© २०२३
विगत एक सातादेखि परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ । बाग्लुङमा चार घर परिवार पहिरोका कारण विस्थापित भएका छन । उता बाँकेमा डुबानका कारण कैयौं गाउँ प्रभावित बनेका छन । त्यो भन्दा अघि १५ दिन अघिको भीषण बर्षाका कारण सुदूरपश्चिम क्षेत्रका जनता अहिलेपनि पहिरो र डुबानको समस्याले पिरोलिएका छन । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । नेपालमा यो बर्ष प्राकृतिक प्रकोपका कारण अहिलेसम्म एक दर्जन बढीको मृत्यु भएको छ । अन्य दर्जनौं घाईते भएका छन, कैंयौ बेपत्ता छन । अछाममा मात्रै होइन, पूर्वमा कोशी ब्यारेजको पीडा भनिसाध्य छैन । अहिले भैरहेको बर्षाजन्य प्रकोप अति ह्दयविदारक, कष्टप्रद र त्रासदीपूर्ण दुःखद घटना हो । सुदूरपश्चिमको पीडा केवल त्यहाँको मात्र पीडा होइन, यो घटनाले सम्पूर्ण नेपालीको ध्यान केन्द्रित गरेको छ । अछामसंगै कैलाली र कञ्चनपुरमा पनि दर्जनौं परिवार डुबानका कारण विस्थापित भएका छन् । सुदूर पश्चिममा भएको त्रासदीपूर्ण पहिरो, डुवान र बाढीका कारण भएको मानवीय र भौतिक क्षतिको सम्बोधन गर्नेतर्फ नेपाल सरकारले कुनैपनि अवस्थामा ढिलाई गर्नु हुँदैन । भीषण वर्षाले मानवीय क्षतिसंगै जनजीवनलाई आतंकित तुल्याएको छ । अवका दिनमा बाढी र पहिरोले निम्त्याउने संभावित क्षतिको आँकलन गरेर बस्ती सुरक्षित गर्ने विषयमा पनि ध्यान दिनु जरुरी छ ।
नेपाल सरकारले यो बर्षको प्राकृतिक प्रकोपमा परेका नेपालीको राहत र उद्धारसंगै उनीहरूको बसोबासको व्यवस्थापनमा पनि ध्यान दिनु जरूरी छ । घाईते भएकाहरूको उद्धार र उपचारमा कुनैपनि अवस्थामा लापरवाही नहोस् । घरबार गुमाएका परिवारका लागि सरकारले तत्काल बैकल्पिक व्यवस्थामा ध्यान दिनुपर्दछ । बाग्लुङमा पहिरोका कारण भएको बिस्थापित परिवार नजिकैको जंगलमा बस्न बाध्य भएका छन । सामाजिक संघ संस्थाहरूको पनि यस बिषयमा गंभीररूपमा ध्यान जाओस् । यतिबेला सुदूर पश्चिममा भएको पीडाको दुर्दान्त कथा सिंहदरबारका पदाधिकारीको दृष्टिमा विरलै पुग्छ । नीतिनिर्माता यति बेखबर भएपछि सर्वसाधारणले यस्तो अवस्थामा दुःख पाउनु स्वाभाविक हो । अर्कोतर्फ पानी पर्नासाथ जलमग्न हुने पछिल्लो मानवीय विकासको दुष्परिणामले निम्त्याउने यस प्रकारका ह्दयविदारक घटनाप्रति अव मानव समुदाय आफैपनि सतर्क र सचेत हुनु जरुरी छ । १२ बर्षमा खोला पनि फर्कन्छ भन्ने उखान अहिले नेपालका विभिन्न नदी तटीय क्षेत्रमा चरितार्थ भैरहेको छ । खोलालाई आफ्नो स्वरूप र आकारमा बग्न नदिने हो भने कालान्तरमा त्यसले ठूलो क्षति निम्त्याउने कुरा देशका धेरै नदीहरू उदाहरण बनेका छन ।
अझैपनि नेपालका नदीनालाले पुर्याउने क्षतिको बिषयमा गंभीर अध्ययन र अनुसन्धान हुन सकेको छैन । न सरकार न स्थानीय तह कुनैपनि निकायले संरक्षणको साटो बरु दोहन बढाईरहेका छन । नदी, खोला र खहरेको बाटो अवरुद्ध गरिएको छ । यहाँ अलिकति पानी पर्नासाथ सडक नै नदीमा परिणत भैरहेका छन । पानी पर्नासाथ अधिकांश नदी नालाको प्राकृतिक बहाव रोकिने गरेको छ । त्यसले गर्दा जुन प्रवाहमा पानी बग्नुपथ्र्यो, त्यो हुन सकेको छैन । नदी, खोला र खहरेको संभावित खतराको पूर्वानुमान गर्न नसक्नु बिडम्वना हो । तसर्थ बाढी पहिरोको पीडा र प्रकोप आगामी दिनमा नदोहोरियोस् । यसतर्फ संघ, प्रदेश र पालिकाको ध्यान जानु जरूरी छ ।