Butwal Today

शान्तिको सन्देश बोकेर हजारौं माइल पैदल यात्रा गर्ने बौद्ध भिक्षुहरु बुद्ध जन्मस्थल लुम्बिनीमा

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल। शान्ति र सचेतनाको सन्देश फैलाउँदै अमेरिकाभर हजारौं माइल पैदल यात्रा गरेका बौद्ध भिक्षुहरूको टोली आइतबार बेलुका नेपालको लुम्बिनी आइपुगेको छ।

भिक्षु पन्नाकारा नेतृत्वको टोलीसँगै अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि सहभागी छ। पन्नाकाराले सन् २०२२ मा भारत र नेपाल हुँदै ३ हजार ४०० किलोमिटर लामो तीर्थयात्रा पूरा गरिसकेका थिए। सोही यात्राका क्रममा सो सामुदायिक कुकुर भारतको कलकतादेखि बोधगया जाने क्रममा जोडिएको थियो।

अलोका नाम दिइएको कुकुरसमेतको सहभागितामा भिक्षुहरूले अमेरिकाको फोर्ट वर्थ, टेक्सास, वासिङ्टन डीसीसहितका १० भन्दा बढी राज्यहरुमा  को ‘वाक फर पिस’ (शान्ति पदयात्रा) गरिसकेका छन्। यस्तै श्रीलंका र थाइल्याण्डको यात्रा पूरा गरेर गत सोमबार भारत आइपुगेको टोली आइतबार दिउसो रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको हो।

बुद्ध जन्मस्थल लुम्बिनीमा पन्नाकारासहितको टोलीलाई लुम्बिनी विकास कोष, अन्तरराष्ट्रिय भिक्षु महासंघ र लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्वागत गरे।

आफ्नो अभियानबारे बोल्दै भिक्षु पन्नाकाराले भने, “यदि हामी केही सुस्त गतिमा अघि बढ्यौं भने शान्ति भेट्नेछौं। यदि हामीले आफ्नै अन्तरमनमा हेर्न सक्यौं भने पनि शान्ति पाउनेछौं।”

बौद्ध भिक्षु बन्नुअघि इन्जिनियर रहेका उनले आफ्नो जीवनमा आएको परिवर्तनबारे भने, ‘इन्जिनियरबाट बौद्ध भिक्षु बन्नु मेरो जीवनको पूर्ण परिवर्तन थियो। पैसा कमाउने व्यस्त जीवनबाट म सेवा, बुद्धका शिक्षाको अभ्यास र शान्तिको सन्देश फैलाउने यात्रामा आएको छु। सबै कुरा बदलिएको छ।’

उनका अनुसार भिक्षुहरूका लागि ‘वाक फर पिस’ विभिन्न देश र समुदाय हुँदै पैदल गरिने आध्यात्मिक अभियान हो।

 

 

शान्तिको बाटो रोजेको एक सामुदायिक कुकुर

सन् २०२२ मा एउटा फुस्रो र अस्तव्यस्त देखिने भारतीय परिया जातको कुकुर भारतका सडकहरूमा नामविहीन कुकुरका रूपमा भौंतारिरहेको थियो। भारतको कलकत्तादेखि बोधगया जानेक्रममा यो कुकुर पछि लागेको थियो। ११२ दिन लामो यात्राको छैटौं दिन थियो। यात्राका क्रममा विभिन्न स्थानमा धेरै कुकुरहरू भिक्षुहरूको पछि लागेका थिए, तर केही दिनमै अधिकांश छुट्दै गए।

‘हामीसँग अन्तिमसम्म बसिरहने एक मात्र कुकुर अलोका थियो,’-पन्नाकाराले भने। बोधगयामा यात्रा समाप्त भएपछि उनले अलोकालाई अमेरिकासम्म लैजाने निर्णय गरेका थिए। त्यसयता अलोका भिक्षुहरूसँगै श्रीलंका, थाइल्यान्ड र अहिले भारतसम्म यात्रा पूरा गरिसकेको छ।

उसको जीवनले अप्रत्याशित मोड तब लियो, जब उसले शान्ति तीर्थयात्रामा निस्किएको बौद्ध भिक्षुहरूको समूह भेट्टायो।

उसको कुनै घर थिएन, मानिसहरूमाथि विश्वास गर्ने कुनै कारण पनि थिएन। तर त्यो असाधारण कुकुरले एउटा अनौठो निर्णय गर्‍यो, उसले भिक्षुहरूलाई पछ्याउन थाल्यो।

गाडीले ठक्कर दिएर गम्भीर रूपमा बिरामी पर्दा पनि उसले भिक्षुहरूलाई छोडेन। बारम्बार भिक्षुहरुलाई भेटिरह्यो। यस्तो लगाव देखेपछि भिक्षुहरूले उसलाई अपनाए र अलोका’ नाम दिए। पाली भाषामा अलोका को अर्थ ‘प्रकाश’ वा ‘उज्यालो’ भन्ने हुन्छ।

अलोकाको भूमिकाबारे पन्नाकाराले भने, ‘हाम्रो यात्राका क्रममा मानिसहरूले मानव र जनावर फरक ढंगले पनि सँगै बाँच्न सक्छन् भन्ने देखे। त्यसबाट हामीले एकअर्कासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा बुझ्न मद्दत भयो।’

उनले थपे, ‘मायालु भावना र करुणाको कुनै सीमा हुँदैन। त्यसैले सबै जीवित प्राणीहरू राम्रो जीवनका हकदार छन्।’ पन्नाकाराको भनाइमा करुणापूर्ण समाज निर्माण गर्ने जिम्मेवारी सरकारको मात्र होइन, नागरिकहरूको पनि हो।

पछि उनीहरूले अलोकालाई आफ्नो साथमा अमेरिकासमेत लगे। एक समय भारतका सडकमा भौतारिने त्यो बेवारिसे कुकुर क्रमशः शान्ति, करुणा र सहअस्तित्वको सन्देश बोकेको अन्तर्राष्ट्रिय प्रतीकमा रूपान्तरण भयो।

‘अलोकाको कथा केवल एउटा कुकुरको उद्धारको कथा मात्र होइन, यो विश्वास, निष्ठा, करुणा र मानिस तथा जनावरबीचको असाधारण सम्बन्धको कथा पनि हो’-पन्नाकाराले भन्छन्-‘एउटा सडक कुकुरले आफैंले रोजेको त्यो बाटो अन्ततः उसलाई विश्वभर चिनिने ‘शान्तिको दूत’ बनाउने यात्रामा परिणत भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?