सुस्ता,पश्चिम नवलपरासी । नेपाल–भारत सीमामा पर्ने सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को गतिविधिलाई लिएर स्थानीयवासीमा पुनः आक्रोश बढेको छ।
पटक–पटक नेपाली भूमिमा प्रवेश, सीमाक्षेत्रमा अनावश्यक हस्तक्षेप तथा स्थानीयलाई त्रसित बनाउने गतिविधि दोहोरिँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल गर्न नसकेको भन्दै स्थानीयले व्यापक आक्रोश ब्यक्त गरेका छन्।
पुर्जा हातमा भएर पनि आफ्नो जग्गा भारतको अतिक्रमणमा परेको सुस्ताका आदम हुसेन खाँले पीडा पोखे । २०६२ सालसम्म आफुहरुले जोतभोग गरिरहेको ३ दाजुभाईको अंशमा रहेको करिब साढे तेह्र बिघा जग्गा सोही समय देखि भारतिय अतिक्रमणमा परेको उनले बताए ।
खाँ का अनुसार तत्कालिन समयमा शसस्त्रका डिएसपी जगत नारायण श्रेष्ठको कमाण्डमा सुस्तामा प्रहरीको गण बसेको थियो । सोही समयमा बाटो निर्माण गर्ने क्रममा उत्तर तर्फ रहेको आफ्नो जग्गाबाट डिएसपी श्रेष्ठले बाटो निर्माण गरिदिए पछि भारतलाई बल पुगेको र आफ्नो झन्डै साढे १३ बिघा जग्गा भारतिय अतिक्रमणमा परेको उनको दावी छ।
“बकाईदा नापजाँच भएको हाम्रो नेपालकै जग्गा हो तर डिएसपीको गल्तीले हाम्रो जग्गा गुम्यो”-खाँको आरोप छ । त्यसपछि भारतीयहरुले उक्त जमिन अतिक्रमण गरेर जोतभोग गर्न थालेको उनको भनाई छ ।
२०६२ सालमा साविक सुस्ता पञ्चायतका ७ वटै वडाका जमिन भारतिय अतिक्रमणमा परेपछि सुस्ता बचाउ अभियानका अगुवा स्व.गोपाल गुरुङ र आफ्नो नेतृत्वमा तत्कालिन प्रमुख जिल्ला अधिकारी निरन्जन बराल कहाँ आफुहरु डेलिगेसन गएको स्मरण गर्दै खाले भने -“हामी उता डेलिकेसन गयौ यता झन्डै २ हजारको संख्यामा भारतीयहरु ट्याक्टरमा आएर अतिक्रमण गर्न र खनजोत गर्न सुरु गरे, तर तत्कालीन प्रशासनले हाम्रो सुनुवाई गरेन र हाम्रो भूमि गुम्यो, उल्टै हामीमाथि नै अत्याचार भयो ।’
प्रधानमन्त्री वालेन्द्र शाहको बोलीले पछिल्लो समय भारतीय सेना मात्रै होईन सीमा क्षेत्रका भारतिय जनतालाई समेत थप बल पुगेको खाँ बताउँछन्। ‘प्रधानमन्त्री बोल्दिनु भो उनीहरुलाई थप शक्ति आयो, हाम्रो पीडा कस्ले सुन्ने,पीडा बुझ्न सुस्ता आउनुस्, बाहिर बोलेजस्तो कहाँ छ र ?”-उनले पीडा पोखे ।
स्थानीयले प्रधानमन्त्रीलाई सुस्ता आएर सुस्ताबासीको पीडा सुन्न माग गरेका छन्। उनीहरु भन्छन्-प्रधानमन्त्रीज्यू, सुस्ता आएर हाम्रो पीडा सुन्नुस्, अनि सीमाको समस्या थाहा हुन्छ।’
हालै एसएसबीका केही सुरक्षाकर्मी पूर्वसूचना र समन्वयबिना सुस्ता क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयको प्रतिकारपछि उनीहरू फर्किएको बताइएपनि यस्ता घटना नयाँ नभएको सुस्तावासीको भनाइ छ। सीमाक्षेत्रमा हुने यस्ता गतिविधिले स्थानीयको सुरक्षा कमजोर बनाउनुका साथै नेपालको सार्वभौमिकतामाथि समेत प्रश्न उठाउने गरेको उनीहरू बताउँछन्।
पूर्जा हातमा भएर पनि जमीन भारतीय अतिक्रमणमा परेका आदम खाँ एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन्, सयौं नागरिकको जग्गा भारतीय अतिक्रमणमा परेको छ ।
सुस्ताका अगुवा आदम हुसेन, ओम प्रकाश कुर्मी जस्ता नागरिकहरुले आफ्नै आँखा अघि आफ्नो जमिन भारतमा गाभिदाको दृष्य टुउटुलु हेरेर बस्न बाध्य भएको सुनाउँछन्। सरकारले कुनै ठोस कदम चालेर आफ्नो भूमि अझै फिर्ता आउँछ कि भन्ने झिनो आशामा उनीहरु रहेका छ्न् ।
स्थानीयवासीका अनुसार सुस्तामा वर्षौंदेखि सीमा विवाद कायम रहँदा भारतीय पक्षबाट विभिन्न समयमा दबाब सिर्जना गर्ने प्रयास हुँदै आएको छ। तर हरेक पटक घटना भएपछि मात्रै चासो देखाउने र पछि विषय सेलाउँदै जाने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको उनीहरूको गुनासो छ।
“सुस्ता नेपालको भूमि हो भन्ने कुरा राज्यले व्यवहारमै पुष्टि गर्नुपर्छ, पटक–पटक विदेशी सुरक्षा बल नेपाली भूमिमा आउँदा पनि कडा कूटनीतिक पहल नहुनु दुःखद हो”-सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आक्रोश ब्यक्त गरे ।
सीमाक्षेत्रका बासिन्दाले सरकारसँग सुस्ताको सुरक्षा व्यवस्था मजबुत बनाउन, सीमा स्तम्भको नियमित अनुगमन गर्न तथा यस्ता घटनामा तत्काल कूटनीतिक पहल गरी दोहोरिन नदिने वातावरण बनाउन माग गरेपनि उनिहरुका लागि जुन जोगी आएपनी कान चिरेकै भन्ने भान हुन थालेको छ ।
सुस्तामा १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित छ भने १४ हजार ५ सय हेकटर जमिन अतिक्रमित रहेको छ । तत्कालीन सुस्ता पञ्चायत रहँदा सुस्ता गाउँपालिकाको क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेकोमा अतिक्रमण र विवादित गरी अहिले क्रमशः साघुरिदै गएको छ ।
२०२२ सालमा बन फडानी गरी तत्कालीन राजा महेन्द्रले सुस्तामा भूपू सैनिक परिवारको बसोबास गराएका थिए । २०३४ सालमा नारायणी नदीमा आएको भीषण बाढी र डुबानका कारण त्यहाँका नागरिकलाई वारी त्रिवेणिको साहुमारा, केउलानी लगायतका ठाउँहरूमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गरिएको तत्कालीन सुस्ता गाउँ पन्चायतका अध्यक्ष एवम हाल सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय बताउँछन् । “पछिल्लो समय एसएसबीले किन यसरी सक्रियता बढाएको छ खै किन हो-“अध्यक्ष उपाध्यायले भने ।