© २०२३
प्राकृतिक रूपमा उत्पन्न वस्तुको उचित र प्रभावकारी व्यवस्थापन नगर्ने हो भने त्यसले मानव जीवनमा जोखिम निम्त्याउने कुरा हालै वातावरणविज्ञहरूले गरेको अनुसन्धानले पुष्टी गरेको छ । मानवद्वारा सिर्जित अवैध क्रियाकलापका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन आएको विज्ञहरूको ठहर छ । खासगरी प्राकृतिक अवस्थामा रहेका जैविक तथा अजैविक वस्तुहरूको लापरवाहीपूर्वक प्रयोगका कारण वातावरणमा खलल पुगेको छ । जसको असावधानीका कारण चीनको उहानबाट कोरोना भाइरस जस्तो अनेक खालका रोगहरूको उत्पत्ति र संक्रमण फैलिएको वैज्ञानिकहरूले अहिले दावी गरेका छन । प्राकृतिक न्यायको सिद्धान्तले पनि प्रकृतिमा सृष्टि भएका हरेक प्राणीको अस्तित्व समान रहेकोले जीवजन्तुको हिंसा गर्नुहुँदैन । वन्य जीवजन्तुको अनधिकृत उपयोगले पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउँछ र यसको प्रभावकारी उपाय भनेको नै प्राकृतिक वस्तुको व्यवस्थित र दिगो उपयोग हो भन्ने ठहर बैज्ञानिकहरूको छ । नेपालले पनि यो बिषयमा अव गंभीरढंगले बेलैमा ध्यान दिनु जरुरी छ ।
विश्वमा फैलिएको कोरोना लगायतका रोगको निदान र नियन्त्रणका लागि जीवजन्तुको अंगप्रत्यंग उपयोगमा भारी कमी गर्नुपर्ने अनुसन्धानले देखाएको छ । मानिसको बाँच्ने आधार भनेको वरिपरिको वातावरण हो, मानिसले सोही वातावरणबाट खाद्यान्न, पानी, इन्धन, अक्सिजन जस्ता तत्वहरू निरन्तर उपभोग गरिरहेको हुन्छ । मानव जातिको असीम चाहनालाई पृथ्वीको सीमित साधनस्रोतले थेग्न सक्दैन, यो कुरा साँचा हो । तसर्थ, प्राकृतिक वस्तुको दिगो उपयोग गर्नु जरुरी छ । वैज्ञानिकले पनि कोरोना भाइरस चमेरो प्रजातिको जीवमा रहेको र उक्त चमेरोबाट सालक हुँदै मानवमा सरेको दाबी गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएको बताईसकेको छ । तसर्थ अव मानवले जीवजन्तुको प्रयोग, अबैध कारोबार, शिकार लगायतका कामबाट टाढै बस्नु जरुरी छ । त्यो नै मानव जीवनको सुरक्षाको भरपर्दो माध्यम हो । कोरोना भाइरस पनि वन्यजन्तुको मासुबाट फैलिएकोले अवका दिनमा मासु प्रयोगमा पनि कटौती गर्नु जरुरी छ । यसका लागि विश्व स्वास्थ्य संगठनले समेत आग्रह गरेको छ । चीनले कोरोनाको प्रकोपपछि २०२० देखि नै वन्यजन्तुको ओसारप्रसार र व्यापारका साथै मासु सेवनमा पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरस अझैपनि देखापरेकोले यसबाट बच्न नेपालले पनि पूर्व सावधानी अपनाउनु जरुरी छ । नेपालमै पनि उच्च घरानाका व्यक्ति, शासकवर्ग, उच्च पदस्थ कर्मचारीहरूले थाहै नपाउने गरि वन्यजन्तुको मासु उपभोग गरिरहेका छन भन्ने कुरा बेलाबखत सार्वजनिक भएको बिषय हो । यसरी