© 2026
बुटवल । ऐतिहासिक तथा व्यापारिक दृष्टिले सुपरिचित बुटवल नगरीमा वि.सं. २०४६ साल पुस महिनामा एउटा यस्तो शैक्षिक अभियानको सुरुवात भयो, जसले यस क्षेत्रको शिक्षाको परिभाषा नै बदलिदियो । “गुणात्मक शिक्षा हाम्रो प्रतिबद्धता, बालबालिका हाम्रो भविष्य” भन्ने मूल नाराका साथ शिक्षाविद् स्व. लालचन्द्र श्रेष्ठको अगुवाइमा न्यु होराइजन इङलिस बोर्डिङ सेकेण्डरी स्कुलको जन्म भएको थियो ।
एउटा संघर्षपूर्ण सुरुवात
सुरुवाती दिनहरू आजको जस्तो भव्य थिएनन् । विद्यालयले सीमित विद्यार्थी, थोरै शिक्षक, कर्मचारी र भाडाका सामान्य भवनहरूबाट आफ्नो यात्रा सुरु गरेको थियो । विभिन्न आरोह–अवरोह र चुनौतीहरूलाई छिचोल्दै आज यो संस्था ३७ औं वसन्तमा आइपुग्दा भौतिक र शैक्षिक दुवै दृष्टिले सुसम्पन्न बनेको छ ।
यो केवल एउटा विद्यालय मात्र रहेन, बरु राष्ट्रकै ख्याति प्राप्त तथा गुणात्मक दृष्टिले ‘क’ वर्गमा वर्गीकृत एवं आइएसओ मान्यता प्राप्त शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।
नर्सरीदेखि एमबीए सम्मको शैक्षिक साम्राज्य
शैक्षिक अभियानलाई विस्तार गर्ने क्रममा न्यु होराइजनले आफ्ना भ्रातृ संस्थाहरूको सञ्जाल नै तयार पारेको छ । आज यसै संस्थाको छत्रछायाँमा विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसारका विभिन्न संस्थाहरूमा अध्ययन गर्न सक्छन् ।
न्यु होराइजन इङलिश बोर्डिङ स्कुल पाल्पा, क्षितिज इन्टरनेसनल कलेज कालिकानगर, होराइजन गौतम बुद्ध मा.वि. ड्राइभरटोल, बुटवल मोडल कलेज कटैया यसको छत्रछायाँमा रहेका छन् । यसको सबैभन्दा ठूलो विशेषता भनेको एकै संस्थाभित्र नर्सरीदेखि व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) सम्मको उच्च शिक्षा प्राप्त गर्ने सुविधा उपलब्ध हुनु हो ।
नतिजाको शिखर
जहाँ बोर्ड प्रथम र विश्वस्तरका प्रतिभा जन्मिन्छन्, न्यु होराइजनको सफलताको मुख्य कडी यसको नतिजा हो । २०४९ सालमै १६ जना विद्यार्थीलाई पहिलो पटक प्रवेशिका (एसएलसी) मा सहभागी गराउँदा शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएर सुखद सुरुवात भएको थियो । यस विद्यालयले नेपालको शैक्षिक इतिहासमा चम्किला ताराहरू उपहार दिएको छ ।
ऐतिहासिक बोर्ड टपः २०५६ सालको एसएलसीमा मनोज बोहरा (हाल वरिष्ठ न्युरोसर्जन) र २०५९ सालमा विशाल ज्ञवाली (हाल हार्वर्ड विश्वविद्यालयमा रिसर्च गर्दै) बोर्ड प्रथम हुन सफल भए ।
बोर्ड स्थानः २०५८ मा पवन शर्मा बोर्ड द्वितीय भए भने विश्वास खनाल, रवि शर्मा र गौरव देवकोटाले बोर्ड आठौँ स्थान हासिल गरे । त्यस्तै विनिता भट्टराई बोर्ड नवौँ र हरि गैरे बोर्ड दसौँ स्थानमा पर्न सफल भए ।
आधुनिक सफलताः २०७४ र २०७५ सालको एसएलसी/एसइईमा क्रमशः ४ जना र ७ जना विद्यार्थीले जीपीए ४ ल्याउन सफल भए । २०७९ मा दीक्षा गौतमले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बाट उत्कृष्ट विद्यार्थी पुरस्कार पाइन् ।
उद्यमशीलताः यसै विद्यालयका २०५५ ब्याचका विद्यार्थी असगर अली ई–सेवाका संस्थापक र निर्देशक बन्न सफल हुनु यस संस्थाकै गौरवको कुरा हो ।
खेलकुद र अतिरिक्त क्रियाकलापः विद्यालयले शक्ति गौचनको प्रशिक्षणमा क्रिकेट क्रान्ति गरिरहेको छ ।
