© २०२३
आज ९ अगस्त अर्थात विश्व आदिवासी दिवस । नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरिए अनुसार विश्वभर यो दिवस मनाउने गरिन्छ । आदिवासीहरूको अधिकार हस्तक्षेप नगरौं भन्ने नाराका साथ यो बर्ष आदिवासी दिवस मनाईदैछ । मूल आदिवासीहरू अहिलेपनि अपहेलित जीवन विताउन बाध्य भएका छन् । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन । राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सिमान्तकृत जीवन विताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्रसंघले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । उनीहरूको जीवन अभिबृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भैरहेको बेला सरकारीस्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भैरहेका छन् । खासगरी तल्लोस्तरमा जीवन विताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्व्पूर्ण सवाल र चुनौति पनि हो ।
इतिहासकै कुरा गर्दा पनि आदिवासीले नै विश्वको ढुंगे युगको नेतृत्व गरे । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्व्पूण रहेको छ । नेपालको मात्र होइन विश्वका आदिवासीले इतिहास बनाएका छन । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर समय परिस्थिति त्यो अनुसार चल्ने सकेन् । उनीहरूले पनि आफूहरूलाई सोही अनुसारको विकासमा रूपान्तरण र परिवर्तन गर्न सकेनन् । यो उत्तर अमेरिकी देशहरूको कुरामा मेल खान्छ । नेपालको अवस्था भने त्यस्तो छैन । आदिवासीहरूले समाजका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन । देशको रक्षाको नेतृत्व उनीहरूले गरेका छन । उनीहरूको हैसियत बढेको छ । तर सवै आदिवासी समान हैसियतमा छन भन्ने होइन । नेपालका सिमान्तकृत आदिवासीको जीवनस्तर कमजोर रहेको छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ ।
शिक्षा र स्वास्थ्यमा पहुँच नहुँदा उनीहरूको जीवनले परिवर्तनको गति समात्न सकेको छैन । तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । धेरै काम हुन बाँकी छ । खासगरी जो कमजोर छन । जसको आर्थिक हैसियत कमजोर छ, राज्यको कुनैपनि निकायमा उनीहरूको पहुँच पुगेको छैन । त्यस क्षेत्रमा राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो । मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई आदिवासीहरूको पहिचान, अस्तित्वमा प्रभाव पर्न थालेको छ । आदिवासीहरूको पहिचान र उपस्थिति हरेक क्षेत्रमा घट्दो क्रममा रहेको देखिएको छ । नेपालकै सन्दर्भमा कुरा गर्दा आदिवासीको सवाल पेचिलो बन्दै गएको छ । थारू समुदायले आफूहरू नै तराईका सवैभन्दा पुरानो आदिवासी भएको दावी गर्दै आएका छन् । पहाडमा आदिवासीको परिभाषा नै फरक छ ।
सवैभन्दा सुरूमा बसोबास गरेको समुदायलाई आदिवासी भन्नुपर्ने हो तर नेपालमा पछिल्लोसमय आदिवासीको परिभाषालाई नै बिकृत गराउने प्रवृत्ति हावी भएको छ । बहुजाती, बहुधर्म र बहुसंस्कृति भएको हाम्रो देशका अधिकांश भू–भागमा आदिवासी समुदायहरू छन् । उनीहरूले आफ्नो पहिचान, धर्म संस्कृतिलाई जीवन्त राख्ने काम गर्दै आएका छन् । भूगोल र बसोबास क्षेत्र अनुसार पनि आदिवासीलाई चिनाउने परम्परा पनि छ । पाल्पालाई मगरात, काठमाण्डौंलाई नेवा, तराईमा थारू, कास्कीलाई गुरूङ जातजातिको बसोबासको रूपमा चिनाउने गरिएको छ । पूर्व र पश्चिम क्षेत्रमा पनि बसोबास अनुसार जातजातिको बहुल क्षेत्रको पहिचान छ । आदिवासी जनजातिको पहिचान र अधिकारको कुरा गर्दा अरू जातजातिको गौरव, पहिचान र परम्परा, धर्म संस्कृतिलाई पनि संरक्षण गर्नु उत्तिकै जरुरी छ । आफ्नो अधिकारको वकालत गर्दा अरूको अधिकारमाथि हस्तक्षेप गर्नु हुँदैन । आदिवासी दिवसले यो सन्देश प्रवाह गरोस् ।