© २०२३
चन्द्रौटा, २३ जेठ ।
बिहानको सूर्य झुल्किन नपाउँदै कपिलवस्तु कृष्णनगरको गल्लीबाट एउटै व्यक्ति फूलको भारी बोकेर निस्कन्छन्, मोहन सोनिका । घाम, पानी, धुलो, हिलोको प्रवाह नगरी उनी दिनभर पैदल हिँडेर कपिलवस्तुका गाउँ–बस्ती डुल्छन् । तर उनी बेच्ने फूल अलि फरक छन्, यी फूलले सुगन्ध होइन, जीवन धान्ने सङ्घर्षको गन्ध बोकेका छन् । कोही पचाउनका लागि पैदल यात्रा गर्दछन् भने कोही जीवन निर्वाहका लागि । सोही भने जस्तै उनी भने लामो यात्राको क्रममा मंगलबार विजयनगर गाउँपालिकाको वडा नम्बर–४, मिजिनियामा भेटिए जीवन निर्वाहका लागि । फूलका भारीसँगै पसिनाले भिजिएका कपडामा परिवार पाल्ने सपना बोकेका उनी यात्रा तय गरेका छन् ।
भारतदेखि नेपालसम्मको यात्रामा बोकेको सपना
मोहनको घर भारतको मीर्जापुरमा हो । दुई वर्षअघि रोजगारीको खोजीमा नेपाल आएका उनी अहिले जिल्लाको कृष्णनगरमा डेरा लिएर बस्दै आएका छन् । “सुरुमा काम पाइन्छ कि भन्ने लाग्थ्यो, पछि आफैं केही गर्नुपर्छ भन्ने सोच आयो” उनी भन्छन् । सोनिकाले भारतमै बनाइएका विभिन्न रङ्ग र डिजाइनका कपडाका आकर्षक फूलहरू ल्याएर गाउँ–टोल डुल्दै बेच्ने गरेका छन् । खास गरी पूजापाठ, विवाह, तिहार जस्ता चाडपर्वमा उनी बेच्ने फूलहरू स्थानीयले सजावटका लागि प्रयोग गर्छन् ।
आत्मसम्मानका फूलहरू
उनका लागि यी फूल व्यापारको साधन मात्रै होइनन्, आत्मसम्मानका आधार पनि हुन् । “मेरो काम सानो होला, तर इमानदारी ठुलो छ” उनी गर्वका साथ भन्छन् । सोनिका सीमापारीको एउटा जीवित उदाहरण हुन्, जसले मेहनत र दृढताले राष्ट्रको सीमालाई होइन, सङ्घर्षलाई जित्न सक्छ । उनको कथा धेरैका लागि प्रेरणादायक बन्न सक्छ—जुन साधारण देखिन्छ तर असाधारण अर्थ बोकेको छ । फूलले उनको दैनिकी सहज बनाएको सोनिकाको भनाइ छ । फूल उनको जीवनको आधार बनेको छ ।
परिश्रमले चलाउँछ परिवार
सोनिकाले भने: “म बेच्ने यी फूल सस्ता छन् । तर यसले मेरो भारतको तीन जनाको परिवारको पेट पाल्छ ।” दैनिक १०–१५ किलोमिटर पैदल यात्रा गर्ने उनी गाउँलेहरूसँग आत्मीयता बनाउँदै व्यापार गर्छन् । नुन–तेल, भाडा र छोराछोरीको पढाइ सबै यही आम्दानीले चलेको छ । उनले दैनिक करिब २० देखि ५० वटा सम्म फूलहरू बेचेर ५ हजार आम्दानी गरी दैनिक गुजारा समेत चलाएका छन् ।