© 2026
सुनवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले श्रीमती बोकेर बुटवलबाट फर्किँदै गर्दा सरकारी गाडी दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउसो सुनवल १२ हरकट्टामा गाउँपालिकाको स्र्कापियो गाडी विपरीत दिशाबाट आइरहेको ट्रक सँग ठोक्किएको थियो ।
सुस्ता गाउँपालिकाको प्र ०१–००१ झ ००६९ नम्बरको स्र्कापियो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र ०३–००१ ख ४८१९ नम्बरको ट्रकसँग ठोकिएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाउँपालिकाका चालकलाई सामान्य चोट लागेको छ भने अन्य सकुसल छन् ।
उक्त गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय भुषालकी श्रीमतीले एलएवीको परीक्षा दिएर बुटवलबाट फकिँदै गर्दा दुर्घटनामा परेको हो ।
सरकारले सुशासनका कुरा गरिरहँदा यता भने सुस्तामा हाकिम श्रीमती बोकेर सरकारी गाडीमा बेजिल्ला डुल्दै थिए ।
लामो समय देखि सुस्तामा कार्यरत भुसालले विगतमा पनि सरकारी गाडीको दुरुपयोग गर्ने गरेको स्थानीयले गुनासो गरे ।
बिदाको समयमा समेत हाकिमले सरकारी गाडी लिएर हिँड्ने गरेको र खुलेआम सरकारी गाडीको दुरुपयोग हुँदा गाउँपालिका अध्यक्ष भने रोक्न नसकेको गाउँपालिका स्रोत बताउँछ ।