Butwal Today

रुट खुले हवाई खर्च घट्ने

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

भैरहवा ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पश्चिम नेपाल आउने अन्तर्राष्ट्रिय जहाजले अहिले १५० नटिकल माइलसम्म घुमाउरो दूरी पार गर्नुपर्ने बाध्यता छ । नेपाल–भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भए यो बाध्यता हट्नेछ । त्यसबाट जहाजको १५ देखि २० मिनेटसम्म उडान समय बचत हुनुका साथै इन्धन र सञ्चालन खर्चसमेत घट्नेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर साहका अनुसार दुईतर्फी रुट सञ्चालनका लागि ठूलो पूर्वाधार निर्माण वा नयाँ हवाई मार्ग निर्धारण गर्नुपर्ने अवस्था छैन । मुख्य काम नेपाल र भारतका प्राविधिक टोलीबीच उडानको उचाइ तह (फ्लाइट लेभल) र एयर ट्राफिक कन्ट्रोल (एटीसी) समन्वयको टुङ्गो लगाउनु हो ।
उनका अनुसार अहिले काठमाडौँ केन्द्रित हवाई रुट संरचनाका कारण पश्चिमबाट भैरहवा आउने जहाजले सिधै प्रवेश पाउन सकेका छैनन् । पश्चिमबाट आउने जहाज पर्साको पोखरिया क्षेत्र हुँदै सिमरा पुगेर भरतपुरबाट भैरहवा आउनुपर्ने अवस्था छ । पूर्वबाट आउने जहाज भने गौर हुँदै भरतपुर भएर भैरहवा प्रवेश गर्छन् ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र मानेर बनाइएको पुरानो रुट संरचना गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पश्चिमतर्फका उडानका लागि असहज बनेको साह बताउँछन् ।
“पश्चिमबाट आउने जहाजले सिधै भैरहवा आउन नपाउँदा करिब १५० नटिकल माइल घुम्नुपर्छ । यसले १५ देखि २० मिनेटसम्म अतिरिक्त उडान समय लाग्छ,” साहले भने, “दुईतर्फी रुट सञ्चालनमा आएपछि यो अनावश्यक घुमाइ हट्छ र जहाजको सञ्चालन खर्च पनि कम हुन्छ ।”
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा काठमाडौँ–भैरहवा–लखनउ (ब्रभो–३४५) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । अहिले यो रुट एकतर्फी रूपमा सञ्चालनमा छ । लखनउबाट भैरहवा हुँदै काठमाडौँतर्फ पनि उडान गर्न मिल्ने व्यवस्था भए पश्चिम नेपाल आउने र पोखरातर्फ जाने जहाजले समेत लाभ लिन सक्ने साहको भनाइ छ ।
प्राविधिक रूपमा के छ समस्या ?
साहका अनुसार दुईतर्फी रुट सञ्चालनको मुख्य प्राविधिक विषय विपरीत दिशाबाट आउने र जाने जहाजको उडान उचाइ व्यवस्थापन गर्नु हो । हवाई सुरक्षाका लागि उडानको दिशाअनुसार फरक–फरक फ्लाइट लेभल निर्धारण गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । सोही व्यवस्थाअनुसार एउटै रुटमा विपरीत दिशाबाट जहाज सञ्चालन गर्दा तिनको उचाइ र दूरी सुरक्षित राख्नुपर्ने हुन्छ ।
“रुट पहिल्यै छ र अहिले पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । अब जाने र आउने जहाजलाई कुन–कुन लेभल दिने भन्ने विषय प्राविधिक बैठकबाट टुंग्याउनुपर्ने हो,” उनले भने ।
उडानको दिशा, उचाइ र रिपोर्टिङ प्वाइन्ट निर्धारण भएपछि पाइलटले प्रत्येक उडानअघि पेस गर्ने फ्लाइट प्लानमा त्यसको विवरण उल्लेख गर्छन् । त्यसपछि नेपाल र भारतका एटीसीबीच समन्वय गरी जहाजलाई आवश्यक अनुमति र उडान उचाइ उपलब्ध गराइन्छ ।
उनका अनुसार रुटको चौडाइ, रिपोर्टिङ प्वाइन्ट र उडानको उचाइसम्बन्धी विषयमा प्राविधिक छलफल आवश्यक भए पनि यसलाई जटिल समस्याका रूपमा लिनुपर्ने अवस्था छैन । दुवै देशका प्राविधिक टोलीबीच बैठक बसेर यी विषय टुङ्ग्याउन सकिन्छ ।
झन्डै एक दशकदेखि दुईतर्फी रुटका लागि पहल हुँदै आए पनि भारतको सहमति नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले उच्चस्तरमा सहमति बनेपछि प्राविधिक प्रक्रिया पूरा हुने अपेक्षा गरिएको साहले बताए ।
“दुवै देशका प्राविधिक टोली बसेर छलफल गरे एकै बैठकमा पनि विषय टुङ्गिन सक्छ । प्रक्रिया अघि बढे तीनदेखि चार महिनामा सञ्चालनमा आउन सक्छ, बढीमा छ महिना लाग्ला,” उनले भने ।
पूर्वाधार तयार, उडान आकर्षित गर्न व्यावसायिक पहल आवश्यक
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक टर्मिनल, सुरक्षा, अध्यागमन, भन्सार तथा कार्गोसम्बन्धी पूर्वाधार उपलब्ध रहेको साहको भनाइ छ । भिसा सेन्टर नहुनुलाई पनि उडान सञ्चालनको मुख्य अवरोध मान्न नहुने उनी बताउँछन् । मेडिकल, श्रम स्वीकृति तथा भिसासम्बन्धी धेरै प्रक्रिया अनलाइन र एजेन्टमार्फत गर्न सकिने उनको भनाइ छ ।
तर रुट खुल्दैमा नियमित अन्तर्राष्ट्रिय उडान स्वतः सुरु नहुने उनी स्पष्ट पार्छन् । त्यसका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्ने, यात्रुको बजार सुनिश्चित गर्ने र पर्यटन तथा होटल व्यवसायीले व्यावसायिक जोखिम साझेदारी गर्नुपर्ने हुन्छ ।
लखनउ, दिल्ली, वाराणसी र बोधगयालगायत भारतीय सहरबाट यात्रु आकर्षित गर्न निजी क्षेत्रले प्रवद्र्धन र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने साहको सुझाव छ । उनका अनुसार दुईतर्फी हवाई रुटको सहमति कार्यान्वयन हुनु भैरहवा विमानस्थलका लागि प्राविधिक सहजीकरण मात्र होइन, पश्चिम नेपालमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने महत्वपूर्ण अवसर पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?