© 2026
लमही । देउखुरी क्षेत्रमा खेतीपाती सुरु भएको छ । रोपाइँ सुरु हुन लाग्दा युरिया मलको अभावले किसानहरू चिन्तित बनेका छन् ।
धान, मकै तथा तरकारी खेतीका लागि अत्यावश्यक मानिने युरिया मल सहज रूपमा उपलब्ध नभएपछि किसानहरू खेतबारीको तयारीमै अन्योलमा परेका छन् ।
सहकारी संस्था मार्फत वितरण हुने रासायनिक मलमा सहकारीका शेयर सदस्यलाई प्राथमिकता दिइँदा सामान्य किसानले समयमै मल पाउन नसकेको गुनासो बढ्दै गएको छ ।
दाङकै उर्वरा क्षेत्रका रूपमा परिचित देउखुरीमा अहिले वर्षा यामको खेतीको तयारी तीव्र रूपमा चलिरहेको छ । कतै रोपाइँ ,कतै खेत जोत्ने देखि बीउ राख्ने तयारी भइरहेका बेला किसानहरू मल खोज्दै सहकारी र बिक्री केन्द्र धाउन बाध्य छन् ।
तर अधिकांश स्थानमा मागअनुसार आपूर्ति नहुँदा किसान निराश बनेको कृषि सामाग्री कम्पनी लिमिटेड लमहीले जनाएको छ । कम्पनी सीमित मात्रा मल आउने तर सहकारीहरूको माग धेरैले हुने हुँदा माग बमोजिम उपलब्ध गराउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दाङ प्रमुख डेबिट हमाल बताउँछन् । उनले मल सहकारी केन्द्रित भन्दा वडागत रूपमा समान रूपले वितरण हुने बताए ।
स्थानीय किसानहरूका अनुसार सहकारी संस्थाले पहिले आफ्ना शेयर सदस्यलाई मल वितरण गर्ने र बाँकी भए मात्र अन्य किसानलाई दिने व्यवस्था गरेका कारण धेरै किसान मलविहीन बनेका छन् । “हामी वर्षौँदेखि खेती गर्दै आएका छौँ, तर सहकारीको सदस्य नभएको कारण मल पाइएन,” एक किसानले गुनासो गरे । “खेती गर्ने समय बित्दै जाँदा मल नपाए उत्पादन नै घट्ने डर छ ।” कृषि विज्ञहरूका अनुसार युरिया मल बालीको वृद्धि र उत्पादनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
धान तथा मकैको प्रारम्भिक वृद्धि चरणमा आवश्यक मात्रामा युरिया प्रयोग गर्न नसकिए उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ । समयमा मल नपाउँदा बालीको वृद्धि कमजोर हुने, उत्पादन घट्ने र किसानको लागतसमेत बढ्ने जोखिम रहन्छ ।
देउखुरीका किसानहरू अहिले यही समस्याबाट गुज्रिरहेका छन् । कतिपय किसानले निजी व्यापारीबाट महँगो मूल्यमा मल खरिद गर्न खोजे पनि पर्याप्त मात्रा उपलब्ध नभएको बताएका छन् । यसले कृषि उत्पादन लागत बढाउने मात्र होइन, कृषि पेसाप्रति किसानको निराशा पनि बढाउने खतरा देखिएको छ ।
रासायनिक मलको अभाव नयाँ समस्या भने होइन । प्रत्येक खेती सिजनमा किसानहरूले मल अभावको समस्या भोग्दै आएका छन्। सरकारले समयमै मल खरिद र वितरणको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा समस्या समाधान हुन सकेको छैन ।
कृषि सामाग्री कम्पनी लिमिटेड दाङका प्रमुख हमालले मल रसियाबाट आउने अहिले युक्रेन रसिया युद्धका कारण नयाँ मल आयात नभएको बताए । यद्यपि दाङमा मलको मौज्दात रहेको बताए ।
जसमा युरिया ८ सय ५६ मेटिक टन, डिएपी ७ हजार ५ सय ८५ मेटिक टन र पोटास ९९.८५ मेटिक टन रहेको बताउँदै कम्पनीले ३ वटा जिल्ला दाङ, रुकुम र रोल्पा वितरण गर्ने बताए ।
हमालका अनुसार मलको माग, आपूर्ति र वितरण प्रणालीबिच उचित समन्वय नहुँदा यस्तो अवस्था दोहोरिने गरेको बताउँछन् । सहकारी केन्द्रित वितरण प्रणालीले पहुँच भएका किसानलाई केही सहज भए पनि सदस्य नभएका किसानलाई समस्या थपिएको देखिन्छ ।
किसानहरूले मल वितरणमा समान अवसर सुनिश्चित गर्न माग गरेका छन् । कृषि उत्पादन गर्ने सबै किसानले आवश्यकता अनुसार मल पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । सहकारी सदस्यता नभएको आधारमा मल वितरणबाट वञ्चित गर्नु न्यायोचित नहुने किसानहरूको तर्क छ ।
स्थानीय कृषक अगुवाहरूले खेतीको संवेदनशील समयमा मल अभाव हुनु कृषि क्षेत्रका लागि गम्भीर चुनौती भएको बताउँदै तत्काल थप मल आपूर्ति गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । कृषि उत्पादन बढाउने सरकारी लक्ष्य सफल बनाउन किसानलाई आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउनु अपरिहार्य छ ।
देउखुरीमा देखिएको युरिया मल अभावले खेतीपाती प्रभावित हुने सङ्केत देखिएकाले सम्बन्धित निकायले तत्काल आपूर्ति व्यवस्थापन, निष्पक्ष वितरण र अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।
किसानका लागि खेती गर्ने समय नै सबैभन्दा मूल्यवान् हुन्छ। यही समयमा मलको अभाव हुँदा उत्पादन घट्नुका साथै किसानको श्रम र लगानी जोखिममा पर्छ । त्यसैले मलको सहज उपलब्धता सुनिश्चित गर्नु केवल कृषि व्यवस्थापनको विषय मात्र नभई खाद्य सुरक्षा र किसानको जीविकासँग जोडिएको महत्त्वपूर्ण सवाल पनि हो ।