Butwal Today

लुम्बिनी ,काठमाडौँ र पोखरालाई ‘वेलनेस हब’ बनाउने

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । सरकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरको बहुआयामिक ‘वेलनेस’ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५ तथा पाँच वर्षे रणनीतिक कार्ययोजना २०२६–२०३० सार्वजनिक गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि सारेको रणनीतिले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, आध्यात्मिक सम्पदा, योग, ध्यान, आयुर्वेद, जडीबुटी तथा परम्परागत उपचार पद्धतिलाई पर्यटनसँग जोडेर नयाँ आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

सरकारले परम्परागत रूपमा अभ्यास हुँदै आएका योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार तथा आध्यात्मिक साधनालाई व्यवस्थित र व्यावसायिक बनाउँदै नेपाललाई विश्व बजारमा विशिष्ट ‘वेलनेस डेस्टिनेसन’का रूपमा स्थापित गर्ने योजना अघि सारेको हो।रणनीतिले पर्यटन क्षेत्रमा रहेको मौसमी निर्भरता घटाउने, पर्यटकको नेपाल बसाइ अवधि र खर्च बढाउने तथा स्थानीय समुदायका लागि रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यसमेत राखेको छ।

सन् २०३० सम्म वेलनेस पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने

रणनीतिले वेलनेस पर्यटन विकासका लागि विभिन्न परिमाणात्मक लक्ष्य निर्धारण गरेको छ। सन् २०३० सम्म नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये वेलनेस पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ। त्यस्तै, कम्तीमा पाँच वटा एकीकृत वेलनेस हब स्थापना गर्ने र सन् २०३५ सम्म पर्यटकको औसत सन्तुष्टि स्तर ८ दशमलव ५ भन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ।

गुणस्तरीय सेवा सुनिश्चित गर्न सन् २०२७ को अन्त्यसम्म राष्ट्रिय वेलनेस मापदण्ड तथा आचारसंहिता पूर्ण रूपमा लागू गर्ने र सन् २०३० सम्म मुलुकभर सञ्चालित प्रमुख वेलनेस सुविधालाई अनिवार्य प्रमाणीकरण गर्ने योजना छ। जनशक्ति विकासतर्फ सन् २०३० सम्म २ हजार नयाँ वेलनेस व्यवसायीलाई तालिम तथा प्रमाणीकरण प्रदान गर्ने लक्ष्य राखिएको छ। वेलनेस क्षेत्रमा सिर्जना हुने नयाँ रोजगारीमध्ये कम्तीमा ३० प्रतिशत महिला, युवा तथा स्थानीय सीमान्तकृत समुदायका लागि सुनिश्चित गर्ने रणनीतिमा उल्लेख छ।

काठमाडौँ सांस्कृतिक, पोखरा योग र लुम्बिनी ध्यानको केन्द्र

सरकारले भौगोलिक तथा सांस्कृतिक विशेषताका आधारमा नेपालका विभिन्न क्षेत्रलाई विशिष्ट वेलनेस हबका रूपमा विकास गर्ने योजना बनाएको छ। काठमाडौँ उपत्यकालाई आध्यात्मिक तथा सांस्कृतिक एकीकरण हबका रूपमा विकास गरिनेछ। यहाँ सम्पदा क्षेत्र, योग केन्द्र, बौद्ध ध्यान केन्द्र तथा परम्परागत स्पा सेवाहरूलाई एकीकृत गर्ने योजना छ। पोखरा तथा अन्नपूर्ण क्षेत्रलाई प्रकृतिमा आधारित पुनर्ताजगी र योगको राजधानीका रूपमा विकास गरिनेछ। ताल तथा हिमालको प्राकृतिक वातावरणमा ‘फरेस्ट बाथिङ’, ट्रेकिङ, योग, ध्यान तथा हर्बल उपचारका कार्यक्रम सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ। त्यस्तै, लुम्बिनीलाई विश्वव्यापी आध्यात्मिक तथा ध्यान केन्द्रका रूपमा विकास गरिनेछ। बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध दर्शनमा आधारित ध्यान शिविर, आध्यात्मिक कार्यक्रम तथा तीर्थाटनसँग जोडिएका वेलनेस प्याकेज सञ्चालन गर्ने योजना छ। नगरकोट, धुलिखेल र सराङकोटजस्ता पहाडी क्षेत्रलाई आश्रम तथा स्थानीय समुदायमा आधारित ‘वेलनेस गाउँ’का रूपमा विकास गर्दै अर्गानिक खानपान, योगशाला र प्राकृतिक उपचार सेवासँग जोडिनेछ। उच्च हिमाली क्षेत्र मनाङ र मुस्ताङमा भने ‘अल्टिट्युड वेलनेस’ तथा दुर्गम आध्यात्मिक साधना केन्द्र विकास गर्ने योजना छ।

