Butwal Today

गाउँका शिक्षक, बजारका कृषक

गुल्मीका शिक्षक लक्ष्मीपति न्यौपानेले शिक्षण पेसासँगै कृषि व्यवसायबाट वार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्दै सफलता हासिल गरेका छन् । आफ्नो खेतबारी र किवी, सुन्तला खेतीमार्फत गाउँमै रोजगारी र उत्पादनको उदाहरण बनेका न्यौपानेको मेहनत अन्यका लागि समेत प्रेरणादायी छ ।
९ फाल्गुन २०८२, शनिबार
अ+
अ-

तम्घास (गुल्मी)  ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा ३८ वर्षीय लक्ष्मीपति न्यौपाने एकसाथ दुई वटा पेसामा सफल बनेका छन् ।

शिक्षणसँगै उनले गरिरहेको कृषि कर्मले यति बेला उनलाई जिल्लाभित्र मात्र नभै बाहिर पनि चिनाएको छ । न्यौपाने काली गण्डकी–१ स्थित देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको शिक्षकको रूपमा कार्यरत छन् । तर उनको असाधारण उपलब्धि भने शिक्षण पेसामा मात्र सीमित छैन ।

शिक्षण पेसासँगै न्यौपानेले कृषि व्यवसायलाई पनि व्यवस्थित रूपमा सञ्चालन गर्दै आएका छन् । २०७१ सालमा उनले ‘दुर्गादेबी मत्स्यपालन तथा तरकारी कृषि फर्म’ दर्ता गरे र त्यसयता कृषिमा लगानी तथा अभ्यास गर्दै आएका छन् ।

प्रारम्भिक चरणमा १४ रोपनी जग्गामा ताजा तरकारी खेतीबाट सुरुवात गरेका न्यौपानेले अहिले कृषि व्यवसायबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् ।

न्यौपानेको कृषि कार्यको विशेषता भनेको विविधीकरणमा देखिन्छ । १६ रोपनी जग्गा लिजमा लिएर उनले ६५० वटा किवीका बिरुवा रोपेका छन् । जसले अहिले उत्पादन दिन थालेका छन् ।

किवी बिक्रीबाटै उनले वार्षिक करिब १५ लाख रुपियाँ आम्दानी गर्ने गरेका छन् । “किवीको लगानी प्रारम्भिक रूपमा कठिन थियो, तर अब नियमित उत्पादनले आम्दानी सुनिश्चित गरेको छ,” न्यौपानेले भने ।

यस्तै, न्यौपानेसँग करिब ६० रोपनी जग्गा थप रूपमा लिजमा तथा आफ्नै जग्गामा छन्, जहाँ एक हजार तीन सय बढी सुन्तलाका बिरुवा रोपिएका छन् । यस वर्ष करिब आठ सय बिरुवाबाट राम्रो उत्पादन प्राप्त भएको र सुन्तलाबाट करिब सात लाख रुपियाँ आम्दानी भएको उनले जानकारी दिए ।

प्रति केजी ६५ रुपियाँभन्दा बढीमा सुन्तला बिक्री भएको उनले उल्लेख गरे । न्यौपानेको कृषि कार्यमा पारिवारिक सहयोगको पनि ठुलो भूमिका छ । उनले भने, “नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले म अघि बढिरहेको छु । मेरो श्रीमती सृजना न्यौपानेले कृषि कार्यको हरेक चरणमा साथ दिइरहेकी छिन् ।

उनले बिरुवा र बारीको हेरचाह गर्नुका साथै दैनिक कार्यहरूमा सहयोग पु-याइरहेकी छन् ।” उता सिर्जनाले पनि आफूले श्रीमानको काममा सक्दो सहयोग पु-याइरहेको बताइन् । “श्रीमानले गर्न लागेको काममा मैले सकेसम्म सहयोग पु¥याउने प्रयास गरिरहेको छु । हामी दुवै मिलेर कृषि व्यवसायलाई व्यवस्थित बनाइरहेका छौँ”–उनले भनिन् ।

