© 2026
बुटवल । ज्ञान, अनुशासन र मानवतालाई मूल मन्त्रका रूपमा आत्मसात् गर्दै विश्व बजारमा टिक्ने र बिक्ने दक्ष जनशक्ति उत्पादन गर्न खोलिएको स्कुल हो स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुल ।
वि.सं.२०४८ सालमा स्थापना भएको यो विद्यालय बुटवल–९ इन्द्रपुरी पथमा छ । निजी क्षेत्रबाट स्थापना भएको यो विद्यालयले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
सुरुवाती चरणमा भाडाको भवनबाट शैक्षिक यात्रा तय गरेको यो विद्यालयले वि.सं.२०६५ सालदेखि आफ्नै निजी तथा सुविधा सम्पन्न भवनबाटै कक्षा सञ्चालन गर्दै आइरहेको छ । वि.सं.२०५८ सालमा माध्यमिक तह सञ्चालनको अनुमति पाएको विद्यालयले २०७१ सालको एसएलसी परीक्षाको नतिजामा जनजातिको तर्फबाट नेपाल प्रथमको नतिजा ल्याउन सफल भएको थियो ।
वि.सं. २०७४ को एसइईमा ४ जिपिए सहित नेपाल प्रथम हुँदै शैक्षिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गरिसकेको छ । त्यस्तै, वि.सं.२०७३ सालमा कक्षा ११ का लागि विज्ञान र व्यवस्थापन विषयको अध्यापनको अनुमति पाएको हो । वि.सं.२०७६ सालदेखि शिक्षा र कानुनका विषयहरू थप गरी बुटवल–९ इटाभट्टीमा आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट कक्षा ११ र १२ का कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै, वि.सं.२०८१ को कक्षा १२ को वार्षिक परीक्षामा विज्ञान विषयमा उत्कृष्ट जिपिए सहित शत प्रतिशत नतिजा प्राप्त गरेको छ । त्यसै गरी वि.सं.२०८० सालमा बुटवल –९ मा अवस्थित छिमेकी विद्यालय एम्स बोर्डिङ स्कुललाई पनि मर्ज गरी बुटवल–९ मै तीन ओटा भवनहरूबाट कक्षा प्ले ग्रुपदेखि व्यवस्थापन विषयमा स्नातक तहसम्म पठनपाठन भइरहेको छ ।
हाल यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १ हजार ४ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने १२० जना शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् ।
स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य बाबुराम बन्जाडेका अनुसार विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुद विशेष गरी हाजिरी जवाफ, चित्रकला, वक्तृत्वकला, नृत्य र फुटबलमा पटक पटक पालिका स्तरीय र जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उनी भन्छन्, “स्कलर्स होम फुटबल एकेडेमी मार्फत उत्पादित विद्यार्थी खेलाडीहरू दर्जन भन्दा बढी राष्ट्रिय स्तरका विभिन्न विधाका टिममा अनुबन्ध भएका छन् ।
प्रत्येक वर्ष विभिन्न विधामा डाक्टर, इन्जिनियर, पारामेडिकल लगायतका क्षेत्रमा विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।” विद्यालयले विद्यार्थीहरूको बौद्धिक विकासको साथसाथै मानसिक र शारीरिक विकासको पक्षलाई विशेष जोड दिंदै आएको बन्जाडेको दाबी छ ।
