Butwal Today

स्कुल बसको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक जना घाइते र एक जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुनुवा चोकस्थित जितपुर–तौलिहवा सडकखण्डमा स्काई लार्क बोर्डिङ स्कूलको बसले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले सोमबार साँझ करिब ४ः५५ बजे स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा घटना भएको हो । उनका अनुसार ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्कूल बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार स्थानिय ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मुसलमानलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पु¥याइएको थियो । अस्पतालका चिकित्सकले साँझ ५ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय मजर हुसेन घाइते भएका छन् । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको छ । जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भैरहवा रिफर गरिएको निरीक्षक ढकालले जनाए । दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बस चालक बाणगंगा नगरपालिका–११ निवासी ३१ वर्षीय गोविन्द थारुलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?