© २०२३
गएको बैशाखमा पालिका निर्वाचनका क्रममा उम्मेदवारहरुको एउटै नारा थियो– सुशासन प्रवद्र्धन गर्ने, जनताको सेवामा रातदिन लाग्ने, जनताकै काममा प्रतिबद्ध भैरहने । निर्वाचित भएपछि अधिकांश जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता कार्यान्वयन गरेका छन । प्रतिवद्धता अनुसार जनताकै लागि कार्यस्थलमा खटिएका छन । तर, केही जनप्रतिनिधिले घुस खानै गएको चरितार्थ गरेका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका एक वडा अध्यक्षले नागरिकताको सिफारिस गर्न आर्थिक चलखेल गरेको पाइएपछि ती जनप्रतिनिधिको असली नियत छरपष्ट भएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष सतीशकुमार हरिजनले सेवाग्राहीसंग नागरिकता बनाईदिने भन्दै ६ हजार रुपैयाँ लिएको रहस्य खुलेको हो । लामो समयदेखि सेवाग्राही सिफारिस गर्न वडा कार्यालय धाइरहँदा वडा अध्यक्षले खाजा खर्च भन्दै पैसा मागेपछि रहस्य बाहिरिएको थियो । त्यस्ता जनप्रतिनिधिलाई कारवाहीको दायरामा ल्याउन ढिलाई नहोस् । नागरिकताको लागि सिफारिसमा कानुनले तोकेको दस्तुर बाहेकको रकम बारम्बार माग्दा समेत सेवाग्राहीले नदिँदा वडा अध्यक्षले हस्ताक्षर गर्न नमानेपछि सेवाग्राहीले नजराना चढाउन बाध्य भए । हाम्रा जनप्रतिनिधि यो तहसम्म गिर्छन भन्ने कुरा सायदै विश्वास गर्न सकिन्छ तर बिडम्वना नेपालमा सिफारिस लिनसमेत घुस दिनुपर्ने बाध्यता छ । यो एउटा उदाहरण मात्र हो ।
नेपालमा कानुनी शासनको राज नहुँदा आज यत्रतत्र सर्वत्र भ्रष्टाचारको बिगबिगी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो भ्रष्टाचारका मुद्दा दर्ता गरेको ग¥यै छ । वास्तवमा हामीले प्रत्याभूति गरेको कानुनी शासनको राज, विद्यमान नेतृत्व र नीति असफल भएको अनुभूति हरेक नेपालीले गरेका छन्, तर सफलताका निम्ति चयन गरिनुपर्ने मार्गका बारेमा सर्वत्र अन्योल र अस्पष्टता देखिन्छ । हरेक निर्वाचनमा जाली र झेलीमध्ये एउटालाई रोज्नुपर्ने, भ्रष्टाचारी र अपराधीमध्ये एउटाको पछि लाग्नुपर्ने, राष्ट्रघाती र देशघातीमध्ये एउटालाई छान्नुपर्ने र बेइमानहरूद्वारा इमानदारहरू शासित भइरहने जुन नियति हामीले भोगिरहनुपरेको छ, यसले देश अझै शताब्दी शताब्दीसम्म यस्तै चक्रब्यूहमा रुमल्लिइरहने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । सात दशक अघिसम्म नेपालभन्दा गरिब रहेको दक्षिण कोरिया अहिले आर्थिक तथा भौतिक विकासका दृष्टिले तेत्तिस गुणा अगाडि पुगेको छ । समान क्षेत्रफल भएपनि करिब ६ गुणा बढी जनसंख्या भएको बङ्गलादेशले समेत नेपाललाई उछिनिसकेको छ । तर, हामी उही दुई चार हजार पैसाका लागि एउटा नेपालीले अर्को नेपालीलाई शोषण गरिरहेका छौं । मानसिक यातना दिईरहेका छौं । घुस नदिईकन काम नगरिदिने भ्रष्ट शासनको ताबेदारी गरिरहेका छौं । घटनाक्रम अनुसार सेवाग्राही २०७९ भदौ १ गते ईलाका प्रशासन कार्यालय चन्द्रौटा जाँदा सो कार्यालयले सर्जमिन तोकेको थियो । सोही अनुसार उनी २०७९ असोज ७ गते इलाका प्रहरी कार्यालय बहादुरगन्जले सर्जमिन गरेपछि सेवाग्राही पुन ः प्रशासन कार्यालय पुगेका थिए । अध्यक्ष हरिजनले सेवाग्राहीसँग पहिलोपटक ४ हजार लिएका थिए । त्यसपछि सनाखत सहितको सिफारिस माग गरेपछि सेवाग्राहीले वडा अध्यक्ष हरिजनलाई भेट गरेको बताए । सनाखतकालागि ईलाका प्रशासन कार्यालय चन्द्रौटा जाँदा मोटरसाइकलमा पेट्रोल हालेको जनाउँदै एक हजार नगद लिएपछि मात्र हस्ताक्षर गरेको सेवाग्राहीले जिकिर गरे । सेवाग्राहीलाई यो तहसम्मको दुःख दिने काम हुने गरेको छ । यस्ता जनप्रतिनिधिलाई कारबाही गर्ने बिषयमा सम्वन्धित निकायले ढिलाई नगरोस् । नेपाल अहिले वास्तवमै अराजकताको रापमा पिल्सिएको छ भन्ने कुरा यस्ता घटनाले स्पष्ट गरेका छन । मुलुकलाई सही मार्गचित्रमा डो¥याउनु पर्दछ भन्ने आमजनताको चाहना हो । मुलुकमा सुशासन कायम हुनुपर्दछ भन्ने आम नेपाली नागरिकको माग र चाहना यस्ता जनप्रतिनिधि रहुञ्जेल पूरा हुँदैन । यस्तै जनप्रतिनिधिको उक्साहटमा कर्मचारीहरुमा समेत घुस खाने प्रवृत्ति बढेको देखिएको छ । एउटा खराब प्रवृत्तिको हुँदा त्यसले सिंगो पद्धतीमाथि प्रहार गर्दछ । तसर्थ कृष्णनगरको वडा नंं ९ का वडा अध्यक्षमाथि छानवीन गरी कारवाहीको दायरामा ल्याइयोस् ।