कक्षाकोठाभित्र संस्कार, नैतिकता र पाठ्यक्रमलाई केन्द्रमा राखेर विद्यार्थीहरूको मनोविज्ञानलाई अध्ययन गरी शिक्षण सिकाई गर्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उनको बुझाइ छ । विद्यालयमा अतिरिक्त क्रियाकलाप, अवलोकन भ्रमण, नृत्य, गायन, योगा र मेडिटेसन, परियोजना कार्य, साहित्य, चित्रकला, गीत, सङ्गीत तथा विभिन्न प्रकारका खेलकुदहरूमा विद्यार्थीहरूको व्यक्तिगत तथा सामूहिक सहभागिता समेत अनिवार्य बनाइएको छ ।
त्यसो त स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले शैक्षिक गतिविधिसँगै भौतिक संरचनालाई पनि प्राथमिकता दिएको बन्जाडेको भनाइ छ । उनी भन्छन्, “पूर्व प्राथमिक तहदेखि कक्षा ३ सम्मका बालबालिकाहरूको लागि छुट्टै बालमैत्री भवन, पूर्व प्राथमिक तहदेखि कक्षा ३ सम्मको बालमैत्री भवनमा एसी सहितका अत्याधुनिक कक्षाकोठाहरू, माध्यमिक तह कक्षा १० सम्मका लागि छुट्टै भवन, कक्षा ११, १२ र स्नातक तहको लागि छुट्टै भवन, कक्षाकोठामा स्मार्ट बोर्ड तथा प्रोजेक्टरको व्यवस्था, विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, प्रत्येक भवनमा सभा हल, पुस्तकालय र चमेना गृह, पूर्ण तथा आंशिक आवासीय सुविधा, यातायातको सुविधा, फुटबल एकेडेमी, आवश्यक शैक्षिक परामर्श लगायतको व्यवस्था गरेका छौँ ।” शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन प्रत्येक शिक्षकले अनिवार्य रूपमा एकाइ योजना बनाई सोही अनुरूप शिक्षण कार्य सञ्चालन भइरहेको छ ।
विद्यालयले प्राथमिक तहमा आन्तरिक परीक्षाको अतिरिक्त प्रत्येक विद्यार्थीको पोर्टफोलियो निर्माण गरी निरन्तर मूल्याङ्कन प्रक्रिया अवलम्वन गरी विद्यार्थीहरूको स्तर मापन गर्ने व्यवस्था लागु गरेको छ । त्यस्तै गणितीय धारणा अभिवृद्धिमा सहयोग पुर्याउने हेतुले ए–बाकस कक्षा सञ्चालन गरिएको छ ।
परम्परागत शिक्षण विधिको सट्टा प्रत्येक कक्षा कोठामा स्मार्ट बोडको प्रयोग गरी विभिन्न शैक्षिक पोर्टलहरू प्रयोग मार्फत डिजिटल पठनपाठन भइरहेको छ । बन्जाडेका अनुसार विद्यार्थीहरूलाई सामाजिक कार्यमा अग्रसर गराउनका लागि बाल क्लब, लियो क्लब, ईन्ट्¥याक्ट क्लब खोली सिर्जनात्मक र रचनात्मक कार्यहरू गरिएका छन् ।
“आजको शिक्षा प्रणाली विगतको भन्दा धेरै फरक र परिष्कृत भइसकेको छ,” संस्थाका प्राचार्य बन्जाडे भन्छन्, “यस परिवर्तनसँगै विद्यार्थीहरूलाई समयानुकूल ज्ञान र सीप प्रदान गर्नु हाम्रो प्राथमिकता हो ।” संस्थाले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यार्थीहरूको समग्र पक्षको विकासका लागि आगामी दिनहरूमा कम्तीमा कक्षा ३ सम्म पूर्ण मन्टेश्वरी प्रणालीबाट कक्षा सञ्चालन गर्ने, प्रत्येक कक्षाकोठालाई प्रविधियुक्त बनाई अडियो भिडियो र आइटीको माध्यमबाट कक्षा सञ्चालन गर्ने, प्रत्येक कक्षाकोठामा क्रमशः स्मार्ट बोडको व्यवस्थापन गरी कक्षा सञ्चालन गर्ने योजना रहेको प्राचार्य बन्जाडेले बताए । “विद्यार्थीहरूको चाहना तथा समयको माग अनुसारका अतिरिक्त क्रियाकलापहरू सञ्चालन र व्यवस्थापनमा जोड दिने छौँ”, उनले भने ।