योगदेखि ध्यान र जडीबुटीसम्मका नयाँ प्याकेज

रणनीतिले नेपालमा नयाँ तथा विविधीकृत वेलनेस पर्यटन उत्पादन विकास गर्ने योजना अघि सारेको छ। पदयात्रामा योग तथा ध्यानलाई समावेश गरी ‘वेलनेस ट्रेकिङ सर्किट’ सञ्चालन गरिनेछ। बौद्ध विहारमा आवासीय कार्यक्रम सञ्चालन गरी बौद्ध दर्शन, ध्यान तथा माइन्डफुलनेस अभ्यास गराउने ‘मोनास्टेरी मेडिटेसन रिट्रिट’ को अवधारणा पनि अघि सारिएको छ। त्यस्तै, हिमाली जडीबुटी र आयुर्वेदिक सिद्धान्तमा आधारित ७ देखि १४ दिने पञ्चकर्म रिट्रिट सञ्चालन गरी नेपाललाई किफायती आयुर्वेदिक वेलनेस गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना छ। नेपाली परम्परागत ‘सिङ्गिङ बाउल’, रेकी तथा आदिवासी धामी–झाँक्री परम्परामा आधारित ध्वनि तथा ऊर्जा उपचारका अभ्यासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने रणनीतिमा उल्लेख छ। मौसमअनुसार फरक कार्यक्रम सञ्चालन गर्ने योजना पनि छ। वर्षायाममा डिटक्स, हिउँदमा थर्मल तथा स्वास्थ्यवर्धक कार्यक्रम, वसन्तमा नवीकरण र शरद ऋतुमा कृतज्ञतामा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ।

वेलनेस पर्यटन रणनीति कार्यान्वयनका लागि तीन चरण निर्धारण 

पहिलो चरण २०२६–२०२७ मा ५ देखि ८ वटा उत्कृष्ट नमुना सुविधा स्थापना गर्ने र १० देखि १५ प्रमाणित सञ्चालकसँग सहकार्य गरी सेवा सुधार गर्ने लक्ष्य छ। यस चरणमा ५०० देखि १ हजार अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गरी १ देखि २ मिलियन अमेरिकी डलर बराबरको आम्दानी गर्ने लक्ष्य राखिएको छ। दोस्रो चरण २०२८–२०२९ मा सफल अभ्यासलाई देशका प्रमुख पर्यटकीय क्षेत्रमा विस्तार गरिनेछ। यस अवधिमा १० भन्दा बढी ‘सिग्नेचर’ सुविधा र ४० भन्दा बढी प्रमाणित सञ्चालकको सञ्जाल निर्माण गरी वार्षिक ३ हजारदेखि ५ हजार पर्यटक आकर्षित गर्ने तथा ६ देखि १२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य छ। तेस्रो चरण २०३० पछि नेपालमा वेलनेस पर्यटनको बजारलाई परिपक्व बनाउने लक्ष्यसहित अघि बढाइनेछ। यस चरणमा २५ भन्दा बढी विशिष्टीकृत कार्यक्रम सञ्चालन गरी वार्षिक १० हजारभन्दा बढी पर्यटक आकर्षित गर्ने र २० देखि ३० मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य राखिएको छ।

पोखरामा ‘वेलनेस करिडोर’

