Butwal Today

अट्वारीः जहाँ अग्रासनमा पुग्छ दिदीबहिनीको माया

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

नेपालगन्ज । सोमबार कतै हरितालिका तीजको रमझम थियो, कतै माइती र चेलीबेटी भेटघाटको उल्लास ।

तर थारु बस्तीमा भने बिहानैदेखि अर्को किसिमको चहलपहल थियो । हातमा परिकारले भरिएको छिट्वा बोकेर दाजुभाइहरू विवाहित दिदीबहिनीको घरतर्फ लागिरहेका थिए । कसैले अनदीको रोटी, खुर्मा र फुलौरी बोकेका थिए । कसैको मोटरसाइकल, साइकलको पछाडि बाँसको छिट्वामा सजिएको थियो—अट्वारीको अग्रासन ।

हरितालिका तीज र थारु समुदायले मनाउने अट्वारी पर्व प्रायः आसपासकै दिनमा पर्ने गर्छन् । यस वर्ष भने तीजभन्दा एक दिनअघि अट्वारी परेको थियो । आइतबार अट्वारी मनाएका थारु समुदायले सोमबार बिहान अट्वारीको समापन ‘फह्रार’ गरे । आइतबार रोटी, पुरी तथा फलफूल चढाएर पूजा गरेका पुरुषहरूले सोमबार भात र तरकारी चढाएर पूजा गरेपछि फह्रार गरेका हुन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ का ७५ वर्षीय तिलाराम थारूका लागि अट्वारी केवल एउटा पर्व होइन, पुस्तौँदेखि चलिआएको सम्बन्धको एउटा सुन्दर सेतु हो । “अट्वारी एउटा धार्मिक पर्व मात्र होइन, दिदीभाइ तथा दाजुबहिनीको सम्बन्ध अझ प्रगाढ गराउने पर्व हो,” तिलाराम भन्छन् । पछिल्लो समय धेरैले अट्वारीको ब्रत बस्न छाडेपनि आफू बचपनदेखि हाल सम्म प्रत्येक वर्ष अटुवारीको ब्रत बस्दै आएको उनले बताए ।

उनका अनुसार आइतबार पूजा गरिने रोटी–पुरी र सोमबार पूजा गरिने भात–तरकारीबाट पूजा गर्ने बेलामै एउटा भाग दिदीबहिनीका लागि छुट्याउने चलन छ । त्यही भागलाई अग्रासन अर्थात् कोसेली बनाएर सोमबार विवाहित दिदीबहिनीको घर पु¥याउने गरिन्छ । अग्रासनमा केवल खाना हुँदैन, त्यसमा माइतीको सम्झना, दाजुभाइको माया र चेलीप्रतिको सम्मान मिसिएको हुन्छ ।

कोहलपुर–१२ का ४६ वर्षीय हरिराम चौधरी सोमबार बिहान मोटरसाइकलको पछाडि बाँसको छिट्वा बाँधेर बहिनीको घरतर्फ लागिरहेका थिए । छिट्वाभित्र थिए—अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियाललगायतका परिकार । उनी हतारमा थिएनन्, बरु एउटा पुरानो संस्कार पूरा गर्न पाएको सन्तुष्टिमा थिए । “पहिले आफ्नो सवारी साधन नहुँदा अग्रासनको छिट्वा आफैँ बोकेर पनि गइन्थ्यो, अहिले आफ्नै तरिकाले गइन्छ,” हरिरामले भने ।

उनका अनुसार पहिले यातायातका साधन सहज थिएनन् । त्यसैले अट्वारीको दोस्रो दिन चेलीबेटीको घर अग्रासन पु¥याउन पैदल जाने दाजुभाइको बाटोमा निकै भीड हुन्थ्यो । गाउँका बाटाहरूमा छिट्वा बोकेर हिँड्ने दाजुभाइको लस्कर देखिन्थ्यो ।

