© 2026
भैरहवा। देशका विभिन्न जिल्लामा बाढी–पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले दीप प्रज्वलन गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको अप्रत्याशित बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा संघले सोमबार कार्यालय परिसरमा दीप प्रज्वलन गरेको हो। कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रममा बाढी–पहिरोमा परी घाइते तथा प्रभावित भएकाहरूको तत्काल उद्धार, उपचार तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई सक्रियतापूर्वक जुट्न आग्रह गरिएको थियो। संघका कार्यवाहक अध्यक्ष रमेश बेल्वासेको अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वउपाध्यक्ष एवं लुम्बिनी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका पूर्वकोषाध्यक्ष त्रिभुवनदत्त मिश्र, संघका पूर्वअध्यक्ष तथा सिद्धार्थनगर–७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेलगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा निर्माण व्यवसायीहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारले गरेका थिए।