Butwal Today

वर्षाको पूर्वानुमानपछि धान भित्र्याउन किसानलाई चटारो

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल । दसैँ सकिएर तिहार नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो छ । खेतमा पहेँलपुर भएको धान काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन किसान बिहानैदेखि साँझसम्म खेतमै व्यस्त छन् । मौसम पूर्वानुमानअनुसार वर्षा हुने सम्भावना देखिएपछि किसानलाई बालीमा क्षति पुग्ने चिन्ताले थप हतारो गराएको छ ।

असार–साउनमा रोपाइँ गरेका किसान अहिले धान काट्ने, सुकाउने र परालसमेत सुरक्षित राख्ने काममा जुटेका छन् । विगतमा वर्षाका कारण काटेको धान डुबानमा परेर क्षति बेहोर्नुपरेको अनुभवले यस पटक किसान थप सतर्क बनेका हुन् । मौसमको प्रतिकूलताले बाली भित्र्याउने समय छोट्याइदिएपछि चाडपर्वको रमझमभन्दा किसानको प्राथमिकतामा खेतीपाती परेको छ ।
रूपन्देहीको गैडहवाका किसान गोविन्द चौधरीले वर्षा हुनुअघि नै धान भित्र्याउने प्रयास भइरहेको बताए ।

“पर्व आउँछन्, जान्छन् तर धान नभित्र्याए के खाने ? फेरि पानी पर्ने हल्ला छ, त्यसैले सबै किसान धान भित्र्याउन लागेका छन्,” उनले भने ।
उनका अनुसार गाउँका किसान बिहान उज्यालो भएदेखि रातिसम्म धान काट्ने र स्याहार्ने काममा खटिएका छन् । खेतमा पाकेको बाली लामो समय राख्दा वर्षाले भिजाउने र उत्पादनमा क्षति पुग्ने जोखिम भएकाले सकेसम्म चाँडै धान भित्र्याउने प्रयास भइरहेको छ ।

मौसम विभागले कात्तिक ११ देखि १५ गतेसम्म वर्षा हुन सक्ने चेतावनी दिएपछि किसानको व्यस्तता बढेको छ । यसअघि पनि वर्षाका कारण काटेको धान डुबानमा परेर क्षति भएको थियो । यस पटक त्यस्तो अवस्था दोहोरिन नदिन स्थानीय तहले समेत किसानलाई समयमै बाली भित्र्याउन आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिकाले मौसमको अवस्थालाई ध्यानमा राख्दै धान भित्र्याउन सूचना जारी गरिसकेको छ ।

पहाडी जिल्ला प्युठानमा पनि किसान धान र पराल सुरक्षित राख्न व्यस्त छन् । किसान चन्द्रप्रसाद शर्माले धान पाकेर पहेँलपुर भएकाले वर्षाको जोखिमबाट जोगाउन बिहान सबेरैदेखि रातिसम्म काम गर्नुपरेको बताए । “सकेसम्म कात्तिक ११ गतेभित्र धान भित्र्याउन पाए हुन्थ्यो । परालमा केही असर परे पनि धान जोगाउन पाए हुन्थ्यो,” उनले भने ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामा धानखेतीको क्षेत्रफल ठूलो छ । कृषि तथ्याङ्कअनुसार कपिलवस्तुमा सबैभन्दा बढी ६६ हजार २६५ हेक्टर र रूपन्देहीमा ६३ हजार ५५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यसैगरी बर्दियामा ५० हजार १५०, दाङमा ३६ हजार २००, बाँकेमा ३३ हजार ७८० र पश्चिम नवलपरासीमा २० हजार ८८७ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
पहाडी जिल्लातर्फ पाल्पामा सात हजार २८७, अर्घाखाँचीमा छ हजार ७६०, गुल्मीमा छ हजार ५४१, प्युठानमा छ हजार ५२५, रोल्पामा तीन हजार ७३ र रुकुम पूर्वमा ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । पहाडी जिल्लाका कतिपय किसानले धान भित्र्याइसकेका छन् भने अन्य किसान पनि बाली स्याहार्न व्यस्त छन् ।

रूपन्देहीमा मात्रै यस वर्ष ६३ हजार ५५० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । जिल्लाको कुल एक लाख २९ हजार ६७६ हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन रहेको तथ्याङ्क छ । धान उत्पादनको सम्भावना उच्च भए पनि सबै खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पुग्न नसक्दा किसानले विभिन्न चुनौती सामना गर्नुपरेको छ ।

किसानका लागि धान भित्र्याउनु वर्षभरिको मेहनतको प्रतिफल सुरक्षित गर्नु हो । बाली भित्र्याएपछि गहुँ, तोरी र तरकारी खेतीको तयारी गर्नुपर्ने भएकाले पनि धान स्याहार्ने काममा ढिलाइ गर्न किसान चाहँदैनन् । तर, वर्षाको जोखिम, सिँचाइको सीमितता, गुणस्तरीय बीउ र मलको उपलब्धताजस्ता समस्याले कृषि उत्पादनमा असर पार्ने गरेको छ ।

मौसमको पूर्वानुमानअनुसार वर्षा भएमा काट्न बाँकी धान मात्र नभई खेतबाट उठाइसकेको तर राम्रोसँग सुकाउन नपाएको बालीसमेत प्रभावित हुन सक्छ । त्यसैले किसानले समयमै धान भित्र्याउने प्रयास गरिरहेका छन् । वर्षभरि गरेको मेहनत र लगानी सुरक्षित राख्न अहिले उनीहरूका लागि मौसमको अवस्था निर्णायक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?