Butwal Today

एभरेस्ट स्कुल: शैक्षिक उत्कर्षको उदाहरण

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

बुटवल । नेपालको शिक्षा क्षेत्रले पछिल्ला केही दशकहरूमा उल्लेखनीय परिवर्तन र विकास अनुभव गरेको छ ।

विशेष गरी निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिस्पर्धामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । यसै सन्दर्भमा बुटवलमा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता, अनुशासन र समग्र विद्यार्थी विकासलाई केन्द्रमा राख्दै एक विशिष्ट पहिचान निर्माण गरेको छ ।

रुपन्देहीको शैक्षिक परिदृश्यमा गुणस्तरीय शिक्षाको उज्यालो दीप प्रज्वलित गर्ने उद्देश्यका साथ वि.सं. २०४२ सालमा बुटवलको सुख्खानगरमा स्थापित एभरेस्ट माध्यमिक विद्यालय आज चार दशक लामो गौरवपूर्ण इतिहास, उपलब्धिमूलक वर्तमान र दूरदर्शी भविष्य बोकेको विशिष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ ।

शिक्षा केवल जीविकोपार्जनको साधन नभई सभ्य समाज निर्माणको आधार हो, भन्ने गहिरो बोधसहित यस क्षेत्रका शिक्षा प्रेमी, बुद्धिजीवी तथा समाजसेवीहरूको सामूहिक सङ्कल्पबाट जन्मिएको यो संस्था आज राष्ट्रिय शैक्षिक जगत्मा विश्वास, गुणस्तर र उत्कृष्टताको पर्याय बनेको छ ।

कुनै पनि संस्थाको उचाइ उसको भवनको आकारले होइन, उसले निर्माण गरेको मानवीय पुँजी, समाजमा पारेको प्रभाव र समयसँगै कायम राखेको मूल्य–मान्यताले निर्धारण गर्छ । यस दृष्टिले हेर्दा एभरेस्ट विद्यालयले केवल पाठशाला सञ्चालन गरेको छैन; यसले सुशिक्षित पुस्ता निर्माण गरेको छ, सम्भावनाहरूलाई आकार दिएको छ, र शिक्षालाई जीवनोपयोगी बनाउने सतत अभियानको नेतृत्व गरेको छ ।

स्थापनाको दूर दृष्टि: आवश्यकताबाट आरम्भ, उत्कृष्टतामा विस्तार
वि.सं. २०४० को दशकको प्रारम्भतिर बुटवल तीव्र सहरीकरणतर्फ उन्मुख थियो । जनसङ्ख्या वृद्धि, सामाजिक चेतनाको विस्तार र शिक्षाप्रतिको बढ्दो आकाङ्क्षाले गुणस्तरीय शैक्षिक संस्थाको आवश्यकता तीव्र रूपमा महसुस गराइरहेको थियो ।

यही ऐतिहासिक घडीमा समाजका अग्रज शिक्षा प्रेमी, प्रबुद्ध बुद्धिजीवी र समर्पित समाजसेवीहरूले एउटा यस्तो संस्था स्थापना गर्ने परिकल्पना गरे, जसले ज्ञान मात्र होइन चरित्र, चेतना, संस्कार र प्रतिस्पर्धी क्षमता विकास गरोस् । त्यसै सोचको परिणामस्वरूप एभरेस्ट विद्यालयको स्थापना भयो । सुरुवाती चरण चुनौतीरहित थिएन ।

सीमित स्रोतसाधन, न्यून पूर्वाधार र संस्थागत प्रतिस्पर्धाको प्रारम्भिक अवस्थाबिच आफ्नै मौलिक पहिचान निर्माण गर्नु सहज थिएन । तर स्पष्ट लक्ष्य, दृढ नेतृत्व, गुणस्तरीय शिक्षाप्रतिको अविचल प्रतिबद्धता र समुदायको विश्वासले एभरेस्टलाई छोटो समयमै विशिष्ट स्थान दिलायो ।