न्यौपानेले गरेको कृषि कार्य स्थानीय समुदायका लागि पनि लाभदायी साबित भएको छ । हर्मिचौर, अर्वेनीमा कुनै विवाह, व्रतबन्ध वा पूजाआँजा भएमा तरकारीको माग सिधै उनको बारीबाट पु¥याइदिने व्यवस्था गरिएको छ ।

यसरी स्थानीय स्तरमा आवश्यक पर्ने ताजा तरकारी उपलब्ध गराउनुको साथै, उनले व्यावसायिक दृष्टिले पनि बजारमा प्रतिस्पर्धा कायम राखेका छन् ।

शिक्षकको पेसासँगै कृषि व्यवसाय चलाउँदा समय व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । न्यौपानेले बिहान–साँझ विद्यालयको कर्तव्य पूरा गरेपछि कृषि क्षेत्रमा काम गर्न आफ्नो समय समर्पित गरेका छन् ।

उनले दैनिक ज्यालादारीमा आवश्यक परेको बेला मात्र कामदार राख्ने र नियमित रूपमा आफ्नै परिवारको सहयोगमा बारी हेरचाह गर्ने बताए । यसरी समय व्यवस्थापन गर्दै न्यौपानेले कृषिको उत्पादन र गुणस्तर दुवै सुनिश्चित गरेका छन् ।

कृषि पेसामा न्यौपानेको उपलब्धि गुल्मी जिल्लाभित्र मात्रै सीमित छैन । उनको फार्म हेर्न जिल्ला भित्र र बाहिरबाट कृषक, विद्यार्थी र सरकारी कार्यालयहरू समेत आउने गरेका छन् । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रबाट पनि उनले पर्याप्त सहयोग पाएका छन् । यसले उनको फार्मलाई थप व्यवस्थित र दिगो बनाएको छ ।

न्यौपानेको कथा केवल आम्दानीको मात्र होइन, प्रेरणाको पनि हो । शिक्षण पेसामा रहँदै, स्थानीय समुदायमा कृषिको महत्त्व र सम्भावनाबारे सचेतना फैलाउने उनको प्रयास प्रशंसनीय छ ।

धेरै युवा कृषकहरूले उनको अनुभव र तरिका सिकेर आफ्नै कृषि व्यवसाय सुरु गरेका छन् । “हाम्रो उद्देश्य केवल आम्दानी गर्नु मात्र होइन, गाउँघरमा उत्पादनमुखी सोच र रोजगारी सिर्जना गर्नु हो,” न्यौपानेले भने ।

उनको फार्ममा माछा पालन, तरकारी खेती, फलफूल उत्पादन, र बारी व्यवस्थापन एकैसाथ चलाइएको छ । यसले कृषिको विविधीकरण र जोखिम व्यवस्थापनमा मद्दत पु-याएको छ । न्यौपानेले किसानहरूलाई कृषिमा व्यावसायिक दृष्टिकोण अपनाउन प्रोत्साहित गर्दै आएका छन् ।

न्यौपानेको कथा स्थानीय स्तरमा कृषि व्यवसाय र शिक्षण पेसासँगै आम्दानीको नयाँ दृष्टिकोण प्रस्तुत गर्ने उदाहरण बनेको छ । यसले सही योजना, पारिवारिक सहयोग र मेहनतले सानो व्यवसायलाई पनि ठुलो आम्दानीमा परिणत गर्न सकिन्छ भन्ने देखाएको छ ।

उनको प्रयासले ग्रामीण क्षेत्रका युवा कृषकलाई स्वदेशमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्ने प्रेरणा दिएको छ ।
यसरी, लक्ष्मीपति न्यौपानेको जीवनशैली शिक्षण पेसा र कृषि व्यवसायको सफल समन्वयको उत्कृष्ट उदाहरण बनेको छ ।

उनको सङ्घर्ष, मेहनत र लगनशीलताले गाउँको अर्थतन्त्रमा मात्र होइन, स्थानीय समुदायमा रोजगारी र आत्मनिर्भरता बढाउने प्रेरणा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?