Butwal Today

प्रभावकारी कार्यान्वयन हुँदै विशेष सुरक्षा योजना

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु जिल्लामा विगतका वर्षहरूमा दसैँ र तिहारका बेला मूर्ति विसर्जनका क्रममा हुँदै आएका दङ्गा र घटनाहरू यस वर्ष संयुक्त विशेष सुरक्षा योजना कार्यान्वयनका कारण शान्तिपूर्ण बनेको छ । कपिलवस्तु प्रहरीले जिल्ला सुरक्षा समितिको अगुवाइमा अन्य सुरक्षा निकायको सहकार्यमा घटस्थापनादेखि छठ पर्वसम्म चाडपर्वका बेला हुन सक्ने विभिन्न अपराधहरू, दुर्घटना र नागरिकलाई हुन सक्ने समस्यालाई लक्षित गरी तयार पारेको योजना प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिएको छ ।

कपिलवस्तुमा चाडपर्वमा हुँदै आएका विगतका घटनाहरूका सन्दर्भमा हेर्दा २०७५ सालमा कृष्णनगरमा दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा जुलुसमाथि ढुङ्गा प्रहार भएपछि तनाव उत्पन्न भएको थियो । बाटोको विषयमा विवाद बढेपछि प्रशासनले कफ्र्यु लगाएको थियो । त्यसैगरी २०७६ सालमा पनि कृष्णनगरमै लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने मार्गलाई लिएर विवाद बढेपछि दुई समुदायबीच तनाव र झडप भएको थियो । प्रशासनले कफ्र्यु लगाएपछि भएको घटनामा एक जनाको गोली लागेर मृत्यु भएको थियो । त्यसयता स्थानीय प्रशासनले मूर्ति विसर्जनमा विशेष सुरक्षा योजना अख्तियार गर्दै आएको छ । पछिल्ला केही वर्षयता मूर्ति विसर्जनका क्रममा सामान्य विवाद भए पनि ठूला घटनाहरू भएका छैनन् । यस वर्ष जिल्लाभर विजयादशमीमा बनाइएका ५०९ वटा दुर्गा मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ ।

यद्यपि यस वर्ष सुरक्षा योजना कार्यान्वयनमा कडाइ गर्ने क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने गतिविधि गरेको आरोपमा कपिलवस्तु प्रहरीले कृष्णनगरबाट पाँच जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–१ सेमराका विकास यादव, गान्धी चौहान र सुनिल चौहानलाई साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याएको आरोपमा नियन्त्रणमा लिएको थियो । त्यसैगरी कृष्णनगर नगरपालिका–१ मदरनियाका आर्यन मिश्रलाई घटनामा संलग्न व्यक्तिको भिडियो बनाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको र कृष्णनगर नगरपालिका–११ रामनगर (कप्तानगञ्ज) का हरि नारायण पाललाई पनि साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पु¥याउने विषयवस्तु फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ परेका थिए ।

विगतका वर्षहरूमा मूर्ति विसर्जनका क्रममा हुँदै आएका घटनाहरूलाई मध्यनजर गरी कपिलवस्तु प्रहरीले मूर्ति विसर्जनलाई शान्तिपूर्ण बनाउन सादा पोसाकसहितको प्रहरी जनशक्ति परिचालन, स्थानीयसँगको सहकार्यमा सम्भावित जोखिम र हुन सक्ने घटनाको सूचना सङ्कलन, ड्रोनसहितको प्रविधि प्रयोग गरी निरन्तर निगरानी, धार्मिक तथा सामाजिक अगुवासँग समन्वय बैठक, मूर्ति व्यवस्थापन समितिका पदाधिकारीसँग निरन्तर समन्वय तथा छलफललगायतका रणनीति तय गरी जिल्लाभर मूर्ति विसर्जनको कार्यलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । मूर्ति विसर्जनका क्रममा जिल्लामा कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिन प्रहरीको पैदल र मोबाइल गस्ती, विभिन्न पिकेट र रिजर्भ टोलीहरू तयारी हालतमा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको उनले स्पष्ट पारे ।

“सुरक्षा योजना कार्यान्वयनका लागि ६४ वटा मोटरसाइकलमा क्युआरटी टोली परिचालन गर्नुका साथै सरप्राइज चेकिङ र शङ्कास्पद गतिविधिहरू नियन्त्रणका लागि स्विप अपरेसनसमेत चलाएका थियौँ,” नायब उपरीक्षक सिंहले भने ।
कपिलवस्तुमा सुरक्षा योजनाअन्तर्गत एक हजार ९०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । कपिलवस्तु प्रहरीले एक हजार ७० र सशस्त्र प्रहरीले ८५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी सुरक्षा योजना कार्यान्वयन गर्दै आएको छ । ६४ वटा मोटरसाइकलमा परिचालित क्युआरटी टोलीमा हतियार र आवश्यक सामग्रीसहित खटिएका दुई जना प्रहरीले नियमित गस्ती गर्ने र तत्कालै आवश्यक सहयोगका लागि तत्पर रहँदै आएका छन् ।

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार तथा बिक्रीवितरण, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणका लागि सुरक्षा योजना तयार गरी कार्यान्वयन गरिएको हो । योजनाअन्तर्गत चाडपर्वलक्षित नौ स्थानमा यात्रु सहायता कक्ष, ११ वटा चारपाङ्ग्रे सवारीसाधनबाट नियमित गस्ती तथा पेट्रोलिङ, सीमामा काउन्टरपार्टसँगको सहकार्यमा सुरक्षा निगरानी र आवश्यकताअनुसार थप सादा पोसाकका प्रहरी खटिँदै आएका छन् ।
जिल्ला सुरक्षा समितिको अगुवाइमा सबै सुरक्षा निकायको सहकार्यमा चाडपर्वलक्षित संयुक्त विशेष सुरक्षा योजना २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

सुरक्षा योजना कार्यान्वयनमा सबै सुरक्षा निकायसँगै आम नागरिक, धार्मिक र सामाजिक अगुवाहरू, राजनीतिक दलहरू, सञ्चार क्षेत्र, सरकारी र गैरसरकारी निकाय सबैको पूर्ण सहयोग भएका कारण जिल्लामा शान्तिपूर्ण रूपमा सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न सकिएको उपरीक्षक भट्टले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?