एभरेस्टको दर्शन: ज्ञानसँगै संस्कार, दक्षतासँगै जिम्मेवारी
एभरेष्ट विद्यालयको मूल दर्शन केवल पाठ्यक्रम पूरा गर्नु होइन; जीवनका लागि आवश्यक समग्र क्षमता निर्माण गर्नु हो । विद्यालयले आरम्भदेखि नै विद्यार्थीलाई बौद्धिक रूपमा सबल, नैतिक रूपमा सुदृढ, सामाजिक रूपमा जिम्मेवार र राष्ट्रिय रूपमा उपयोगी नागरिक बनाउने उद्देश्यलाई आफ्नो शैक्षिक केन्द्रबिन्दु बनाएको छ ।

यहाँ शिक्षालाई अङ्कको सीमित परिभाषामा बाँधिएको छैन, बरु जिज्ञासा, अनुसन्धानशीलता, नेतृत्व क्षमता, आलोचनात्मक चिन्तन, मानवीय संवेदना र अनुशासित जीवनशैलीलाई पनि शिक्षाको अभिन्न पक्षका रूपमा विकसित गरिएको छ । यही कारण एभरेस्टबाट दीक्षित विद्यार्थीहरू केवल परीक्षामा सफल हुँदैनन् , उनीहरू जीवनका हरेक मोर्चामा सक्षम, आत्मविश्वासी र उत्तरदायी देखिन्छन् ।

उपलब्धिको इतिहास: उत्कृष्टताको प्रमाणित परम्परा
एभरेस्ट विद्यालयको शैक्षिक यात्राको सबैभन्दा उज्यालो पाटो यसको निरन्तर उत्कृष्ट उपलब्धि हो । विद्यालयले पटक पटक एस् एल् सी परीक्षामा बोर्ड प्रथम, द्वितीय र तृतीय गराउँदै राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक क्षमता र अनुशासित शैक्षिक संस्कृतिको प्रभावशाली परिचय दिएको छ ।

यी उपलब्धिहरू आकस्मिक सफलता नभई योजनाबद्ध शैक्षिक अभ्यास, सक्षम शिक्षक समूह, कठोर परिश्रम र संस्थागत प्रतिबद्धताका परिणाम हुन् । +२ तहमा पनि विद्यालयले क्षेत्रीय तथा राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा कायम राख्दै विज्ञान र व्यवस्थापन गरी दुवै शैक्षिक धारहरूमा उल्लेखनीय सफलता हासिल गरेको छ । गुणस्तर, निरन्तरता र प्रतिस्पर्धी परिणामको यो त्रिवेणीले एभरेस्टलाई एउटा भरोसायोग्य शैक्षिक धरोहरका रूपमा स्थापित गरेको छ ।

सह–पाठ्यक्रमिक उत्कृष्टता: प्रतिभा प्रस्फुटनको जीवित प्रयोगशाला
समग्र शिक्षा कक्षाकोठाको चार भित्ताभित्र सीमित हुँदैन भन्ने तथ्यलाई एभरेष्ट विद्यालयले व्यवहारमै प्रमाणित गरेको छ । खेलकुद, साहित्यिक गतिविधि, वादविवाद, वक्तृत्वकला, हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, नेतृत्व विकास कार्यक्रम तथा सामाजिक उत्तरदायित्वमूलक अभियानहरूमा विद्यालयले निरन्तर उत्कृष्टता हासिल गर्दै आएको छ ।

यस्ता गतिविधिहरूले विद्यार्थीमा आत्मविश्वास, अभिव्यक्ति क्षमता, सृजनशील सोच, सामूहिक नेतृत्व र प्रतिस्पर्धी भावनाको विकास गरेका छन् । यही अभ्यासले एभरेष्टका विद्यार्थीहरूलाई बहु आयामिक व्यक्तित्वका रूपमा विकसित गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गतका हरेक विधाको सहजीकरणको लागि प्रशिक्षकहरूको व्यवस्था गरी विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने काममा पनि विद्यालय अहोरात्र लागिपरेको छ ।

