Butwal Today

नेपाली कांग्रेस सिद्धार्थनगरमा देवराज न्यौपानेको प्यानलको पकड

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

भैरहवा ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रूपन्देहीको सिद्धार्थनगर नगर कार्यसमितिको नेतृत्वमा देवराज न्यौपाने निर्वाचित भएका छन् । सभापति पदमा न्यौपानेले संजीव शर्मा रेग्मीलाई नौ मतले पराजित गर्दै नगर कांग्रेसको नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

कुल ३१८ मत गणना हुँदा न्यौपानेले १५९ मत प्राप्त गरे भने रेग्मीले १५० मत पाए । सभापति पदको प्रतिस्पर्धा निकै नजिक देखिए पनि अन्य प्रमुख पदमा न्यौपाने पक्षका उम्मेदवारहरूले उल्लेख्य मतान्तरसहित जित निकालेका छन् ।

नगर नेतृत्वका लागि न्यौपाने र रेग्मीले छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । उम्मेदवारी घोषणादेखि नै दुवै पक्षले संगठन विस्तार, पार्टीलाई चलायमान बनाउने तथा आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम नगर नेतृत्व निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्दै मत मागेका थिए ।

निर्वाचन परिणामले सभापति पदमा न्यौपानेको जितसँगै उनको प्यानलका उम्मेदवारहरूलाई पनि नगर कार्यसमितिमा बलियो उपस्थिति दिएको छ ।

उपसभापति महिला पदमा निलु श्रीस मगर १६२ मत प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी लक्ष्मी अर्यालले १४६ मत प्राप्त गरिन् । उपसभापति पुरुषतर्फ भने गौरव श्रेष्ठ १७४ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल केसीले १३२ मत प्राप्त गरे ।

सचिव पदमा धर्मवीर शर्मा १६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी पंकज उदासले १४० मत पाए । सहसचिवमा दिनेश केवटले १६५ मत प्राप्त गर्दै जित हासिल गरे भने राममिलन यादवले १३९ मत प्राप्त गरे ।

नगर कार्यसमिति सदस्यतर्फ पनि न्यौपाने पक्षका उम्मेदवारहरूले सफलता हात पारेका छन् । वडा नं. १ को सदस्यमा माधव शर्मा १६७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी खगनाथ गैरेले १३० मत प्राप्त गरे ।

त्यस्तै वडा नं. ६ को सदस्यमा सीतादेवी थारु १६० मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी उर्मिलाकुमारी शर्माले १३६ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?