Butwal Today

सुनितालाई घरमै नागरिकता

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

पर्वत ।  जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् ।

चौबिसै घण्टा बिस्तारा मै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।

कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरूलाई नागरिकता जस्तो महत्त्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोल्ने कुनै उपायसमेत नभएको बताए ।

नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताए ।

जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उनले पूर्ण रूपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताए । खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रूपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताए ।

सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रूपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठिकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिँदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताए। नागरिकता बनेसँगै अब नियमित वडा कार्यालय भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?