राष्ट्रका लागि जनशक्ति निर्माण:  एभरेस्टको दीर्घकालीन योगदान
एभरेस्ट विद्यालयको सफलताको सबैभन्दा विश्वसनीय मापन यसको पूर्वविद्यार्थीहरूको योगदान हो । यस संस्थाबाट शिक्षा आर्जन गरेका हजारौँ विद्यार्थीहरू आज राष्ट्रका विभिन्न उच्च तहहरूमा पुगेर उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् ।

प्रशासनिक सेवा, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, व्यवस्थापन, उद्योग, उद्यमशीलता र सामाजिक नेतृत्वका विविध क्षेत्रमा एभरेस्टका पूर्वविद्यार्थीहरूले आफ्नो दक्षता र क्षमताको प्रभावशाली छाप छोडेका छन् । यस अर्थमा एभरेस्ट विद्यालय केवल विद्यार्थी उत्पादन गर्ने संस्था होइन; यसले त राष्ट्रका लागि विचार, नेतृत्व, सीप र चरित्रसहितको जनशक्ति निरन्तर रूपमा निर्माण गरिरहेको छ ।

भौतिक विस्तार र व्यवस्थापकीय दूर दृष्टि:  समयसँगै सशक्त रूपान्तरण
समयको मागअनुसार संस्थागत विकास गर्न सक्नु कुनै पनि शैक्षिक संस्थाको दीर्घजीविताको प्रमुख आधार हो । एभरेष्ट विद्यालयले यो यथार्थलाई गहिरो रूपमा आत्मसात् गर्दै आफ्नो भौतिक पूर्वाधार, शैक्षिक व्यवस्थापन र संस्थागत संरचनालाई निरन्तर परिष्कृत गर्दै आएको छ ।

आधुनिक कक्षाकोठा, प्रविधिमैत्री शिक्षण प्रणाली, व्यवस्थित प्रयोगशाला, समृद्ध पुस्तकालय, सुरक्षित वातावरण, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन संयन्त्रले विद्यालयलाई अझ उन्नत बनाएको छ । विशेषतः पछिल्ला वर्षहरूमा विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको बढ्दो विश्वास र आकर्षणले यसको शैक्षिक दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ ।

यही बढ्दो चापलाई मध्यनजर गर्दै विद्यालयले शैक्षिक सत्र २०८३ देखि ‘सेक्टर–२’ को व्यवस्थासमेत विस्तार गरेको छ, जहाँ थप करिब २५ सय विद्यार्थीले अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । यो विस्तार केवल पूर्वाधार वृद्धिको तथ्य होइन; यो एभरेस्टको संस्थागत दृष्टि, योजनाबद्ध विकास र गुणस्तरीय शिक्षालाई अझ व्यापक पहुँचमा पु¥याउने दायित्वबोधको सशक्त अभिव्यक्ति पनि हो ।

चार दशकपछि: संस्था मात्र होइन, राष्ट्रिय शैक्षिक धरोहर
चार दशकको यो यात्रा केवल वर्षहरूको गणना मात्र नभई समर्पण, अनुशासन, विश्वास, मूल्य, उपलब्धि र दूर दृष्टिको सजीव इतिहास हो । संस्थापकहरूको स्वप्न, शिक्षकहरूको तपस्या, अभिभावकहरूको भरोसा र विद्यार्थीहरूको अथक साधनाले एभरेष्टलाई आज यस्तो उचाइमा पु¥याएको छ, जहाँ यो विद्यालय केबल संस्था मात्र होइन यो त उत्कृष्टताको मानक, भविष्य निर्माणको केन्द्र र राष्ट्रका लागि सक्षम नागरिक उत्पादन गर्ने शैक्षिक तीर्थस्थल बनेको छ ।

आज एभरेस्ट विद्यालय राष्ट्रकै उत्कृष्ट शैक्षिक धरोहरका रूपमा स्थापित छ—जहाँ विगत प्रेरणादायी छ, वर्तमान गौरवशाली छ, र भविष्य सम्भावनाले भरिपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?