Butwal Today

गुल्मी–स्याङ्जा जोडिनै नसकेको नाता

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

तम्घास ।  गुल्मीमा १४ वर्षमा छ पटक म्याद थप गर्दा पनि पुल निर्माको कार्य सम्पन्न हुन सकेको छैन ।

विभिन्न वाहनाबाजी बनाउँदै आएका निर्माण व्यवसायीका लागि पछिल्लो समय थप भएको म्याद जेठ १५ गते सम्म सम्पन्न गर्नु पर्ने थियो । तर पछिल्लो थपिएको म्याद पूरा हुँदा पनि सम्पन्न नभएपछि छैटौँ पटक म्याद थप भएको छ । थप म्याद अनुसार पुस १५ सम्म सम्पन्न गर्नुपर्नेछ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प र स्याङ्जाको काली गण्डकी गाउँपालिका १ चण्डी भन्ज्याङ जोडने गरी काली गण्डकी नदीमा २०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा २०७२ साल असार २४ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मोटरेवल पुल ६ मिटर चौडाइ र १५० मिटर लम्बाइको रहने र स्टिल ट्रसको निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

तीन वर्षमा बन्नुपर्ने पुल १४ वर्ष बित्दासमेत ८२ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका साइड इन्जिनियर पवन सुवेदीका अनुसार उक्त स्थानमा बन्ने पुलको फाउन्डेसनमा ठुलो चट्टान भएकाले निर्माणमा समय लागेको लागेको हो ।

पछि वेयल फाउन्डेसनको डिजाइनलाई परिवर्तन गरी पायल फाउन्डेसन बनाइएको र अहिले उक्त पुलको ८२ प्रतिशत भौतिक प्रगति भएको छ भने ५० प्रतिशत बढी वित्तीय प्रगति भएको छ । पाँचौँ पटक थपिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि छैटौँ पटकको म्याद स्वीकृत भएर आइसकेको उनले बताए । “छैटौँ पटकको म्याद स्वीकृत भएर आइसकेको छ, अबको म्यादमा पुलको साम सम्पन्न गर्ने प्रयास रहन्छ”–उनले भने ।

निर्माण व्यवसायीका इन्जिनियर अजय लामिछानेका अनुसार पहिले नै डिजाइन परिवर्तन गर्नका लागि कार्यालयलाई आग्रह गर्दा पनि कार्यालयले ढिला गरिदिएका कारण समस्या भएको टिप्पणी गरेका छन् ।

२०७२ सालमा आग्रह गरेको भए पनि २०८० सालमा डिजाइन (वेयलबाट पायल फाउन्डेसन) परिवर्तन भएर आएको उनको भनाइ छ । अहिले ट्रस निर्माणको काम भइरहेको छ । “डिजाइन समयमै भइदिएको भए यस्तो बेवारिसे हुने थिएन, कार्यालयले आठ वर्ष ढिला गरिदिँदा समस्या भएको हो”–उनले भने ।

पछिल्लो समयमा डन्डी र फलामसँगै सिमेन्टको मूल्य वृद्धि हुनुका साथै अर्डर गरेको सामग्री पनि समयमै निर्माण स्थलमा ल्याइदिन ढिला गरेका कारण समस्या भएको उनको भनाइ छ । यसका साथै बजेट अभाव पनि अर्को कारण रहेको लामिछानेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?