© 2026
सिद्धार्थनगर । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार साँझ नेपाल–भारत सीमा बेलहियामा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा अझै सम्पर्कविहीन नागरिकको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ। बेलहियास्थित पर्यटन सूचना केन्द्रअगाडि आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्ज्वलन गर्दै मृतकप्रति मौनधारण गरेका थिए। करिब दुई साताअघि भोटेकोशीमा आएको बाढीमा परी विभिन्न जिल्लाका नागरिकले ज्यान गुमाएका थिए भने केही अझै सम्पर्कविहीन छन्।
कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सीपी श्रेष्ठले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे। उनले विपत्तिमा ज्यान गुमाएका नागरिकका परिवारको पीडाप्रति राज्य गम्भीर हुनुपर्ने बताउँदै राहत, उद्धार र खोजी कार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरे।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बाढी प्रभावित तथा पीडित परिवारलाई सहयोग गर्न विभिन्न तह र तप्काबाट सहयोग जुटिरहेको बताए। राज्यका निकायसँगै विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत सहयोगका लागि पहल भइरहेको उनले जानकारी दिए। श्रद्धाञ्जली कार्यक्रममा रूपन्देहीका होटल व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता थियो।
होटल एशोसिएशन नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपाल, नेपाल–भारत मैत्री संघ, बेलहिया गाउँ समाज र बेलहिया आमा समूहतलगायत विभिन्न संघसंस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय शोक दिवसका दिन बेलहियामा प्रज्ज्वलित दीपले बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्नुका साथै पीडित परिवारप्रतिको ऐक्यबद्धता र बेपत्ताको खोजीप्रतिको सामूहिक चासोलाई समेत उजागर गरेको थियो।