© २०२३
विगत केही दिनयता टमाटरको मूल्य स्थान अनुसार एकसय ५० देखि दुईसय रूपैयाँसम्म पुगेपछि मूल्य नघट्दासम्म टमाटर नै नखाने घोषणा गर्नेहरू बढिरहेका छन् । केहीले ५० रूपैयामा झरेपछि मात्रै टमाटर खाने भनिरहेका छन भने केहीले नेपालको टमाटर बजारमा आउन थालेपछि मात्रै बजारबाट टमाटर किन्ने दावी गरिरहेका छन । टमाटर नखाने दावी गरिरहँदा कसैलेपनि हामी आफै अव तरकारी उत्पादनमा जोडिन्छौं, मुलुकलाई तरकारीमा आत्मनिर्भर बनाउँछौं भन्न सकिरहेका छैनन् । कृषि क्रान्ति गछौं भन्नेहरूको कमी छ । टमाटरको मूल्य आकासिनुका पछि टमाटरको सिजन नभएकै कारण हो । अर्कोतर्फ टमाटरमा पनि बिचौलियाको राज छ । उत्पादन भएको टमाटर दश ठाउँमा उलटपलट हुँदै बिक्री हुँदै बल्ल उपभोक्ताको घरसम्म पुग्छ । त्यसकारण पनि अहिले टमाटरको मूल्य बढेको छ । तर, टमाटर लगायत सवै तरकारीमा बिचौलियाको राज चलिरहेको छ । किसान आफैले बजारमा ल्याएर सिधै तरकारी विक्री गर्न पाउँदैन् । त्यहाँ तरकारी बेच्ने पसलेहरू लाईसेन्स लिएर ब्यापार गरिरहेका छन । त्यसमाथि किसानबाट तरकारी किन्ने र सिधै पसलेहरूलाई विक्री गर्ने अर्को बिचौलिया छ । त्यसमाथि अर्को बिचौलिया जसले किसान, बिचौलिया र पसलेबीच सामञ्जस्यता गर्ने महाबिचौलिया छ । जसले तरकारीको थोक मूल्य तोक्छ । उसले निर्धारण गरेको भाउमा किसानले तरकारी बेच्ने, बिचौलियाले किन्ने र फुटकर विक्रेताले बेच्ने गर्नुपर्छ । किसानको तरकारी चारपाँच ठाउँमा बेचिदै बेचिदै बल्ल उपभोक्ताको घरसम्म पुग्छ । यतिगर्दासम्म तरकारीको मूल्य कैया गुना बढिसकेको हुन्छ । अनि कहाँबाट उपभोक्ताले सस्तोमा तरकारी पाउने ? कल्पना पनि गर्न सकिदैन । टमाटरको मूल्यमा पनि त्यही भएको हो । यद्यपि टमाटर सिजन नभएको कारण पनि मूल्य अलिक बढेको हो तर त्यसमा पनि धेरथोर बिचौलियाकै राज छ ।
ती किसान जसले पसिना बगाएर उत्पादन गरेको तरकारी बिक्री गर्दछन, आज उनै सवैभन्दा बढी पीडित छन । किसानले भन्दा बढि बिचौलियाले कमाउँछन । अनि कहाँबाट हुन्छ कृषि क्रान्ति ? त्यसमाथि किसानलाई सरकारको कुनैपनि प्रोत्साहन छैन । किसानलाई आएको अनुदान गैर किसानले दुरूपयोग गरिरहेका छन । सरकारले उपलब्ध गराउनुपर्ने न्यूनतम कृषिजन्य सामग्रीको अभावका बीच किसानहरूले आफैँले बन्दोबस्त गरी अन्न, फलफूल, तरकारी, माछा, मासु, अण्डा उत्पादन गरिरहेका हुन्छन् । त्यसमाथि प्रकृतिमा बेलाबेलामा आउने उतारचढावले उत्पादनको कुनै ग्यारेन्टी नै छैन । त्यसमाथि मौसम परिवर्तनको मारका बीच अति दुःख गरेर फलाएका उब्जनीले परिवारको पेट पाल्न त परै जाओस्, ज्याला पनि नउठ्ने समस्या छ । केही महिना अघि चितवनका किसानले उत्पादित टमाटर बिचौलियाले कौडीको भाउमा उठाउन खोज्दा भरतपुर सडकमा मिल्काइदिएर सांकेतिक विरोध प्रदर्शन गरेको बिर्सन सकिदैन ।
उत्पादित वस्तुले मूल्य नपाउने भएपछि धेरै किसानहरू प्रेमप्रसाद आचार्यको नियती भोगिरहेको पीडा सुनाउँछन । यो मुद्दा आजको मात्र होइन, हिजो पनि थियो र सरकारको यही रवैया रहने हो भने भोलि पनि रहनेछ । विडम्बना कस्तो छ भने भारतबाट आयातीत विषादियुक्त तरकारीले नेपाली बजारमा मूल्य पाइरहेको छ । आफ्नै किसानले उत्पादन गरेको उपज भने सिण्डिकेट गरेर बिचौलियाले कौडीको भाउमा उठाउने गरेका छन । किसानमाथि भैरहेको अन्यायमा सरकार मूकदर्शक बनिरहेको छ । एकातिर नेपालकै उत्पादनले मूल्य पाउन सकिरहेको छैन । अर्कोतर्फ हामी अझै तरकारीमा परनिर्भर छौं । आफ्नो देशको उत्पादनलाई माया गर्नै सकेका छैनौं । आफ्नै देशमा उत्पादन गर्न सकिने तरकारीमा समेत परनिर्भरता छ । यो गंभीर बिषय हो । स्थानीय तहमा कृषिलाई प्रोत्साहन गर्न सरकारले उपलब्ध गराउने अनुदान ठाटाबाठा, स्थानीय जनप्रतिनिधिका आफन्त, झोले कार्यकर्ता र कमीसन प्रदायकहरूले मात्र हात पारेको अवस्थामा अझै कतिले प्रेमप्रसाद आचार्यले नियति भोग्नुपर्ने हो ? अव देशलाई आत्मनिर्भर बनाउने हो भने सवैभन्दा पहिले तरकारीबाटै आत्मनिर्भरताको अभियान सुरू गरौं । कुनैपनि क्षेत्रमा बिचौलियालाई प्रश्रय नदिऔं । टमाटरको मूल्य बढ्दा नखानेमात्र होइन भारतबाट आएको तरकारीको सट्टा नेपालकै उत्पादनलाई प्राथमिकता दिनेतर्फ आम नेपाली जनताले अभियान नै चलाऔं । अनिमात्र वास्तविक किसानले मूल्य पाउने अवस्था रहनेछ ।