– जरुरी र महत्वपूर्ण, महतवपूर्ण तर जरुरी नभएका, जरुरी तर महत्त्वपूर्ण नभएका, र न जरुरी न महत्त्वपूर्ण। हामी मध्ये अधिकांशले तत्काल ध्यान तान्ने तर लक्ष्यमा योगदान नदिने काम तथा सामाजिक सञ्जालको लत जस्ता समय बर्बाद गर्ने गतिविधिमा अल्झिएर भविष्य निर्माण गर्ने महत्त्वपूर्ण कामलाई बेवास्ता गरिरहेका हुन्छौ । अध्ययन, सीप विकास, दीर्घकालीन योजना, व्यायाम र पारिवारिक सम्बन्धजस्ता तत्काल दबाब नहुने तर महत्त्वपूर्ण कामलाई बेवास्ता गर्दा ती पछि गएर गम्भीर सङ्कट बनेर आइपुग्छन्। आज नियमित व्यायाम र सन्तुलित भोजनलाई समय नदिँदा भोली गम्भीर रोगको सामना गर्नुपर्ने यथार्थ हाम्रैसामु छ । त्यसैले दिनको सुरुवातमा नै सबैभन्दा कठिन र महत्त्वपूर्ण काम सम्पन्न गर्ने बानी बसाल्नुपर्छ । जब प्राथमिकता स्पष्ट हुन्छ, तब सीमित समयको सदुपयोग स्वतः हुन थाल्छ । सीमित समयको असीमित सदुपयोग गर्ने तेस्रो र उत्तिकै शक्तिशाली सूत्र हो— गुनासोलाई त्याग गर्नु। मानिसको समय र ऊर्जा नष्ट गर्ने अर्को ठूलो अदृश्य शत्रु ‘गुनासो’ हो । आज पानी पर्यो, मौसम चिसो भयो, बाटोमा ट्राफिक जाम भयो, कार्यालयमा हाकिमले कुरै बुझेनन्, सरकारले केही काम गरेन, भाग्यले नै साथ दिएन— यस्ता अनगिन्ती विषयमा हामी दिनहुँ समय खर्चेर गुनासो गरिरहेका हुन्छौँ । गुनासो गर्नु मानव मस्तिष्कको एउटा सहज प्रतिक्रिया हो, किनकि यसले हामीलाई आफ्नो कमजोरी र असफलताको जिम्मेवारी अरूमाथि थोपर्ने सुविधा दिन्छ । तर, मनोवैज्ञानिक र स्नायुवैज्ञानिक अध्ययनले बारम्बार गुनासो गर्ने बानीले मस्तिष्कको संरचनामा नै नकारात्मक असर पार्ने देखाएका छन् ।
गुनासो गर्दा शरीरमा ‘कोर्टिसोल’ नामक तनाव हर्मोन उत्सर्जन हुन्छ, जसले रक्तचाप बढाउने, रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्ने र मस्तिष्कको स्मरणशक्ति तथा समस्या समाधान गर्ने भागलाई क्षति पु¥याउने काम गर्छ । अझ खतरनाक कुरा, गुनासो गरिरहँदा मस्तिष्कमा नकारात्मक विचारका स्नायु मार्गहरू यति बलिया हुन्छन् कि पछि राम्रा कुरामा पनि खोट देख्ने बानी बस्छ । गुनासो गर्नु भनेको पीडित मानसिकताको उपज हो, जहाँ व्यक्तिले सधैँ आफूलाई परिस्थितिको दास ठान्छ। यस विपरीत, परिपक्व र सफल व्यक्तिले गुनासोमा समय खेर फाल्नुको सट्टा समाधान र उत्तरदायित्वको बाटो रोज्छ । स्टोइक दर्शनका महान् दार्शनिक एपिक्टेटसले भनेका छन्, “मानिसहरू घटनाहरूबाट होइन, बरु ती घटनाहरूप्रति राख्ने दृष्टिकोणबाट विचलित हुन्छन् ।” जीवनमा प्रतिकूल परिस्थिति आउनु स्वाभाविक हो, तर तिनलाई हेर्ने दृष्टिकोण पूर्णतः हाम्रो नियन्त्रणमा हुन्छ । समाधान गर्न सकिने समस्यामा गुनासो गर्नुको सट्टा समाधानमा लाग्नुपर्छ र आफ्नो नियन्त्रण भन्दा बाहिरका कुरालाई स्वीकार गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता हो । गुनासो त्यागिसकेपछि जुन समय र ऊर्जा हिजो अरूको आलोचना गर्न र भाग्यलाई सराप्न खर्च हुन्थ्यो, त्यही समय आज सिर्जनशील काम र आत्म सुधारमा लगाउन सकिन्छ । वास्तवमा ‘नाइँ’ भन्नु, ‘प्राथमिकता’ तोक्नु र ‘गुनासो’ नगर्नु एक–अर्कासँग गहिरो रूपमा जोडिएका चक्र हुन् । जब जीवनको गन्तव्य र प्राथमिकता स्पष्ट हुन्छ, तब समय खाइदिने अनावश्यक प्रलोभनलाई ‘नाइँ’ भन्न सजिलो हुन्छ । अर्कोतर्फ, ‘नाइँ’ भन्न सक्ने