© 2026
बुटवल । रुपन्देही जिल्लाको शैक्षिक केन्द्रका रूपमा विकसित बुटवल उपमहानगरपालिका–सुख्खानगरमा अवस्थित अक्सफोर्ड माध्यमिक विद्यालय आज देशकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एकका रूपमा चिनिन्छ ।
२०४८ सालमा ‘न्यू लाइफ मा.वि’ का रूपमा स्थापना भई प्रजातन्त्रको पुनः स्थापनासँगै शिक्षा क्षेत्रमा नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढेको यस विद्यालयले समयसँगै आफ्नो पहिचानलाई अझ परिष्कृत गर्दै ‘अक्सफोर्ड’ नाममार्फत राष्ट्रिय स्तरमै विशिष्ट स्थान बनाएको छ ।
शिक्षाविद्हरू यज्ञमूर्ति पाण्डे, मोहन खनाल, धन बहादुर थापा, कृष्ण पन्थी र पीताम्बर अधिकारी लगायतको सामूहिक अवधारणाबाट स्थापित यस संस्थाको मूल ध्येय गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्नु हो ।
शिक्षा, अनुशासन र नैतिकतालाई आधार स्तम्भ मानेर अघि बढेको विद्यालयले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवनोपयोगी सीप, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासतर्फ उन्मुख गराउँदै आएको छ ।
स्थापनाको सुरुवाती चरणमा सामान्य संरचनाबाट सुरु भएको यो संस्था समय क्रममा विस्तार हुँदै २०५९ सालदेखि एउटै छानामुनि +२ तहका सबै सङ्काय सञ्चालन गर्न सफल भयो ।
व्यवस्थापन, शिक्षा, विज्ञानलगायतका विषयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले निरन्तर प्रगतिको मार्ग पछ्याउँदै बोट वृक्षसरह फैलिएको छ ।
देशको राजनीतिक, सामाजिक तथा नीतिगत परिवर्तनका क्रममा विभिन्न चुनौतीहरू सामना गर्नुपरे पनि विद्यालयले आफ्नो लक्ष्यबाट विचलित नभई निरन्तर उत्कृष्टताको यात्रालाई अघि बढाएको छ । यही दृढता र प्रतिबद्धताको परिणामस्वरूप अक्सफोर्डले राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएको हो ।
शैक्षिक उत्कृष्टताको शृङ्खला
अक्सफोर्ड माध्यमिक विद्यालयले विभिन्न समयमा राष्ट्रिय स्तरका परीक्षामा उल्लेखनीय नतिजा ल्याउँदै नयाँ कीर्तिमानहरू स्थापित गरेको छ । २०६१ सालमा शिक्षा मन्त्रालयअन्तर्गत एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रथम स्थान हासिल गर्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि रह्यो ।
त्यसै गरी २०७२ सालको एसइई परीक्षामा छात्रतर्फ नेपाल प्रथम, २०७१ सालको एसएलसीमा नेपाल द्वितीय, २०७० सालको एसएलसीमा छात्रतर्फ नेपाल द्वितीय तथा पश्चिमाञ्चल प्रथम जस्ता सफलताहरूले विद्यालयको शैक्षिक स्तरलाई राष्ट्रिय रूपमा स्थापित गराएको छ ।
उच्च शिक्षातर्फ पनि विद्यालयले आफ्नो उत्कृष्टता कायम राख्दै आएको छ । २०७१ सालमा +२ (शिक्षा शास्त्र सङ्काय) मा नेपाल प्रथम तथा २०६७ सालमा स्नातक तहमा नेपाल प्रथम हासिल गर्नु विद्यालयको निरन्तर शैक्षिक समर्पणको प्रमाण हो ।
पछिल्ला वर्षहरूमा पनि उत्कृष्ट जिपिएसहित विद्यार्थीहरूले राष्ट्रिय स्तरमा अग्रस्थान हासिल गर्दै आएका छन् ।
२०७९ सालमा दिया भुसालले ३.९६ जिपिएसहित विज्ञानतर्फ नेपाल प्रथम हासिल गरिन् भने २०८० सालमा रक्षा घर्तीले ३.९५ जिपिएसहित व्यवस्थापन सङ्कायमा नेपाल प्रथम स्थान ल्याइन् ।
त्यसै गरी २०८१ सालमा स्वीकृति गुप्ताले पनि ३.९५ जिपिएसहित व्यवस्थापनतर्फ नेपाल प्रथम स्थान हासिल गर्दै विद्यालयको गौरवलाई अझ उचाइमा पु¥याएकी छन् ।
अक्सफोर्ड माध्यमिक विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकता दिएको छ । यहाँ पठनपाठनसँगै अतिरिक्त क्रियाकलापहरू– जस्तै: खेलकुद, नृत्य, सङ्गीत, वादविवाद, विज्ञान प्रदर्शनी, कला र साहित्यिक कार्यक्रमहरूमा सक्रिय सहभागिता गराइन्छ । यसले विद्यार्थीहरूलाई आत्मविश्वासी, सृजनशील र नेतृत्व क्षम बनाउन मद्दत पु¥याएको छ ।
विद्यालयबाट उत्पादित जनशक्ति आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न क्षेत्रमा सफलतापूर्वक स्थापित भएका छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि, प्रशासन, खेलकुद तथा कला क्षेत्रमा अक्सफोर्डका पूर्वविद्यार्थीहरूले उल्लेखनीय योगदान दिँदै आएका छन् ।
आधुनिक पूर्वाधार र व्यवस्थापन
हाल करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले आधुनिक शैक्षिक पूर्वाधारको विकासमा पनि विशेष ध्यान दिएको छ । प्रविधिमैत्री कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय तथा अन्य आवश्यक शैक्षिक स्रोतहरू उपलब्ध गराउँदै विद्यालयले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको छ ।
दक्ष तथा अनुभवी शिक्षकहरूको टोलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयासरत छ । विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार अक्सफोर्ड माध्यमिक विद्यालयले केवल परीक्षा केन्द्रित शिक्षा होइन, जीवन उपयोगी शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ ।
“हामी विद्यार्थीलाई प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार नागरिकका रूपमा विकास गर्न प्रतिबद्ध छौं,” उनी भन्छन्, “समयअनुसार प्रविधिमैत्री शिक्षण, व्यवहारिक ज्ञान र नैतिक शिक्षालाई सँगसँगै अघि बढाउँदै भविष्यका लागि सक्षम जनशक्ति उत्पादन गर्नु हाम्रो मुख्य उद्देश्य हो ।” उनले विद्यालयले आगामी दिनमा अझ नवीन शैक्षिक कार्यक्रम र गुणस्तरीय व्यवस्थापनमार्फत आफ्नो उत्कृष्टता कायम राख्ने बताए ।
अक्सफोर्ड माध्यमिक विद्यालय केवल एक शैक्षिक संस्था मात्र होइन, यो ज्ञान, संस्कार र उत्कृष्टताको केन्द्र हो । तीन दशकभन्दा बढी समयदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान निर्माण गरेको छ ।
भविष्यमा पनि गुणस्तरीय शिक्षा, नवप्रवर्तन र समग्र विकासलाई प्राथमिकता दिँदै देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने आफ्नो अभियानलाई अझ सशक्त बनाउँदै अघि बढ्ने विश्वास विद्यालयले लिएको छ ।