© 2026
वालिङ (स्याङ्जा) । पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ ।
यहाँ स्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताका घरघरमा राहादानी पुर्याउन थालेपछि हुलाकसँग स्याङ्जावासीको विश्वास बढेको हो ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यक्रमअन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने र हुलाक कार्यालयमार्फत घरदैलोमै राहदानीलगायत अन्य जनताका आवश्यक कागजात पुर्याउन थालिएको स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरुप्रसाद मरासिनीले जानकारी दिए ।
हुलाकको यो सेवा सरल, सहज र सर्वसुलभ भएकाले पछिल्लो समय हुलाकप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ हल्लेखोलाकी मञ्जु रानामगर, हरिनास गाउँपालिका–१ सालडाँडाकी भविसरा थापा, अर्जुनचौपारी गाउँपालिका–१ का खुतबहादुर क्षेत्रीले केही दिनअघि हुलाकका कर्मचारीमार्फत घरमै राहदानी पाउँदा खुसी लागेको बताए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला हुलाक कार्यालय स्याङ्जाबीच वैशाख २८ गते सेवाग्राहीका घरमै पुगी सेवाग्राहीलाई राहादानी हातमा नै दिने सम्झौता भएको थियो ।