© 2026
नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील संस्था साहित्य सङ्गम बुटवलले आफ्नो ३३१ औँ मासिक शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ ।
न्यु होराइजन माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न यो कार्यक्रम केवल रचना वाचनमा मात्र सीमित रहेन, बरु यसले समकालीन नेपाली समाज, राजनीति, संस्कृति र मानवीय संवेदनालाई साहित्यिक कसीमा घोटेर हेर्ने काम गरेको छ ।
बालकृष्ण भण्डारीको अध्यक्षता, डा. शालिकराम पौड्यालको समीक्षा र कृष्ण गाउँलेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वाचन गरिएका रचनाहरूले वर्तमान समयको विद्रूप तस्बिर मात्र उतारेनन्, पूर्वीय दर्शन र मिथकहरूको प्रयोगमार्फत जीवनदृष्टिलाई फराकिलो बनाउने प्रयास पनि गरे ।
यस लेखमा कार्यक्रममा वाचित रचनाहरूको संक्षेपमा टिप्पणी गरिएको छ । कार्यक्रममा वाचित अधिकांश कविताहरूले वर्तमान नेपाली समाजको राजनीतिक र सामाजिक विद्रूपतामाथि प्रहार गरेका छन् ।
स्रष्टा संगम अनुरागीको ‘यो जुनी यस्तै भयो’ शीर्षकको कविताले मानिसको निरिहता र व्यवस्थाको कुरूपतालाई विरोधाभासपूर्ण शैलीमा प्रस्तुत गरेको छ । एकातिर पर्यावरणीय सङ्कटको चिन्ता र अर्कातिर राजनीतिक विकृतिले थिचिएको आम मानिसको जुनी फेरिने आशा र नफेरिएको यथार्थबिचको द्वन्द्व कवितामा सशक्त रूपमा आएको छ ।
हरि पौडेलको ‘नवोदित मूर्ति’ प्रयोगवादी शैलीको कविताले समयको मूल्य स्खलित हुँदै गएको र राष्ट्रिय अस्मिताब सङ्कटमा परेको गम्भीर विषय उठान गरेको छ । मूर्ति आफैँमा स्थिरताको प्रतीक हो, तर यहाँ नवोदित मूर्तिले नयाँ पुस्ता वा नयाँ व्यवस्थाको सङ्केत गर्छ, जो दिशाहीन र मूल्यहीन बन्दै गएको छ । राजनीतिक अस्थिरताले राष्ट्रिय स्वाभिमानलाई कसरी कमजोर बनाउँदै छ भन्ने कुरालाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ ।
स्रष्टा उद्धव देवकोटाको ‘उसैका कुरा’ कवितामा अरूको प्रगतिमा डाह गर्ने मानवीय स्वभाव र आफ्नो स्वार्थका लागि जनताको बलि चढाउन पनि पछि नपर्ने शासकहरूको दानवीय प्रवृत्तिको चित्रण गरिएको छ । पूर्णचन्द्र तिवारीको ‘तेइस चौबिस’ कविताले शासक र व्यवस्थामाथि सिधा प्रश्न गरेका छन् ।
तिवारीले भाद्र २३ र २४ को क्रान्तिको सन्दर्भ कोट्याउँदै देशको सार्वभौमसत्ता जोगाउन नागरिक सचेतना अपरिहार्य भएको औँल्याएका छन् । यी कविताहरूले साहित्य केवल मनोरञ्जन होइन, खबरदारीको बिगुल पनि हो भन्ने पुष्टि गरेका छन् । डा. रेवतीरमण पौडेलले ‘प्रेम’ कवितामा प्रेमलाई शारीरिक आकर्षणभन्दा माथि उठाएर मातृभूमि प्रेमसँग जोड्दै यसलाई मृत्युपर्यन्त रहने शाश्वत सत्य मानेका छन् ।
पशुपति अर्यालले ‘फूल’ कवितामा मानिसको जीवनलाई फूलसँग तुलना गर्दै फूलजस्तै फुल्ने, सुगन्ध छर्ने र अन्ततः ओइलाएर झर्ने जीवनचक्रको बोध गराएका छन् । यज्ञलाल सुवेदीको ‘इच्छा’ कविताले पृथ्वीलाई साझा घर मान्दै पर्यावरणीय सचेतनाको बिगुल फुकेको छ ।
त्यस्तै बालकृष्ण भण्डारीको ‘यस्तै छ यहाँ’ कविताले देशको दुरावस्था चित्रण गरे पनि अन्त्यमा आशावादी स्वर गुञ्जाएको छ । निराशाको बिचमा पनि आशाको दियो बाल्नु नै साहित्यको धर्म हो भन्ने कुरालाई भण्डारीको कविताले पुष्टि गरेको छ ।
यस शृंखलामा वाचित रचनाहरूमा स्रष्टाहरूले आफ्ना विचारलाई पुष्टि गर्न पौराणिक पात्र र घटनाहरूलाई आधुनिक सन्दर्भमा ढालेका छन् । स्रष्टा उद्धव देवकोटाले आफ्नो कवितामा उर्वशी र मेनकाको प्रसङ्ग ल्याएका छन् ।
पौराणिक कालमा ऋषिमुनिहरूको तपस्या भङ्ग गर्न वा इन्द्रको आसन जोगाउन उर्वशी र मेनकाजस्ता अप्सराहरूको प्रयोग गरिन्थ्यो । आधुनिक सन्दर्भमा यो मिथकले सत्ता र शक्तिको विलासिता र षड्यन्त्रलाई सङ्केत गरेके छ ।