साहसले अरूको हस्तक्षेपलाई रोक्छ र प्राथमिकताका लागि आवश्यक समय सिर्जना गर्छ । जब मानिसले आफ्ना प्राथमिकता आफैँ तय गर्छ र अनावश्यक कुरालाई अस्वीकार गर्छ, तब उसले जीवनको पूर्ण जिम्मेवारी लिन्छ । जिम्मेवारी लिने व्यक्तिले कहिल्यै गुनासो गर्दैन; परिणाम सोचेजस्तो नआए ऊ अरूलाई दोष नदिई आफ्नो रणनीति सच्याउनतर्फ लाग्छ । यसरी हेर्दा प्राथमिकता समय सदुपयोगको नक्सा हो, ‘नाइँ’ भन्नु गलत बाटो बन्द गर्नु हो र गुनासो नगर्नु यात्राका उकाली–ओराली सहजै पार गर्ने मानसिक शक्ति हो । हाम्रो नेपाली समाजको सांस्कृतिक परिवेशमा समय जोगाउने यी अभ्यास लागू गर्न खोज्नु चुनौती रहित पक्कै छैन। हाम्रो समाजमा ‘अतिथि देवो भवः’ र सामाजिक सद्भावलाई उच्च महत्त्व दिइन्छ, जुन आफैँमा सुन्दर पक्ष हो। तर, कतिपय अवस्थामा यही सामाजिकताको नाममा व्यक्तिगत समय र सीमाको अतिक्रमण हुने गर्छ ।
कसैको विवाह, व्रतबन्ध वा सामान्य चिया गफमा सहभागी नहुँदा ‘त्यो त आज भोलि ठूलो मान्छे भएछ’ वा ‘घमण्डी भएछ’ भन्ने टिप्पणी सुन्नुपर्छ । यही सामाजिक डरका कारण धेरै युवा र पेसाकर्मीहरू आफ्नो उर्वर समय सामाजिक औपचारिकतामा खर्चिन बाध्य छन् । हाम्रो समाजमा ‘गुनासो संस्कृति’ ले निकै गहिरोसँग जरा गाडेर बसेको छ। चिया पसलदेखि सामाजिक सञ्जालका भित्तासम्म देश बिग्रिएको, नेता खराब भएको र रोजगारी नभएको गुनासाको बाढी नै लाग्छ। समस्याको रचनात्मक आलोचना त आवश्यक नै हुन्छ, तर निष्क्रिय गालीगलौजले समाजको बहुमूल्य समय नष्ट गर्ने र निराशा जन्माउने मात्र काम गर्छ । गुनासोको सट्टा ‘मेरो ठाउँबाट म के गर्न सक्छु ?’ भन्ने प्रश्न सोध्ने संस्कृतिको खाँचो छ । त्यसो भए, दैनिक जीवनमा सीमित समयको असीमित सदुपयोग गर्ने अभ्यास कसरी थाल्ने त ? यसका लागि सानो तर व्यावहारिक नियमबाट सुरु गर्न सकिन्छ । कसैले कुनै प्रस्ताव राख्दा तुरुन्तै ‘हुन्छ’ नभनी कार्यतालिका हेरेर जवाफ दिने बानी बसाल्दा आफुलाई सोच्ने समय मिल्छ । हरेक बिहान दिनभरिमा पूरा गर्नैपर्ने तीनवटा महत्त्वपूर्ण कामको सूची बनाउने र ती पूरा नभएसम्म अन्य सानोतिनो काम वा मोबाइल नोटिफिकेसन जस्ता डिजिटल विकर्षणलाई पन्छाउने अभ्यास गर्नुपर्छ । मनमा गुनासो उब्जिने बित्तिकै सचेत भएर आफूसँग भएका सकारात्मक कुराप्रति कृतज्ञता व्यक्त गर्ने र समस्याको सट्टा समाधानमुखी भाषा प्रयोग गर्ने बानीले समयको सदुपयोग र सोच्ने शैलीमै आमूल परिवर्तन ल्याउँछ ।
अन्तमा, जीवन अनन्त कालसम्म चलिरहने यात्रा होइन, यो त सीमित स्वास र निश्चित समयको अमूल्य उपहार मात्र हो । यो सीमित समयमा हामी सबैथोक गर्न सक्दैनौँ, सबैलाई खुसी पार्न सक्दैनौँ र सबै परिस्थितिलाई आफ्नो अनुकूल बनाउन पनि सक्दैनौँ। तर, माथि उल्लिखित तीन कलाको अभ्यास गर्दै उपलब्ध सीमित समयको असीमित सदुपयोग गर्ने र आफ्नो जीवनको चालक बन्ने कि यात्री बन्ने भन्ने निर्णय भने पक्कै गर्न सक्छौँ । जब हामी अनावश्यक अपेक्षा र विकर्षणलाई साहसपूर्वक ‘नाइँ’ भन्न सिक्छौँ, तब वास्तविक ‘प्राथमिकता’ मा काम गर्ने प्रशस्त समय र ऊर्जा बच्छ । अनि, जब बाहिरी परिस्थिति र अरूलाई दोष दिन छाडेर ‘गुनासो नगर्ने’ संकल्प गर्छौँ, तब मनमा असीम शान्ति र आत्मविश्वासको उदय हुन्छ। यही त्रिवेणीले नै सीमित समयलाई असीमित उपलब्धि र सार्थकतामा बदल्ने सामथ्र्य राख्दछ ।