© 2026
काठमान्डौँ ।
बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ ।
बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीलगायतका नदी प्रणालीमा पानीको बहाव बढ्ने आकलन गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाको बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा उल्लेख्य रूपमा तल रहेको छ । यद्यपि बिहीबारदेखि असोज १२ गतेसम्म यी नदीहरूको बहाव निरन्तर बढ्ने पूर्वानुमान गरिएको छ ।
कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायतका नदी तथा कन्काई र कमला नदीमा बिहीबारदेखि नै जलसतह उल्लेख्य रूपमा बढ्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, नारायणी, कर्णाली र महाकाली जलाधारका प्रमुख नदीमा बिहीबार बहाव सामान्य रूपमा मात्र बढ्नेछ । नारायणी प्रणालीअन्तर्गतका त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, बडिगाड र कालीगण्डकी तथा कर्णाली प्रणालीका ठूली भेरी, भेरी र पश्चिम सेतीलगायतका नदीमा असोज ९ गतेदेखि १२ गतेसम्म बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।
बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि शुक्रबारदेखि लगातार चार दिनसम्म उल्लेख्य रूपमा बढ्ने महाशाखाले जनाएको छ ।
ठूला नदीबाहेक देशभरका साना नदी तथा खोलामा पनि बिहीबारदेखि बाढीको जोखिम देखिएको छ । महाशाखाले ताप्लेजुङदेखि सुदूरपश्चिमको कालिकोटसम्मका दर्जनौँ जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।
कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीदेखि मधेस प्रदेशका सप्तरी, सिरहा हुँदै पर्सासम्मका जिल्लामा बाढीको जोखिम रहेको जनाइएको छ । त्यस्तै, बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनमा पनि बाढीको जोखिम औँल्याइएको छ ।
गण्डकी प्रदेशका गोरखा, कास्की, मनाङ, मुस्ताङ र बागलुङ तथा लुम्बिनी र कर्णाली प्रदेशका रुकुम, रोल्पा, बाँके, बर्दिया, सुर्खेत र जुम्लालगायतका जिल्लामा बहने साना नदी तथा खोलामा पनि पानीको सतह बढ्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले देशभरका यी क्षेत्रमा साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ ।
लगातारको वर्षा तथा नदीहरूमा बढ्दो जलसतललाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
