Butwal Today

एकीकृत घुम्ती शिविरबाट सेवा  

१ असार २०८३, सोमबार
अ+
अ-

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ९ का स्थानीयहरूलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर मार्फत सेवा प्रवाह गरेको हो ।

नगरपालिकाले स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसाबले टाढा रहेको वडालाई मध्यनजर गर्दै वडा नं. ९ मा घुम्ती शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरवासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताए । नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसाबले टाढा रहेका नगरवासीको लागि अन्य स्थानमा पनि शिविर सञ्चालन गर्दै आएको उनले बताए ।

शिविरबाट वडा भित्र सञ्चालन भएका कार्यक्रम र योजनाको भुक्तानी, कृषि तथा पशु सेवा, आँखा, कान, घाँटी तथा दन्त परीक्षण सहित अन्य स्वास्थ्य परीक्षण सेवा, संस्था तथा व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण, महिलाहरूको पाठेघरको मुखको सम्भावित क्यान्सर परीक्षण सेवा प्रदान गरिएको थियो ।

आधारभूत स्वास्थ्य केन्द्र जब्गाडीको प्राङ्गणमा भएको शिविरमा एकै दिन ६ सय ८१ सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष दिल बहादुर रानाले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा ४सय ५५ जना, आँखा तथा कान परीक्षण सेवा ४ सय ७९ जना, दन्त परीक्षण सेवा ८६ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ६ जना, योजनाको भुक्तानी सेवा २८ जना, व्यवसाय नवीकरण ५ जना, पशु सेवा २ सय २१ र कृषि सेवा २ सय १० जनाले सेवा लिएको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए ।

शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, नेपाल परिवार नियोजन सङ्घ पाल्पाको समन्वयमा महिलाको पाठेघरको परीक्षण र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परीक्षण संगै आौषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिए ।

रामपुर नगरपालिकाले नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू घुम्ती शिविर मार्फत आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता गर्नुका साथै र बैङ्क खाता खोल्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले बैङ्क भन्दा पर रहेका नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ।

शिविर मार्फत नगरपालिका कार्यालयका विभिन्न शाखाहरूले प्रदान गर्ने सेवा कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सेवा प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?