Butwal Today

दीप बोर्डिङः जहाँ प्रतिभा चम्किन्छ

दीप बोर्डिङ हाईस्कुलले किताबी ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक सीपलाई समान रूपमा महत्त्व दिएको छ । विद्यार्थीको रुचि अनुसार सीपमूलक शिक्षा प्रदान गर्न सके भविष्यमा रोजगारीका लागि विदेश पलायन हुने बाध्यता कम गर्न सकिने विश्वास विद्यालयले राखेको छ ।
१६ बैशाख २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै गएको बुटवल पछिल्लो समय नेपालकै महत्त्वपूर्ण शिक्षा गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

यहाँ रहेका निजी तथा सामुदायिक विद्यालयहरूको उत्कृष्ट नतिजा, नवीन शिक्षण पद्धति र अनुशासित शैक्षिक वातावरणले देशभरकै ध्यान आकर्षित गर्न सफल भएका छन् । यिनै प्रतिष्ठित शैक्षिक संस्थामध्ये बुटवल–८, सुखानगरमा अवस्थित दीप बोर्डिङ हाईस्कुल एक अग्रणी नाम हो, जसले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको सर्वाङ्गीण विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

वि.सं. २०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाईस्कुलले चार दशकभन्दा लामो शैक्षिक यात्रामा आफूलाई केवल एक विद्यालयका रूपमा मात्र सीमित नराखी समाज परिवर्तनको महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित गरेको छ ।

४५ वर्षभन्दा बढीको निरन्तर यात्रामा विद्यालयले हजारौँ दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गरिसकेको छ, जसले आज देश तथा विदेशमा विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन् । यस अर्थमा दीप बोर्डिङ हाईस्कुल बुटवलको मात्र नभई राष्ट्रकै एक महत्त्वपूर्ण शैक्षिक धरोहरका रूपमा उभिएको छ ।

हाल करिब २ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासन, संस्कार र व्यवहार निर्माणलाई आफ्नो मूल उद्देश्य बनाएको छ । विद्यालयले सुरुदेखि नै शिक्षा केवल परीक्षा पास गराउने माध्यम मात्र नभई जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने प्रक्रिया हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको छ ।

यही सोचका कारण विद्यालयले शिक्षण–सिकाइ प्रक्रियामा निरन्तर नवीनता, सृजनशीलता र व्यवहारिकतालाई प्राथमिकता दिएको छ । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेका अनुसार विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रयोगात्मक, अनुसन्धानमुखी र प्रोजेक्टमा आधारित सिकाइमार्फत उनीहरूको वास्तविक क्षमता विकास गर्नु आवश्यक हुन्छ । यही अवधारणालाई व्यवहारमा उतार्दै विद्यालयले आधुनिक शिक्षण पद्धति अपनाएको छ, जसले विद्यार्थीलाई २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम बनाएको छ ।

दीप बोर्डिङ हाईस्कुलको शैक्षिक उपलब्धि अत्यन्त उल्लेखनीय छ । एसइई लगायतका राष्ट्रिय परीक्षामा विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कतिपय वर्षहरूमा ४.० जीपीए सहित शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा समेत नेपाल प्रथम र द्वितीय स्थान हासिल गर्ने विद्यार्थी उत्पादन गरेको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण प्रणालीको प्रभावकारिता स्पष्ट रूपमा देखाउँछ ।

विद्यालयको सफलता पछाडि अनुभवी र समर्पित शिक्षकहरूको ठुलो योगदान रहेको छ । यहाँका शिक्षकहरू केवल पाठ पढाउने मात्र होइन, विद्यार्थीका मार्गदर्शक, प्रेरक र परामर्शदाता पनि हुन् । नियमित तालिम, कार्यशाला र मूल्याङ्कन प्रणालीमार्फत शिक्षकहरूको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइन्छ । शिक्षण विधिलाई अझ प्रभावकारी बनाउन शिक्षक र विद्यालय व्यवस्थापनबिच सधैँ समन्वय र सहकार्य रहने गरेको छ ।