वन्यजन्तुको अवैध रूपमा तस्करी गर्ने र उपभोगको प्रक्रिया निरन्तर भयो भने कुनै दिन नेपालले पनि चीन र इटलीको नियती भोग्नुपर्दैन भन्ने कुनै ग्यारेन्टी छैन । तसर्थ वन्यजन्तुबाट टाढै बस्नुपर्ने बेला भएको छ । नेपालमा अझैपनि एकसिंगे गैंडा, पाटेबाघ, जंगली हात्ती, बँदेल, मृग, हरिण लगायत दुर्लभ वन्यजन्तुको अवैधरूपमा चोरी सिकार र व्यापार हुने गरेको बेला बेलामा प्रहरीले सार्वजनिक गर्ने घटनाहरूबाट थाहा पाउन सकिन्छ । नेपालबाट सालकको खपटा, विभिन्न प्रजातिका जीवित चरा, मृगको छाला, भालुको पित्त, बाघको छाला, बँदेलको मासु, गैंडाको खाग, चौरीगाईको सिंग, कस्तुरी मृगको बीना आदि वन्यजन्तुका अवैध ओसारपसार तथा व्यापार गर्ने आपराधिक गिरोह अझै पनि सक्रिय छ । यस्ता अवैध क्रियाकलाप नियन्त्रण नगर्ने हो र उनीहरूले भित्रभित्रै यसको उपयोग बढाउँदै जाने हो भने नेपालले कोरोना लगायतका अन्य रोगको महामारीको चुनौतिको सामना गर्नुपर्नेछ । मानिसबाट मानिसमा संक्रमित भइरहेको सांघातिक खालको कोरोना भाइरसको जीवाणु वन्यजन्तुमा हुँदो रहेछ भन्ने कुरा पत्ता लगाउनुअघि मुसा जातिमा प्लेग, चरा प्रजातिमा बर्डफ्लु, बँदेल प्रजातिमा स्वाइनफ्लु जस्ता सूक्ष्म जीवाणुहरू रहेको प्रमाणित भइसकेको छ । अतः अब नेपालले वन्यजन्तुबाट समयमै सावधानी अपनाउनु जरुरी छ ।
नेपालको आर्थिक बिकासको प्रमुख मध्येको एक आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको योगदान नेपालको गार्हस्थ्य उत्पादनमा करिब १८ प्रतिशत छ । तसर्थ यो प्रतिशतलाई अझै बढाउन सकिन्छ । नेपाललाई पर्यटन क्षेत्रबाटै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सकिन्छ । त्यसका लागि लुम्बिनी जस्तै नेपालका पर्यटकीय क्षेत्रको विकास गर्नु जरुरी छ । मूख्य पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने र एक बर्षमा एक पर्यटकीय स्थललाई आधार गन्तब्य स्थलका रूपमा घोषणा गरेर अघि बढ्ने हो भने निश्चितरूपमा पर्यटन क्षेत्रले नेपालमा आशाको सञ्चार गर्ने छ । जसरी नेपालमा घुमघामको संस्कृति विकास हुँदैछ, त्यसले धेरै आशा सिर्जना गरेको छ । नेपालमा अझैपनि बार्षिक एक करोड पर्यटक भित्राउन सकिन्छ तर त्यसका लागि ठोस योजना र प्रतिबद्धता जरुरी छ । विश्वका बौद्धमार्गीलाई लुम्बिनी ल्याउने हो भने पनि करोडौं बुद्धिष्ठहरूको नेपाल गन्तब्य बन्न सक्छ । तसर्थ अब नेपालको पर्यटन क्षेत्रको विकासका लागि सवै लाग्नु जरुरी छ । नेपाललाई पर्यटन क्षेत्रको गन्तब्य बनाउने सयौं ऐतिहासिक स्थलहरू छन । ती ऐतिहासिक स्थलको प्रचार प्रसार, संरक्षण र प्रवद्र्धन गर्नेतर्फ सरकारमात्र होइन स्वयं पर्यटन व्यवसायीको पनि ध्यान पुगोस् ।