पढाइमा मात्र होइन, विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको छ । विद्यालयमा भलिबल, क्रिकेट, फुटबल, कबड्डी, बास्केट बल, कराँते र टेबुल टेनिस जस्ता दर्जनौँ खेलका लागि छुट्टै प्रशिक्षकहरू नियुक्त गरिएका छन् ।
विशेष गरी क्रिकेटको विकासका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त खेलाडी शक्ति गौचनलाई पूर्णकालीन प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ । यसैको परिणामस्वरूपः कुशल मल्ल, कृतिका मरासिनी र तिर्सना वि.क. जस्ता राष्ट्रिय क्रिकेट खेलाडीहरू उत्पादन भएका छन् । सन् २०२४ मा भुटानमा सम्पन्न ८ औँ दक्षिण एसियाली कराँते प्रतियोगितामा कक्षा ९ की छात्रा रोशिका न्यौपानेले द्वितीय स्थान हासिल गरिन् ।
सन् २०२४ अक्टोबरमा श्रीलङ्कामा सम्पन्न प्रतिस्पर्धामा सूर्य वि.क., सागर रसौली र लेसमन राहादी मगर सम्मिलित नेपाली टिमले द्वितीय स्थान प्राप्त गर्यो । विद्यालयको क्रिकेट टिमले हङकङमा सम्पन्न एसपीए कप समेत जितेको छ ।
नेतृत्व विकास र विविध क्षेत्रमा सफलता
न्यु होराइजनले केवल डाक्टर र इन्जिनियर मात्र होइन, समाजका हरेक विधामा नेतृत्वदायी भूमिका खेल्ने नागरिक उत्पादन गरिरहेको छ । यस वर्ष पनि विद्यालयका होनहार विद्यार्थीहरू समीप पौडेल र सुष्मा श्रेष्ठ “ग्लोबल टीम अवार्ड” बाट सम्मानित भएर विद्यालयको अन्तर्राष्ट्रिय साख बढाएका छन् ।
यसका साथै, विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न विद्यालयभित्र विभिन्न विषयसँग सम्बन्धित क्लबहरू सञ्चालनमा रहेका छन्, जसले नियमित रूपमा रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने गर्दछन् ।
विद्यार्थीहरूलाई अनुशासित बनाउन र नेतृत्व सिकाउन ‘स्काउट’ कार्यक्रम पनि उत्तिकै सक्रिय छ, जसमा हालै ३० जना विद्यार्थीले ‘स्काउट प्याट्रोल नेतृत्व प्रशिक्षण शिविर–२०८१’ मा सहभागिता जनाएका थिए ।
खेलकुद र शारीरिक सुगठनमा नयाँ उचाइ
क्रिकेट र कराँतेका अतिरिक्त विद्यालयले अन्य खेलहरूमा पनि आफूलाई अब्बल सावित गरेको छ । ‘शान्ति नमूना जिल्ला स्तरीय चेस प्रतियोगिता–२०८१’ मा विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै, शारीरिक सुगठनतर्फ पनि विद्यालयका विद्यार्थी रेसित रानाले ‘मिस्टर तिलोत्तमा श्री बोडिबिल्डिङ एण्ड फिजिक च्याम्पियनसीप–२०८१’ मा १७० सेन्टिमिटरभन्दा माथिको उचाइ विधामा प्रथम स्थान हासिल गरी विद्यालयको बहुआयामिक प्रतिभाको परिचय दिएका छन् ।
यद्यपि, विद्यालयसँग आफ्नै पर्याप्त खेल मैदानको अभाव हुँदा कतिपय अभ्यासहरू बाहिरी मैदान भाडामा लिएर सम्पन्न गर्नुपर्ने अवस्था रहेको तथ्यलाई पनि संस्थाले स्वीकार गरेको छ । नगर विकासमा सहभागिताः विद्यालयसँगै जोडिएको ‘प्रभात पथ’ निर्माणका लागि विद्यालयले रू. २ लाख २१ हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो, जुन बाटो हाल विद्यालयका शिक्षक र विद्यार्थीहरूले प्रयोग गरिरहेका छन् ।
त्यस्तै इनरह्विल लायन्स क्लबमा रू. २ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर विद्यालयले सामाजिक सेवाका क्षेत्रमा आफ्नो उपस्थितिलाई संस्थागत गरेको छ । विपन्नलाई विशेष अवसर पनि विद्यालयले दिएको छ । झण्डै १२०० भन्दा बढी आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई आवाससहितको पूर्ण निःशुल्क शिक्षा प्रदान गरेर न्यु होराइजनले साँचो अर्थमा शिक्षामा सबैको पहुँचको नारालाई सार्थक पारेको छ ।
