© २०२३
बुटवल, १२ चैत ।
सामान्यतय क्षयरोग (टीबी) वयस्क र किशोर अवस्था र बृद्धउमेर समूहका व्यक्तिलाई लाग्ने गर्दछ । तर पछिल्लो समयमा शिशु अवस्था देखि बाल्य अवस्था र किशोर किशोरीहरूलाई समेत यो रोगको संक्रमण हुने गरेको पाइएको छ ।
१५ वर्षदेखि ५० वर्षका र ५० बर्षदेखि माथि का वृद्धहरूमा क्षयरोगको संक्रमण दर बढि मात्रामा हुने विश्वव्यापी तथ्यांक छ । तर पछिल्लो बर्षहरूमा भने क्षयरोगको संख्या उकालो लाग्दै गर्दा संक्रमण हुने उमेर भने बिस्तारै ओरालो लाग्दै गएको पाइएको छ । यसले निकट भविष्यमा गम्भिर समस्या निम्त्याउने तर्फ संकेत गरेको स्वाथ्यकर्मीहरू बताउँछन् ।
बुटवल उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को तथ्यांक अनुसार शुन्य देखि ४ बर्ष सम्मका बालबालिकामा पनि क्षयरोग देखिएको पाइएको हो । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार नयाँ भेटिएका केशहरूमा ४ बर्ष सम्मका बालबालिका १७ जना देखिएका छन् । यस्तै ५ बर्षदेखि १२ बर्ष उमेर समूहका बालबालिका १२ जना भेटिएका हुन । जुन नयाँ पत्ता लागेका क्षयरोगका विरामीहरूको तथ्यांक हो । जनस्वाथ्य अधिकृत पाण्डेका अनुसार बुटवलमा १५ देखि २४ बर्ष उमेर समूहका ८२ जना, २५ देखि ३४ बर्षका ८५ जना, ३५ देखि ४४ सम्मका ५९ जना, ४५ देखि ५४ सम्मका ४६ जना बिरामी नयाँ पत्ता लागेका छन् । यस्तै ५५ देखि ६४ सम्मका ५५ जना, ६५ बर्ष भन्दा माथिका ८७ जना बिरामी नयाँ फेला परेका हुन । बुटवलमा रहेका ४ सय ४३ जना क्षयरोगबाट संक्रमित मानिसहरूको संख्यामा सबैभन्दा बढि पुरुष रहेका छन् । २ सय ५५ जना पुरुष र अन्य महिला रहेका हुन । कमजोर प्रतिरक्षा प्रणाली, इम्युन सिस्टम कमजोर साथै एचआईभी संक्रमण भएका व्यक्तिहरू वा अन्य रोगबाट पीडित व्यक्तिहरूमा पनि यो रोग लाग्ने गरेको छ । धुम्रपान र मद्यपानको बानी भएका मािनसहरूमा टीबीको जोखिमलाई बढाउने गरेको पाईन्छ । तर सो सेवन नै नगर्ने शीशु अवस्था देखि बाल्य अवस्था किशोर अवस्था सम्मका बालबालिका समेत यसको जोखिममा बढ्दै गएका हुन ।
यता बुटवल उप–महानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरू पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडि बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दोबल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो ।बुटवल उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख उपनिर्देशक युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वास्थ्य शिविर आयोजना गरी क्षयरोगीहरूलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको जानकारी दिए । सोमबार विश्व क्षयरोग दिवसको अवसरमा आयोजित सरोकारवालाहरूको अन्तक्र्रिया कार्यक्रममा बोल्दै महाशाखा प्रमुख पाण्डेले निःशुल्क परिक्षण शिविर नै सञ्चालन गरेर काम अगाडि बढाइएको जानकारी दिए । शाखाका जनस्वास्थ्य अधिकृत मिन प्रसाद खनालका अनुसार गत आर्थिक बर्षमा पालिकाले संभावित जोखिम क्षेत्रको पहिचान गरी २१ वटा स्थानमा शिविर आयोजना गरिएको जानकारी दिए । यो बर्ष पनि पालिकाले १२ देखि १३ स्थानमा र आवश्यकता अनुसार थप विस्तार गर्ने गरी योजना बनाइएको जानकारी दिए । यसरी संभावित क्षयरोगको लक्षण भएका विरामीको पहिचान वडा टोलमा रहेका स्वास्थ्य स्वयंसेविका मार्फत पहिचान गरी पालिका भित्र रहेका विभिन्न प्रयोगशाला र प्रादेशिक प्रयोगशालामा समेत परिक्षणको लागि पठाउने गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको स्वाथ्य चौकीमा व्यवस्था गरिएको नेपालकै पहिलो एआई जडित एक्सरेबाट समेत पहिचान गर्ने काम गरिएको नगरपालिकाले जनाएको छ । जसबाट यो बर्ष ३ देखि ५ जना जती विरामी नयाँ पत्ता लागेका थिए ।