भौतिक पूर्वाधारतर्फ पनि विद्यालय सुदृढ छ । पर्याप्त कक्षाकोठा, आधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, समृद्ध पुस्तकालय तथा खेलमैदानले विद्यार्थीलाई उत्कृष्ट सिकाइ वातावरण प्रदान गरेका छन् । डिजिटल शिक्षण सामग्री, प्रोजेक्टर तथा सूचना प्रविधिको प्रयोगले कक्षा शिक्षणलाई अझ प्रभावकारी र आकर्षक बनाएको छ । कोभिड–१९ महामारीपछिको अनुभवलाई ध्यानमा राख्दै विद्यालयले हाइब्रिड (अनलाइन तथा भौतिक) शिक्षण प्रणाली समेत विकास गरेको छ, जसले शिक्षणलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

विद्यालयका सहायक प्राचार्य कलाधर आचार्यका अनुसार विद्यालयले विद्यार्थीको समग्र विकासलाई उच्च प्राथमिकता दिएको छ । त्यसका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गरिन्छन् । वक्तृत्वकला, वादविवाद, कविता प्रतियोगिता, खेलकुद गतिविधि (फुटबल, भलिबल, एथलेटिक्स), सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा तथा वातावरण संरक्षण अभियानजस्ता गतिविधिहरूले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य भावना र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पु¥याउँछन् ।

विशेष गरी ‘दीप गायन तारा’ कार्यक्रम विद्यालयको एक महत्त्वपूर्ण पहिचान बनेको छ । हरेक वर्ष आयोजना हुने यस प्रतियोगिताले नयाँ प्रतिभाको खोजी गर्दै राष्ट्रिय स्तरका कलाकार उत्पादन गर्न सफल भएको छ । यसले विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभई प्रतिभा विकासको केन्द्रका रूपमा स्थापित गरेको छ ।

अनुशासनलाई विद्यालयले शिक्षाको महत्त्वपूर्ण आधार मानेको छ । समय पालन, पोसाक, व्यवहार र नैतिक मूल्यमा विशेष ध्यान दिइन्छ । विद्यार्थीलाई जिम्मेवार र नैतिक नागरिकका रूपमा तयार पार्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिन्छन् । नमुना संसद् अभ्यास, सामाजिक अभियान तथा सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकास गर्न सहयोग पु¥याएका छन् ।

अभिभावक–विद्यालय सहकार्यलाई विद्यालयले अत्यन्त महत्त्व दिएको छ । नियमित अभिभावक–शिक्षक भेटघाट, प्रगति प्रतिवेदन र सुझाव आदानप्रदानमार्फत पारदर्शिता कायम गरिएको छ । यसले अभिभावकमा विद्यालयप्रति विश्वास अझ बलियो बनाएको छ ।

प्रविधिको तीव्र विकाससँगै विद्यालयले सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकता दिएको छ । कम्प्युटर शिक्षा, डिजिटल कक्षा, अनलाइन प्लेटफर्म र प्रविधिमैत्री वातावरणले विद्यार्थीलाई आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाएको छ ।

भविष्यतर्फ केन्द्रित हुँदै विद्यालयले थप आधुनिक प्रयोगशाला निर्माण, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति विकास, करियर मार्गदर्शन कार्यक्रम सुदृढीकरण तथा अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षण प्रणाली लागू गर्ने योजना अघि सारेको छ । साथै, विद्यार्थीलाई सिप र श्रमसँग जोड्दै आत्मनिर्भर बनाउने लक्ष्य पनि विद्यालयले लिएको छ ।

दीप बोर्डिङ हाईस्कुलले किताबी ज्ञानसँगै संस्कार, संस्कृति र व्यावहारिक सीपलाई समान रूपमा महत्त्व दिएको छ । विद्यार्थीको रुचि अनुसार सीपमूलक शिक्षा प्रदान गर्न सके भविष्यमा रोजगारीका लागि विदेश पलायन हुने बाध्यता कम गर्न सकिने विश्वास विद्यालयले राखेको छ ।

समग्रमा, दीप बोर्डिङ हाईस्कुल गुणस्तरीय शिक्षा, अनुशासन, प्रविधिमैत्री वातावरण, समर्पित शिक्षक टोली र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित एक उत्कृष्ट शैक्षिक संस्था हो । बुटवलजस्तो तीव्र रूपमा विकास हुँदै गएको सहरमा यस्तो संस्था हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि हो । आगामी दिनमा पनि विद्यालयले आफ्नो गुणस्तरलाई कायम राख्दै अझ नयाँ उचाइ हासिल गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?