Butwal Today

मातृ–शिशु स्वास्थ्यको धरोहर: सिद्धार्थ बाल तथा महिला अस्पताल

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । पश्चिम नेपालको स्वास्थ्य सेवाको इतिहास पल्टाउँदा केही संस्थाहरू केवल अस्पतालका रूपमा मात्र होइन, भरोसा, संवेदना र मानवीय सेवाको प्रतीकका रूपमा उभिएका देखिन्छन् ।

त्यस्तै संस्थामध्ये अग्रपङ्क्तिमा पर्छ – सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) । दुई दशकभन्दा बढी समयदेखि हजारौँ आमा, नवजात शिशु र बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यो अस्पताल आज लुम्बिनी प्रदेशकै मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रमुख केन्द्र बनेको छ ।

वि.सं. २०५५ मा स्थापना भएको अस्पतालले २७ वर्षको यात्रामा उपचार सेवा मात्र विस्तार गरेको छैन, पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रमा एउटा नयाँ अध्याय रचेको छ । राजधानी काठमाडौँ बाहिर स्थापना भएको नेपालकै पहिलो विशिष्टीकृत बाल तथा महिला अस्पतालका रूपमा यसले विशेष पहिचान बनाएको छ ।

नेपाल–जापान मित्रताको प्रतीक, सार्वजनिक–निजी साझेदारी (पीपीपी) को सफल नमुना तथा मानवीय सेवाको जीवन्त उदाहरणका रूपमा अस्पतालले समाजमा गहिरो विश्वास निर्माण गरेको छ ।

करुणाबाट जन्मिएको अस्पताल
सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना एउटा संवेदनशील अन्तर्राष्ट्रिय घटनासँग जोडिएको छ । सन् १९९५ मा जापानको कोबे सहरमा आएको विनाशकारी ‘ग्रेट हानसिन अवाजी’ महाभूकम्पपछि उद्धार तथा उपचारमा जापानमा अध्ययनरत नेपाली चिकित्सा विद्यार्थीहरूले उल्लेखनीय भूमिका खेलेका थिए । उनीहरूको निःस्वार्थ सेवाबाट प्रभावित भएर हजारौँ जापानी नागरिकले नेपालमा बाल तथा महिला अस्पताल निर्माणका लागि सहयोग जुटाए ।

त्यसबेला जापानको प्रतिष्ठित दैनिक माइनिची सिम्बोनले “म बाँच्न चाहन्छु हिमालयको फेदीबाट” शीर्षकमा विशेष अभियान नै सञ्चालन गरेको थियो । करिब १० हजार जापानी नागरिकबाट सङ्कलित सहयोगलाई आम्दा इन्टरनेशनल जापानले समन्वय गरी नेपालमा अस्पताल निर्माणको आधार तयार ग¥यो ।

त्यतिबेला पश्चिम नेपालमा मातृ तथा शिशु स्वास्थ्य सेवा अत्यन्त कमजोर अवस्थामा थियो । जटिल प्रसूति, नवजात शिशु समस्या वा बालरोग उपचारका लागि बिरामीलाई काठमाडौँ वा भारतसम्म धाउनुपर्ने बाध्यता थियो । यही अभावलाई सम्बोधन गर्न आम्दा नेपाल, बुटवल नगरपालिका र उद्योग वाणिज्य सङ्घको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत अस्पताल स्थापना गरिएको हो ।

लुम्बिनी नजिकै रहेको यस अस्पतालको नाम भगवान गौतम बुद्धको बाल्यकालीन नाम “सिद्धार्थ” बाट राखिएको हो । त्यसैले अस्पतालले आफ्नो सेवामा शान्ति, करुणा र मानवताको भावनालाई मूल दर्शनका रूपमा आत्मसात् गरेको छ ।

“आज यो पश्चिम नेपालकै भरोसाको केन्द्र बनेको छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुली अस्पतालको यात्रालाई सम्झँदै भन्छन्, “हामीले सेवा सुरु गर्दा पश्चिम नेपालमा बाल तथा मातृ मृत्युदर निकै भयावह थियो । काठमाडौँ बाहिर विशिष्टीकृत सेवा दिनु आफैँमा चुनौतीपूर्ण थियो । तर २७ वर्षमा हामीले हजारौँ जटिल प्रसूति र सिकिस्त बालबालिकाको सफल उपचार गर्दै नयाँ जीवन दिन सफल भएका छौँ । अहिले यो अस्पताल पश्चिम नेपालका दर्जनौँ जिल्ला र भारतका सीमावर्ती क्षेत्रका नागरिकका लागि समेत विश्वसनीय क्षेत्रीय रेफरल सेन्टर बनेको छ ।”

सीमित पूर्वाधारबाट आधुनिक अस्पतालसम्म
सुरुवातमा ५० बेड क्षमताबाट सेवा थालेको अस्पताल अहिले १०० बेडमा विस्तार भइसकेको छ । बुटवल उपमहानगरपालिका–७, दीपनगरस्थित १० बिघा क्षेत्रफलमा फैलिएको अस्पताल अहिले आधुनिक एनआइसीयू, पीआइसीयू, एचडियू, अत्याधुनिक प्रयोगशाला, शल्यक्रिया कक्ष तथा विशेषज्ञ सेवासहित प्रदेशकै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा विकसित भएको छ ।

अस्पतालमा दैनिक ३०० भन्दा बढी बिरामीले ओपिडी सेवा लिन्छन् भने नियमित रूपमा प्रसूति, आकस्मिक उपचार र शल्यक्रिया सेवा सञ्चालन भइरहेका छन् ।