“पहिले अट्वारीको रौनक नै अर्कै हुन्थ्यो । अहिले सबै जना आ–आफ्नै सवारीसाधनमा जाने भएकाले बाटोमा देखिने त्यो भीड र चहलपहल केही घटेको महसुस हुन्छ,” उनले अनुभव सुनाए । हरिराम मात्र होइन, दाङदेखि बाँके, बर्दिया हुँदै पश्चिम नेपालका थारु बस्तीहरूमा सोमबार यस्तै दृश्य देखिन्थ्यो । कतै दाजुभाइ अग्रासन लिएर बहिनीको घरतर्फ लागिरहेका थिए, कतै विवाहित चेलीहरू माइतीबाट आउने कोसेलीको प्रतीक्षामा थिए ।

अट्वारीमा दाजुभाइले लिएर आउने अग्रासनको छुट्टै महत्व हुन्छ । विवाहित चेलीहरू माइतीको घरबाट आउने त्यो कोसेलीको प्रतीक्षामा बस्ने गर्छन् । नेपालगन्ज–१० आदर्शनगरकी रत्ना चौधरीका लागि माइतीले पठाएको अग्रासनमा स्वादभन्दा बढी माया हुन्छ ।

“अन्य चाडबाडमा माइती गएर खाएको खानाभन्दा दाजुभाइले घरमै ल्याइदिएको परिकारको महत्व नै छुट्टै हुन्छ,” रत्नाले भनिन् ।
सधैँ आफ्नो काममा व्यस्त रहने दाजुभाइ पनि अट्वारीको अवसरमा समय निकालेर दिदीबहिनीको घरमा पुग्ने भएकाले यो पर्वले पारिवारिक सम्बन्धलाई अझ नजिक ल्याउने उनको अनुभव छ ।

“दाजुभाइ घरमा आउँदा सुख–दुःखका कुरा साटासाट हुन्छन् । मिठो परिकार खाने र आफूले पनि खुवाउने अवसर मिल्छ,” उनले भनिन् । थारु समुदायले कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार अट्वारी मनाउने गर्छन् । थारु संस्कृतिका जानकार राप्ती सोनारी–३, बनघुस्रीका तुलसीराम थारूका अनुसार आइतबार मनाइने भएकाले नै पर्वको नाम ‘अट्वारी’ रहन गएको मान्यता छ ।

अट्वारीको अघिल्लो दिन अर्थात् शनिबार राति दर खाने गरिन्छ । त्यसपछि आइतबार आधा दिनसम्म व्रत बस्ने परम्परा छ । व्रतपछि पूजा गरिन्छ र पूजा सम्पन्न भएपछि फलफूल मात्र खाने चलन रहेको तुलसीराम बताउँछन्। सूर्यास्तपछि भने खानपान पूर्णरूपमा बन्द गरिन्छ ।

भोलिपल्ट सोमबार बिहानै पूजापाठ अर्थात् फह्रार गरिन्छ । विभिन्न परिकार तयार पारिन्छन् । ती परिकारलाई दुई भागमा छुट्याइन्छ । एउटा भाग व्रतालुहरूले ग्रहण गर्छन् भने अर्को भाग विवाहित दिदीबहिनीका लागि अग्रासनका रूपमा छुट्याइन्छ ।
फह्रारपछि दाजुभाइहरू अग्रासन बोकेर चेलीबेटीको घर जाने गर्छन् ।

विवाहित चेलीबेटीले माइतीबाट आएको अग्रासन ग्रहण गर्छन् । परिकारको पोको लिएर पुगेका दाजुभाइलाई चेलीबेटीले मान–सम्मान गर्ने र सकेसम्म मिठो–चोखो खुवाएर पठाउने परम्परा पनि थारु समुदायमा छ । तर पछिल्लो समय यो सुन्दर चलन विस्तारै कमजोर हुँदै गएकोप्रति संस्कृतिका जानकारहरू चिन्तित छन् । थारु संस्कृती अनुसन्धाता शेखर दहितले थारु समुदायले मनाउने गुरही, अष्टिम्की, अट्वारीलगायतका केही पर्व रहेको तर यी पर्व नयाँ पुस्ताले मनाउन छाडेको बताए ।