नेतृत्वको सम्मान र पदकहरूः संस्थालाई सफल बनाउन अहोरात्र खटिने नेतृत्वलाई राज्यले पनि उचित सम्मान दिएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय २०५९ मा ‘गोरखा दक्षिणबाहु’, २०७५ मा ‘जनसेवा श्री’ र सोही वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।
संस्थापक निर्मलप्रसाद लाकौल २०८० सालमा राष्ट्रपतिद्वारा ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । त्यस्तै भास्करनाथ पाण्डेलाई ‘जनसेवा श्री’ पदक र उप–प्राचार्यहरू बालकृष्ण भण्डारी, वासुदेव अर्याल र हरिप्रसाद पन्थीले पनि विभिन्न समयमा सम्मान प्राप्त गरेका छन् ।
सामाजिक उत्तरदायित्व (सीएसआर): समाजप्रतिको उदारता न्यु होराइजन केवल नाफामूलक संस्था मात्र होइन, यसले सामाजिक उत्तरदायित्वलाई पनि दह्रोसँग समातेको छ । विद्यालयले विभिन्न सामाजिक कार्यमा लाखौँ खर्च गरेको छ ।
विभिन्न विद्यालयहरूलाई सहयोग गरेको छ लक्ष्मी प्रा.वि. (बुटवल–६) का शिक्षकको तलब भत्ताका लागि रू. १ लाख ७७ हजार ४५० र विभिन्न विद्यालयहरू जस्तै दुर्गा वैदिक संस्कृत मावि, सरस्वती निमावि र जनशक्ति नमुना प्राविलाई डेस्क–बेन्च सहयोग गरिएको छ ।
त्यस्तै विद्यालयले गुल्मीका लिम्घा र रिडीका विद्यालयहरूमा र इनरह्विल लायन्स क्लबमा रू. २ लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको छ । पूर्वाधारतर्फ बुटवल–११ स्थित एन्फा रंगशालामा रू. २५ लाखको लागतमा अत्याधुनिक शौचालय निर्माण भइरहेको छ ।
छात्रवृत्तितर्फ विद्यालयले हालसम्म विपन्न तथा जेहेन्दार १२०० भन्दा बढी विद्यार्थीहरूलाई आवास सुविधा र निःशुल्क शिक्षा प्रदान गरेको छ । विद्यालयले छिमेकी र दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरूलाई गरेको सहयोगको विवरण निकै उल्लेख्य छ । पाल्पाको कुसुमखोलास्थित श्री लक्ष्मी निमाविलाई २ लाख बराबरको फर्निचर र गुल्मीको सरस्वती मावि लिम्घालाई २ लाख ५० हजारको अक्षयकोष प्रदान गरिएको छ ।
आज ३५ वर्ष पुग्दा न्यु होराइजन एउटा यस्तो थलो बनेको छ, जहाँ विद्यार्थीले ज्ञान मात्र पाउँदैनन्, बरु राष्ट्रको गौरव बन्ने साहस पनि पाउँछन् । भौतिक अभावबाट सुरु भएको यो यात्रा आज हजारौँको भविष्य निर्माणको आधारस्तम्भ बनेको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय संस्थाको निकै नै संघर्षपूर्ण यात्रा पार गर्दै विद्यालय अहिलेको अवस्थासम्म आइपुगेको बताउँछन् ।
उनी भन्छन्, “भाडाका पुराना कोठाबाट सुरु भएको हाम्रो यो यात्रा आज राष्ट्रिय गौरवको उचाइसम्म आइपुग्दा हामी अत्यन्तै हर्षित छौँ । हामीले केवल पाठ्यपुस्तकको ज्ञान मात्र दिएनौं, बरु संस्कारयुक्त शिक्षा र खेलकुदका माध्यमबाट विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सबल नागरिक उत्पादनमा जोड दियौं ।” आगामी दिनमा प्रविधिलाई थप आत्मसात गर्दै हरेक विद्यार्थीको भित्री प्रतिभा प्रस्फुटन गराउनु नै विद्यालयको मुख्य लक्ष्य रहने उनको भनाइ छ । “यो सफलतामा साथ दिने सम्पूर्ण अभिभावक, शिक्षक र शुभेच्छुकहरूप्रति हामी सदैव कृतज्ञ छौँ”–उनी भन्छन् ।