© 2026
चन्द्रौटा। हरेक दिन जस्तै आज पनि साँझ पर्दै थियो । चोकहरू उज्यालिँदै थिए । तर विगतका दिनभन्दा आज चोकहरू फरक देखिन्थे । ती उज्यालोमा उत्सवको चमक थिएन, पीडाको सम्झना थियो । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै कपिलवस्तुका दर्जनौँ स्थानमा दीप प्रज्वलन गरिएका छन् ।
जिल्लाका दर्जन बढी स्थानमा गरिएको सोमबारका कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । शिवराज नगरपालिकाको चन्द्रौटा, उमरी, शिवपुर, खरेन्द्रपुर, बाणगंगा नगरपालिकाको जीतपुर ४ नम्बर, बैरिया, पिपरा, बनगाई, भलवाड, नन्दनगर यस्तै बुड्ढी, कृष्णनगर, तौलिहवालगायत कपिलवस्तुका मुख्य चोकहरुमा शोक सभा आयोजना गरिएका थिए ।
केही बेरका लागि चोकको चहलपहल रोकियो । मानिसहरू मौन भए । बलेका दीपहरूले एउटा साझा सन्देश दिएको छ–दुःख जहाँको भए पनि पीडा सबैको साझा हो । भोटेकोशीको बाढीले धेरै परिवारबाट आफन्त खोसेको छ । कयौँलाई घाइते बनाएको छ । त्यसको पीडा रसुवामामात्रै सीमित छैन् ।
हिमाल, पहाडदेखि तराईका कपिलवस्तुसम्म आइपुगेको मानवीय संवेदनाले मृतकप्रति श्रद्धा र पीडित परिवारप्रति ऐक्यबद्धतासमेत जनाएका छन् । राहत तथा उद्दारका लागि कपिलवस्तुका दर्जनाँै संघसंस्थाहरुले सहयोग स्वरुप तनमनधन लगाएर अभियानमा जोडिएका छन् ।