Butwal Today

न्यून चापीय प्रणालीको प्रभाव : पाल्पा र कपिलवस्तु आसपास १६४ मिलिमिटर वर्षा

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ । भारतको आन्ध्र प्रदेश र ओडिसा आसपासबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण विशेषगरी नेपालको पूर्वी र मध्य भागको मौसम प्रभावित भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् देवेन्द्र ढकालका अनुसार बिहीबार काठमाडौं उपत्यकासहित देशका पूर्वी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।

यस अवधिमा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ । ती क्षेत्रमा १६४ मिलिमिटरसम्म वर्षा मापन गरिएको विभागले जनाएको छ । अन्य प्रदेशको तुलनामा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ ।

बिहीबार दिउँसो र रातिको समयमा लुम्बिनीदेखि पूर्वतर्फका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले जानकारी दिएका छन् । तराईका भूभागमा सामान्यभन्दा केही तीव्र हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।

शुक्रबार वर्षाको गतिविधि अझै बढ्ने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसमविद् ढकालले भने, ‘यी स्थानमा भारी हिमपातको सम्भावना रहेकाले तत्काल प्रतिकार्य गर्नुपर्ने अवस्था छ ।’

शुक्रबार विशेषगरी कर्णाली प्रदेशदेखि पूर्वका भूभागमा वर्षा केन्द्रित हुनेछ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईदेखि पहाडसम्मका क्षेत्रमा भारी वर्षाको जोखिम रहेकाले सतर्क रहन सुन्तला रङको चेतावनी जारी गरिएको छ ।

शनिबारदेखि भने वर्षा गराउने प्रणाली बिस्तारै पश्चिमतिर सर्ने विभागले जनाएको छ । शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।

आइतबार बागमती र गण्डकीदेखि पूर्वका भूभागमा मौसम सुधार हुँदै जाने अनुमान छ । पश्चिमी क्षेत्रमा भने अझै सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।

देशभर एकैपटक लगातार झरी पर्ने सम्भावना नरहे पनि भारी वर्षाका कारण सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मौसम छिनछिनमा परिवर्तन हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत अद्यावधिक सूचना लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?