रणनीतिले वेलनेस हबको विकाससँगै भौतिक पूर्वाधार सुधारलाई पनि प्राथमिकता दिएको छ। वेलनेस हबसम्म पुग्ने सडकको स्तरोन्नति, भरपर्दो विद्युत्, स्वच्छ खानेपानी, प्रभावकारी फोहोरमैला व्यवस्थापन र दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट विस्तार गर्ने योजना छ। सरकारले साना–साना परियोजना सञ्चालन गर्नुको सट्टा क्लस्टरमा आधारित पूर्वाधार विकास गर्ने नीति लिएको छ। यसअन्तर्गत पोखराको लेकसाइड क्षेत्रलाई समुदायमा आधारित योग बगैँचा, साझा ध्यानस्थल तथा पैदलयात्रीमैत्री संरचनासहितको ‘वेलनेस करिडोर’ का रूपमा विकास गर्ने योजना छ। निजी लगानी आकर्षित गर्न सार्वजनिक–निजी साझेदारीअन्तर्गत ‘बुट’ मोडेल प्रयोग गर्ने तथा पर्यावरणमैत्री सामग्री, प्राकृतिक प्रकाश र हावाको अधिकतम उपयोग तथा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने योजना छ।

वेलनेस सेवामा अनिवार्य प्रमाणीकरण

सेवाको गुणस्तर र विश्वसनीयता कायम गर्न ‘नेपाल वेलनेस गुणस्तर मापदण्ड’ लागू गरिनेछ। यसअन्तर्गत परम्परागत आश्रम, सामुदायिक केन्द्र तथा उच्चस्तरीय वेलनेस रिसोर्टलाई वर्गीकरण गरी कांस्य, रजत र स्वर्ण तहको प्रमाणीकरण प्रदान गरिनेछ। थेरापिस्ट तथा सम्बन्धित जनशक्तिको इजाजतपत्र र दर्ता प्रक्रियालाई व्यवस्थित गरिनेछ। सीटीईभीटीबाट मान्यता प्राप्त कम्तीमा तीन महिनाको तालिम वा सोसरहको योग्यता आवश्यक पर्ने व्यवस्था गरिनेछ।थेरापिस्टले प्रत्येक वर्ष कम्तीमा १२ घण्टाको पुनर्ताजगी तालिम लिनुपर्ने तथा स्वास्थ्य र स्वच्छतासम्बन्धी कडा मापदण्ड पालना गर्नुपर्नेछ। ग्राहकका लागि सफा तौलिया तथा ओछ्यानका कपडा प्रयोग, उपकरणको मेडिकल ग्रेड निसंक्रमण र व्यवस्थित फोहोरमैला व्यवस्थापनलाई अनिवार्य गरिनेछ।

वेलनेस पर्यटनमा निजी तथा विदेशी लगानी आकर्षित गर्न विशेष लगानी प्याकेज 

लगानी बोर्ड नेपाल वा पर्यटन विभागअन्तर्गत ‘वेलनेस लगानी एकद्वार सहजीकरण डेस्क’ स्थापना गरी परियोजना स्वीकृति तथा अन्य प्रक्रियालाई सहज बनाउने रणनीतिमा उल्लेख छ। नयाँ परियोजनाका लागि कर छुट, भन्सार सहुलियत तथा जग्गा प्राप्तिमा सहजीकरण गर्ने योजना छ। ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमी, होमस्टे तथा जडीबुटी सहकारीलाई सहुलियतपूर्ण कर्जा र नवीनता अनुदान उपलब्ध गराउन ‘नेपाल वेलनेस पर्यटन विकास कोष’ स्थापना गर्ने अवधारणा अघि सारिएको छ। कार्बन–तटस्थ रिसोर्ट तथा दिगो पूर्वाधार विकासका लागि दीर्घकालीन पुँजी जुटाउन ‘वेलनेस ऋणपत्र’ जारी गर्ने अवधारणासमेत रणनीतिमा समेटिएको छ।

