© 2026
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष इजाजत (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा सहभागी अधिकांश परीक्षार्थी उत्तीर्ण भएका छन् भने नेपालका मेडिकल तथा डेनटल कलेजमा अध्ययन गरेका विद्यार्थीहरूको नतिजा विशेष रूपमा उत्साहजनक देखिएको छ ।
काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी एक हजार १३ जनामध्ये ९४७ जना उत्तीर्ण भएका छन् । ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जना परीक्षामा अनुपस्थित रहेका थिए । यससँगै समग्र उत्तीर्ण प्रतिशत ९३.४८ पुगेको काउन्सिलका निमित्त रजिष्ट्रार डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।
देशगत विवरणअनुसार नेपालका मेडिकल तथा डेनटल शिक्षण संस्थामा अध्ययन गरेका परीक्षार्थीहरूको सफलता दर सबैभन्दा उच्च देखिएको छ । नेपालमा अध्ययन गरेका ९१९ जनामध्ये ९०४ जना अर्थात् ९८.३७ प्रतिशत उत्तीर्ण भएका छन् । पाकिस्तान र अमेरिकाबाट अध्ययन गरी परीक्षामा सहभागी भएका सबै परीक्षार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् ।
भारतबाट अध्ययन गरेका १७ जनामध्ये १३ जना अर्थात् ७६.४७ प्रतिशत उत्तीर्ण भएका छन् । चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना अर्थात् २१।६२ प्रतिशत मात्र सफल भएका छन् । बेलारुसबाट अध्ययन गरी सहभागी भएका एक परीक्षार्थी भने अनुत्तीर्ण भएका छन् ।
नेपालभित्रका मेडिकल शिक्षण संस्थाहरूको नतिजा हेर्दा अधिकांश कलेज तथा प्रतिष्ठानको प्रदर्शन उत्कृष्ट रहेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेनटल कलेज, नेपाल मेडिकल कलेज र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस सहित १४ वटा शिक्षण संस्थाका सबै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, महाराजगन्ज मेडिकल क्याम्पस का ८६ परीक्षार्थीमध्ये ८४ जना अर्थात् ९७।६७ प्रतिशत र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का १०२ परीक्षार्थीमध्ये ९८ जना अर्थात् ९६।०८ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका अनुसार विषयगत रूपमा पनि नतिजा सन्तोषजनक देखिएको छ । कुल ३६ वटा विषयमध्ये अधिकांश विषयमा परीक्षार्थीहरूको उत्तीर्ण दर सकारात्मक रहेको जनाएको छ ।
यस पटकको नतिजाले नेपालका मेडिकल तथा डेनटल शिक्षण संस्थामा अध्ययन गरेका विद्यार्थीहरूको शैक्षिक प्रदर्शन सुदृढ रहेको संकेत गरेको छ । अर्कोतर्फ विदेशका केही मुलुकबाट अध्ययन गरी आएका परीक्षार्थीहरूको उत्तीर्ण प्रतिशत अपेक्षाकृत कम देखिएकाले चिकित्सा शिक्षाको गुणस्तर र पाठ्यक्रमबीचको भिन्नताबारे थप अध्ययन आवश्यक रहेको देखिएको छ ।