विशेषगरी नवजात शिशु तथा बाल स्वास्थ्य सेवामा अस्पतालले उल्लेखनीय सफलता हासिल गरेको छ । समयपूर्व जन्मिएका, कम तौल भएका वा जटिल अवस्थाका नवजात शिशुका लागि उपलब्ध आधुनिक एनआइसीयू सेवा पश्चिम नेपालकै लागि जीवनदायी बनेको छ । त्यस्तै गम्भीर अवस्थाका बालबालिकाको उपचारका लागि सञ्चालित पीआइसीयू सेवा पनि अस्पतालको अर्को महत्वपूर्ण उपलब्धि हो ।

स्त्री तथा प्रसूति सेवातर्फ सुरक्षित मातृत्व, नियमित गर्भ परीक्षण, सिजेरियन सेवा, जटिल गर्भावस्था व्यवस्थापन तथा स्त्रीरोग शल्यक्रियाजस्ता सेवाहरू उपलब्ध छन् ।

विपन्न मैत्री सेवाको उदाहरण
अस्पतालले सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकता दिएको छ । २० वर्षमुनिका टाइप–वान मधुमेहका बिरामीलाई निःशुल्क औषधीसहित उपचार सेवा उपलब्ध गराइँदै आएको छ । हाल ११५ जना बाल बिरामीले नियमित सेवा लिइरहेका छन् । त्यस्तै थालासेमियाका ३२ जना बिरामीलाई पनि निःशुल्क सेवा प्रदान भइरहेको छ ।

एक समय सुरक्षित मातृत्व सेवाका लागि महिलाहरूलाई काठमाडौँ वा भारत जानुपर्ने बाध्यता रहेको पश्चिम नेपालमा अहिले यही अस्पताल भरोसाको केन्द्र बनेको छ ।

तथ्याङ्कले देखाएको प्रभाव
अस्पतालको उपलब्धि यसको तथ्याङ्कले पनि स्पष्ट देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै ४४ हजार ४ सय ५९ जनाले ओपिडी सेवा लिएका छन् भने १४ हजारभन्दा बढीले आकस्मिक सेवा पाएका छन् । त्यसै गरी ८ हजार ८ सय ३७ बिरामी भर्ना भएका छन् ।

एक वर्षमै १ हजार १ सय ४९ प्रसूति सेवा, ७ सय ८९ बाल शल्यक्रिया तथा १ हजार ६ सय ३५ स्त्री तथा प्रसूति शल्यक्रिया सम्पन्न भएका छन् ।
यी तथ्याङ्कहरूले अस्पतालको प्रभाव केवल बुटवलमा सीमित नभई समग्र पश्चिम नेपालमै फैलिएको पुष्टि गर्छन् ।

उपचारसँगै दक्ष जनशक्ति उत्पादन
सिद्धार्थ बाल तथा महिला अस्पताल उपचार केन्द्र मात्र होइन, स्वास्थ्य शिक्षाको अभ्यास शाला पनि हो । अस्पताल अन्तर्गत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सिटिइभिटीको सम्बन्धनमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी तथा केयर गिभर तालिम सञ्चालन हुँदै आएको छ ।

निजी शिक्षण संस्थाभन्दा ३० प्रतिशत कम शुल्कमा स्वास्थ्य शिक्षा उपलब्ध गराउँदै आएको प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको छ । अस्पताल विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका लागि प्रयोगात्मक शिक्षाको प्रमुख केन्द्र पनि बनेको छ ।

चुनौतीसँग जुध्दै भविष्यतर्फ
उल्लेखनीय उपलब्धिका बाबजुद अस्पतालले आर्थिक स्रोत अभाव, आधुनिक उपकरण व्यवस्थापन र विशेषज्ञ जनशक्ति अभावजस्ता चुनौती सामना गरिरहेको छ ।

अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्री भन्छन्, “अस्पताल सञ्चालनको मुख्य स्रोत बिरामीबाट प्राप्त हुने न्यूनतम सेवा शुल्क नै हो । नियमित सरकारी वा दातृ सहयोग नहुँदा नयाँ उपकरण खरिद, मर्मत तथा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण बन्छ । तर पनि गुणस्तरीय र विपन्न मैत्री सेवा दिनु हाम्रो प्राथमिकता हो ।”

भविष्यमा अस्पताललाई ३०० बेड क्षमतामा विस्तार गर्ने योजना अघि बढाइएको छ । थप आधुनिक एनआइसीयू तथा पीआइसीयू, सुपर स्पेसियालिटी सेवा, डिजिटल स्वास्थ्य प्रणाली तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अस्पतालले लिएको छ । यसका लागि डिपिआर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सेवा र समर्पणको प्रतीक
२७ वर्षको यात्रामा सिद्धार्थ बाल तथा महिला अस्पतालले केवल उपचार सेवा विस्तार गरेको छैन, हजारौँ परिवारको जीवनमा आशा र भरोसा रोपेको छ । नेपाल–जापान मित्रताको प्रतीकका रूपमा जन्मिएको यो संस्था आज पश्चिम नेपालको मातृ तथा शिशु स्वास्थ्य सेवाको आधार स्तम्भ बनेको छ ।

“स्वस्थ आमा, स्वस्थ बालबालिका र स्वस्थ समाज” निर्माण गर्ने अभियानमा सिद्धार्थ बाल तथा महिला अस्पतालको योगदान आगामी दिनमा अझ प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?