आजका शासकहरू पनि उर्वशी र मेनका रूपी सत्ताको मोह, भ्रष्टाचार र क्षणिक सुखमा लिप्त भएर जनताको सङ्घर्ष र बलिदानलाई भङ्ग गरिरहेका छन् भन्ने कुरा कविताले उठान गरेको छ । स्रष्टा कृष्ण गाउँलेको गजलमा आएको कालेको बाँसुरीको सन्दर्भ अत्यन्तै मार्मिक छ । काले भगवान् श्रीकृष्णको प्रेममय सम्बोधन हो ।
द्वापर युगमा कृष्णको बाँसुरीले प्रेम, सद्भाव र एकत्वको सन्देश दिन्थ्यो । तर गजलकार गाउँलेले आजको समाजमा देखिएको पारिवारिक विखण्डन र चिसोपनलाई व्यङ्गय गर्न यो मिथक प्रयोग गरेका छन् ।
आज मानिसहरूबिच बाँसुरीको धुन अर्थात् आत्मीयता हराएको छ । अज्ञानता र अहङ्कारको कोलाहलमा कृष्णको त्यो प्रेममय बाँसुरी कतै गुमेको वा त्यसको धुनले काम नगरेको तीतो यथार्थलाई गजलले स्पर्श गरेको छ ।
राजेन्द्रकुमार आचार्यको लेखमा अर्घाखाँचीको पणेना र नरपानीको ऐतिहासिक तथा पौराणिक महत्त्वलाई उजागर गरिएको छ । व्याकरणका रचयिता महर्षि पाणिनिले तपस्या गरेको भूमि पणेना र रावणले शिवजीलाई खुसी बनाएको स्थान नरपानीको प्रसङ्गले नेपाली भूमि ज्ञान र साधनाको केन्द्र रहेको पुष्टि गरेको छ ।
पाणिनि ज्ञान र व्याकरणका प्रतीक हुन् भने रावण शक्ति र भक्तिका प्रतीक हुन् । यहाँ लेखकले मिथकलाई इतिहाससँग जोड्दै यस्ता तपोभूमिहरूलाई विश्वसामु चिनाएर धार्मिक पर्यटन र सांस्कृतिक गरिमा बढाउनुपर्ने गहन विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा वाचित कविताहरूमा बिम्बहरूको प्रयोग लोभलाग्दो देखिएको छ । जगत् चापागाईंको ‘बाको जुत्ता’ कविता नोस्टाल्जिया र पुस्तान्तरणको उत्कृष्ट नमुना हो । यहाँ जुत्ता एउटा वस्तु मात्र नभई यो एउटा सिङ्गो इतिहास, सङ्घर्ष र त्यागको बिम्ब बनेको छ । बाको जुत्ताको चाउरीपनले बाले भोगेका अभाव र काँढाहरूको कथा बोलेको छ ।
सन्तानको भविष्य उज्ज्वल बनाउन बाले आफ्नो पाइताला खियाएको र त्यही खिएको जुत्ताको जगमा आजको पुस्ता उभिएको यथार्थलाई कविताले बडो भावुक ढङ्गले प्रस्तुत गरेको छ ।
चूडामणि उपाध्यायको ‘कर्णालीमा हेलिँदा’ कवितामा गोही र माछाको सशक्त बिम्ब प्रयोग भएको छ । गोही शोषक, सामन्त र राज्यसत्ताको प्रतीक हो भने माछा निरीह जनताको प्रतीक हो ।
कर्णाली नदी केवल पानीको बहाव होइन, यो राज्यबाट उपेक्षित र दमित सिङ्गो समाजको आँसुको प्रवाह हो । बलियाले निर्धालाई खाने मत्स्य न्यायको प्रवृत्तिलाई कविले कर्णालीको परिवेशमा ढालेर प्रस्तुत गरेका छन् ।
साहित्य सङ्गम बुटवलको यो ३३१ औँ शृङ्खला विचार, शिल्प र संवेदनाको त्रिवेणी बन्न सफल भयो । कार्यक्रममा वाचित रचनाहरूले एकातिर उर्वशी, मेनका, कृष्ण र रावणजस्ता पौराणिक पात्रहरूलाई उभ्याएर परम्परा र संस्कृतिको स्मरण गराएका छन् भने अर्कातिर बाको जुत्ता, कर्णालीको भोक र नवोदित मूर्तिमार्फत समकालीन यथार्थलाई देखाएका छन् ।
समीक्षक डा. शालिकराम पौड्यालले साहित्य समाजको ऐना मात्र होइन, भविष्यको मार्गदर्शक पनि हो भन्दै रुपन्देही जिल्लाका स्रष्टाका बारेमा धेरै अनुसन्धान गर्न बाँकी रहेको र यस कार्यमा आफू लागेको बताएका छन् ।
वासुदेव अर्यालले साहित्यलाई समाज परिवर्तनको संवाहक मान्नु र लोकनाथ उपाध्यायको संस्मरणात्मक अभिव्यक्तिले कार्यक्रम जीवन्त बन्न पुगेको छ । समग्रमा यो शृङ्खलाले स्रष्टाहरूलाई केवल कोरा भावुकतामा नबगी समाजको गहिराइ, इतिहासको गौरव र भविष्यको चिन्तनमा डुबुल्की मार्न प्रेरित गरेको छ ।
यस्ता साहित्यिक अनुष्ठानहरूले नै नेपाली वाङ्मयको भण्डारलाई समृद्ध बनाउँदै लैजाने छन् । (आज न्यू होराइजन मावि बुटवलमा ३३२ औं मासिक शृङ्खला सञ्चालन हुँदै छ ।