अट्वारीको धार्मिक र सांस्कृतिक पक्षसँगै पौराणिक कथा पनि जोडिएको छ । थारु समुदायले महाभारतका पाँच पाण्डवमध्ये माइलो भाइ भीमलाई ‘भेवा’का रूपमा पूजा गर्ने गर्छन् । थारु समुदायमा प्रचलित एउटा किंवदन्तीअनुसार कुनै समय तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाएको थियो। मानिसलाई दुःख दिने र चेलीबेटीमाथि जबर्जस्ती गर्ने काम भइरहेको थियो।

त्यही समयमा भीम तराई क्षेत्रमा आएका थिए । उनले त्यहाँको अवस्था देखेपछि मानिसलाई त्यसबाट मुक्ति दिलाएको विश्वास गरिन्छ। त्यही कथालाई आधार मानेर अट्वारीमा भीमको पूजा गर्ने गरिएको बताइन्छ । अर्को किंवदन्ती राजा दङ्गीशरण र पाँच पाण्डवसँग जोडिन्छ । कथाअनुसार द्रौपदीसहित पाँच पाण्डव सुर्खेतको काँक्रेविहार घुम्न पुगेका बेला दाङका थारु राजा दङ्गीशरणसँग उनीहरूको घनिष्ठ सम्बन्ध बनेको थियो । एकपटक भीम रोटी पकाइरहेका बेला राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर आयो ।

बलवान् भीमले तावामा रोटी हालेर सहयोगका लागि दौडिए । उनी युद्धमा गएपछि गाउँका मानिसहरूले तावामा रहेको रोटी पल्टाउने प्रयास गरे, तर सकेनन्। भीमले राजा दङ्गीशरणलाई सहयोग गरेर फर्किएपछि मात्रै तावामा रहेको रोटी झिकेको कथन छ ।

राजा दङ्गीशरणलाई सहयोग गरेको दिन आइतबार परेको र त्यही घटनाको सम्झनामा आइतबार अट्वारी मनाउने परम्परा बसेको थारु संस्कृतिका जानकार तुलसीराम थारु बताउँछन् । अर्को मान्यताअनुसार भीमले रोटी पकाउँदै गर्दा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गर्न लागेको खबर पाएपछि तावामा रोटी छाडेर भोकै र पानीसमेत नखाई युद्धमा पुगेका थिए । उनले शत्रुलाई पराजित गर्न सफल भएपछि त्यसैको विजयोत्सवका रूपमा अट्वारी मनाउन थालिएको विश्वास गरिन्छ ।

त्यही भएर थारु समुदायका पुरुषहरूले अट्वारीमा पानीसमेत नखाई व्रत बस्ने र भीमजस्तै बलवान् तथा साहसी बन्ने कामना गर्ने गरेको पाइन्छ । अट्वारीको रोटीमा स्वाद छ, अग्रासनमा कोसेली छ, व्रतमा आस्था छ र भीमको कथामा साहस छ । तर यी सबैभन्दा माथि अट्वारीमा एउटा कुरा छ—दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध ।

समयसँगै जीवनशैली फेरिएको छ । गाउँका बाटाहरूमा छिट्वा बोकेर हिँड्ने दाजुभाइको लस्कर घटेको छ । सवारीसाधनले यात्रा सहज बनाएको छ। बजारमा सबैथोक किन्न पाइन्छ । तर माइतीबाट आएको अग्रासनको मूल्य बजारको कुनै सामानसँग तुलना हुन सक्दैन ।

किनकि त्यसमा दिदीबहिनीलाई सम्झिएको एउटा मन हुन्छ । अट्वारी यही सम्बन्धलाई पुस्तौँदेखि बचाउँदै आएको पर्व हो—जहाँ दाजुभाइले चेलीको घरमा परिकार मात्र पु¥याउँदैनन्, माइतीको माया पनि पु¥याउँछन् । जहाँ चेलीले कोसेली मात्र ग्रहण गर्दिनन्, आफ्नो माइती अझै उस्तै आत्मीय छ भन्ने अनुभूति पनि सँगाल्छिन् ।

दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत थारु समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा अट्वारी आज पनि श्रद्धा र उल्लासका साथ मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?