© २०२३
आज अंग्रेजी महिना मईको १ तारिख । हरेक बर्ष मई १ को दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । विगतका बर्षहरूमा जस्तै यो बर्षपनि आज श्रमिक दिवस मनाउने औपचारिकता पूरा गरिदैछ । १९ औ शताब्दी अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा ‘हे मार्केट काण्ड’ भएको सम्झनामा मई १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको हो । इतिहासमा उल्लेख गरिए अनुसार यो दिन श्रमिकहरूले दैनिकरूपमा ८ घण्टा काम गर्न आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोष श्रमिकको ज्यान गएको घटनाको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो । आज नेपालका साथै विश्वभरी नै विभिन्न सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । श्रमिक दिवस मनाईरहँदा र श्रमिक अधिकारको कुरा गरिरहँदा अझैपनि श्रमिक अधिकारको सवाल कामभन्दा कुरा भाषणमै सीमित छ । यद्यपि पछिल्लोसमय नेपाली श्रमिक आन्दोलनबाट नीतिगत रूपमा धेरै उपलब्धि प्राप्त भएका छन् तर कानुन कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ । श्रमिक आन्दोलनबाट कानुनीरूपमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बिषयमा भने अहिले ढिलाई भैरहेको छ । निश्चितरूपमा फेरिएको विश्व बजारमा अनौपचारिक र स्वरोजगारको क्षेत्र धेरै ठूलो भएको छ । नेपालमा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटने योजना सुरु भएको छ । यसले श्रमिकको हितमा दिर्घकालीन फाईदा पुयाउँछ भन्दा अत्युक्ति हुँदैन ।
नेपालमा अझैपनि श्रमिकको सम्मान हुन सकेको छैन । श्रमिकलाई दोश्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्ने गरिएको छ । श्रमको सम्मानमात्रै होइन समान ज्याला समेत नपाउने अवस्था छ । श्रमिकमाथि विभेद कायमै छ । तरपनि हामी औपचारिकताकै लागि श्रम दिवस मनाउँछौं । अर्को दुःखद कुरा के छ भने दैनिक २५ सयको हाराहारीमा नेपाली युवा श्रमिक विदेश पलायन हुन बाध्य भैरहेको छ । उनीहरूलाई रोक्नेतर्फ सरकारको खासै पहल देखिदैन । न त कुनै योजना छ जसले नेपालको श्रमलाई बिदेश जानबाट रोक्न सकोस् । फगत श्रमिक दिवस मनाउने र औपचारिकता पूरा गर्ने काम मात्रै भएको छ । नेपालमा न श्रम बजार छ न त संभावना छ । रोजगारीको अभावमा नेपालका युवा श्रमिक खाडीको तातो रापमा रोटी सेकिएझै सेकिन विवस छन । यद्यपि नेपालमा श्रमिकको पक्षमा केही आशा जगाउने काम भएको छ । विदेशमा दुर्घटनामा परेर कामै गर्न नसक्ने अवस्था भयो भने नेपाल फर्केपछि नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम बाँचुन्जेल पेन्सनका रूपमा पाउने व्यवस्था छ । यो श्रमिकका लागि आशा जगाउने कार्यक्रम हो । तर, अझैपनि धेरै काम गर्नु बाँकी छ । वैदेशिक रोजगारका नाममा हुने ठगीबाट अझैपनि हजारौं नेपाली श्रमिक पीडित छन । ठगी नियन्त्रण गर्न तीन तहका सरकार, राजनीतिक दल, वैदेशिक रोजगार व्यवसायी, सचेत नागरिक, स्वयं विदेश जाने श्रमिकबीच एकअर्कामा समन्वय जरुरी छ । अव सरकारले मलेसिया र खाडीको विकल्प खोज्नुपर्छ । यो आवश्यक पनि छ । ती देशमा हाम्रा श्रमिकले न्यूनतम मानव अधिकारबाट समेत वञ्चित हुनु परिरहेको छ । थोरै पारिश्रमिकबाट कठोर श्रम गर्नु परेको छ । तसर्थ आज श्रमिक दिवसकै दिनदेखि नेपाल सरकारले विदेश श्रममा जान बाध्य नेपाली श्रमिकको हक अधिकार स्थापित गर्ने सन्दर्भमा सोँच्न जरुरी छ ।