बुटवल उपमहानगरपालिकामा क्षयरोग बिरामी उपचार डट्स सेन्टर १३ वटा सम्पूर्ण स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा समेत व्यवस्था गरिएको छ । जटिल खालको विरामीको डिआर सेन्टर भने लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै गरिएको छ ।निदानात्मक सेवा अन्र्तगत माइक्रोस्कोपिक सेन्टर– बुटवल उपमहानगरपालिका अन्तर्गत ८ स्थानमा, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ । जिन एक्सपर्ट सेन्टर लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ । बुटवल उपमहानगरपालिका आर्थिक बर्ष २०८०/८१ मा क्षयरोगीका विरामीहरू कुल ४ सय ४३ जना दर्ता भएका थिए । चालु आर्थिक बर्षको माघ महिना सम्म २ सय ४० जना बिरामी दर्ता भएका छन् । २०८०/८१ मा १३ जना को निधन भएको छ ।
बुटवल उपमहानरपालिकलो क्षयरोग मुक्त अभियान स्वयमसेवकहरूलाई अभिमुखीकरण तथा जोखिम समूहमा परिचालन कार्य गर्दै आएको छ । यस्तै वार्षिक तथा अर्धबार्षिक क्षयरोग समीक्षा तथा कोहर्ट, क्षयरोग समिति वडा समिति गठन अभिमुखीकरण र माइक्रोप्लानिङ्ग, समुदायमा क्षयरोग जोखिम समुहहरूमा क्षयरोग खोजपड्ताल र स्वास्थ्य संस्थाको पहुँचबाट टाढा भएका समूहमा घर दैलो तथा स्किनिङ्ग क्याम्प गर्दै आएको छ । एक्सरे एआई प्रविधिको प्रयोग गरि सम्भावित क्षयरोगको खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको ।प्रत्येक वडामा क्षयरोग मुक्त अभियान स्वयंसेवक रहेको तथा समुदायमा सक्रिय खोजपड्तालका लागि परिचालन गरेको छ भने विपन्न तथा कुपोषित बिरामीहरूलाई पोषण सामाग्री वितरण आ गत बर्ष ३५ जना र आ व २०८१/०८२ मा २३ जना क्षयरोग बिरामीहरूलाई वितरण समेत गरेको छ । रूपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ ।
वि.स.२०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रूपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो । स्वास्थ्य कार्यालय, रूपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच तथा परीक्षण र औषधिको व्यवस्था सरकारले विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।स्वास्थ्य कार्यालय, रूपन्देहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रूपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ कोे साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी ७ सय ७६ जना फेला परेका हुन् । २०८०/०८१ मा फेला परेका २ हजार १२ जना बिरामीमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४ सय ४३, तिलोत्तमा नगरपालिकामा २ सय ७१, सिद्धार्थनगरमा १ सय ७०, सैनामैनामा १ सय ४६, लुम्बिनी सांस्कृतिकमा १ सय २३, देवदहमा १ सय ३९, मायादेवी गाउँपालिकामा १ सय १, कंचनमा ९६, गैडहवामा ८६, ओमसतियामा ८२, शुद्धोधनमा ७७, कोटहीमाईमा ६५, रोहिणीमा ६२, मर्चवारीमा ५३ र सम्मरीमाईमा ५३ जना बिरामी छन् ।
उक्त संख्यामध्ये १ हजार २ सय ३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् । स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधि सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधि सेवन नगर्नाले समस्या बल्झिने धेरै रहेको बताए । ‘६ महिना नियमित उपचार गरे रोग निको हुन्छ’, उनले भने, ‘तर, बीचमै उपचार गर्न छाड्ने प्रवृत्ति धेरै देखिएको छ ।’समयमै पहिचान र नियमित औषधि सेवन तथा उपचार पछि विरामी सहजै निको हुन्छन् । भैरहवाका २० वर्षीया कुशल रिजालले आफूलाई एक वर्ष अघि क्षयरोग भए पनि समयमै पहिचान र उपचार पाउँदा निको भएको बताए । ‘उपचार निःशुल्क हुन्छ, सेवा लिन सहज छ’, उनले भने, ‘त्यसैले रोग लुकाएर बस्नु हुँदैन ।’ उनले रोग देखिए तत्काल उपचार गराउन सुझाव दिए । सरकारले सन् २०५० सम्म क्षयरोग मुक्त नेपाल गराउने लक्ष्य लिएको छ । रूपन्देहीमा क्षयरोगको उपचारका लागि १ सय २२ वटा डट्स केन्द्र, १६ स्थानमा परीक्षणका लागि माइक्रोस्कोपी, २५ स्थानमा प्रयोगशाला उपलब्ध छन् ।