राष्ट्रिय वेलनेस तालिम प्रतिष्ठान स्थापना गरिने

वेलनेस पर्यटनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न राष्ट्रिय वेलनेस तालिम प्रतिष्ठान स्थापना गर्ने योजना छ। प्रतिष्ठानले प्रदेशस्तरमा आफ्नो सञ्जाल विस्तार गर्नेछ। तालिम प्रणालीलाई तीन तहमा विभाजन गरिनेछ—व्यावसायिक प्रमाणीकरण, सीप स्तरोन्नति तथा निरन्तर शिक्षा। त्यसमा सञ्चार, अंग्रेजी भाषा र सांस्कृतिक संवेदनशीलताजस्ता व्यावसायिक सीपलाई पनि समावेश गरिनेछ। उत्कृष्ट जनशक्तिलाई प्रोत्साहन गर्न वार्षिक रूपमा ‘उत्कृष्ट स्पा थेरापिस्ट’ र ‘उत्कृष्ट योग प्रशिक्षक’ जस्ता राष्ट्रिय पुरस्कार स्थापना गर्ने योजना छ। सरकार र उद्योगको संयुक्त कोषमार्फत तालिम खर्चको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने अवधारणा पनि छ।

‘हिमालयन वेलनेस सेन्चुरी’मार्फत विश्व बजारमा ब्रान्डिङ

नेपालको वेलनेस ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ‘हिमालयन वेलनेस सेन्चुरी’ नारासहित बजार प्रवर्द्धन योजना बनाइएको छ। अमेरिका, युरोप, जर्मनी, बेलायत र अष्ट्रेलियालाई प्राथमिक बजारका रूपमा राखिएको छ। जापान, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वलाई दोस्रो तह र चीन, ब्राजिल तथा फ्रान्सलाई तेस्रो तहमा राखी लक्षित प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना छ।

नेपाल पर्यटन बोर्डमार्फत डिजिटल प्रचारलाई प्राथमिकता दिँदै ‘हिल इन नेपाल’ पोर्टल विकास गर्ने तथा अन्तर्राष्ट्रिय सञ्चारकर्मी, ब्लगर र टुर अपरेटरका लागि फ्यामिलियराइजेसन भ्रमण आयोजना गर्ने योजना छ। नेपालको प्राकृतिक तथा आध्यात्मिक सुन्दरतालाई समेटेर ‘हिलिङ हिमालयज’ नामक वृत्तचित्र शृंखला निर्माण गर्ने रणनीतिमा उल्लेख छ।

पानी र प्लास्टिक प्रयोगमा कडाइ

वेलनेस पर्यटनलाई वातावरणमैत्री बनाउने उद्देश्यले सेवा प्रदायकका लागि कडा वातावरणीय मापदण्ड प्रस्ताव गरिएको छ। प्रतिपर्यटक दैनिक २०० लिटरभन्दा कम पानी खपत गर्नुपर्ने, कम्तीमा ६० प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट प्राप्त गर्नुपर्ने तथा एकल प्रयोगका प्लास्टिक पूर्ण रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसले वेलनेस पर्यटनलाई केवल आर्थिक गतिविधिका रूपमा नभई वातावरण संरक्षण र दिगो पर्यटनसँग जोड्ने सरकारको उद्देश्य देखाउँछ।

स्थानीय संस्कृति र समुदायलाई प्राथमिकता

रणनीतिले नेपालको मौलिक संस्कृति र परम्परागत ज्ञानको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। स्थानीय भिक्षु, पुरोहित तथा धामी–झाँक्रीसँग पूर्वसहमति र सहकार्य गरेर मात्र सम्बन्धित सांस्कृतिक कार्यक्रम डिजाइन गर्ने व्यवस्था गरिएको छ। महिला तथा पिछडिएका समुदायका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न महिला सहकारीमार्फत सञ्चालन हुने वेलनेस होमस्टे तथा जडीबुटी खेतीलाई विशेष वित्तीय सहयोग उपलब्ध गराउने योजना छ।सरकारको विश्वासमा प्राकृतिक सम्पदा, आध्यात्मिक परम्परा, योग, ध्यान, आयुर्वेद र स्थानीय ज्ञानलाई व्यवस्थित ढंगले पर्यटनसँग जोड्न सके नेपालले परम्परागत पर्यटनभन्दा फरक र उच्च मूल्यको अन्तर्राष्ट्रिय वेलनेस बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छ। अब चुनौती भनेको रणनीतिमा समेटिएका लक्ष्यलाई व्यवहारमा उतार्नु, सेवा गुणस्तर कायम गर्नु, परम्परागत ज्ञानको व्यावसायीकरण गर्दा त्यसको मौलिकता जोगाउनु र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?