Butwal Today

एभरेस्टमा किन हुन्छ धेरै मृत्यु ?

२० श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा एभरेस्टमा हुने अधिकांश मृत्युको मुख्य कारण  खराब मौसम वा भीड नभई अत्यधिक उचाइका कारण शरीर, विशेषगरी मस्तिष्कमा पर्ने गम्भीर असर रहेको विभिन्न वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।

सन् १९२१ देखि २००६ सम्मका १४ हजारभन्दा बढी आरोही र शेर्पाको अभिलेख विश्लेषण गरिएको एक अध्ययनले १९२ जनाको मृत्युको समीक्षा गरेको थियो। अध्ययनअनुसार करिब ५९ प्रतिशत मृत्यु लड्ने, हिमपहिरो वा अन्य दुर्घटनाका कारण भएका थिए। १४ प्रतिशत घटनामा शव फेला नपरेकाले मृत्युको कारण खुल्न सकेन भने बाँकी २७ प्रतिशत मृत्यु उचाइजन्य बिरामी, अत्यधिक चिसो हाइपोथर्मिया तथा अन्य गैर(दुर्घटनाजन्य कारणसँग सम्बन्धित थिए।

विशेषगरी ८,००० मिटरभन्दा माथिको ‘डेथ जोन’ मा हुने मृत्युको अध्ययनले धेरै आरोहीमा भ्रम, निर्णय क्षमता कमजोर हुने, सन्तुलन गुम्ने र हिँडाइ सुस्त हुने लक्षण देखिएको उल्लेख गरेको छ। वैज्ञानिकहरूका अनुसार यी लक्षण हाइ अल्टिच्युड सेरेब्रल इडिमा अर्थात् मस्तिष्क सुन्निने गम्भीर अवस्थासँग सम्बन्धित हुन सक्छन्।

अनुसन्धानले फोक्सोमा पानी जम्ने वा सामान्य उचाइजन्य समस्याभन्दा मस्तिष्कमा हुने असर बढी घातक हुन सक्ने संकेत गरेको छ। मस्तिष्कमा असर परेपछि आरोहीले गलत निर्णय लिन सक्छन्, जसका कारण उनीहरू लामो समयसम्म अत्यधिक उचाइमा बस्न बाध्य हुन्छन्। यसले थकान, चिसो, दुर्घटना तथा मृत्युको जोखिम थप बढाउने अध्ययनको निष्कर्ष छ।

एभरेस्टमा बढ्दो भीड पनि पछिल्ला वर्षमा बहसको विषय बनेको छ। तर सन् २००६ देखि २०१९ सम्मको अर्को अध्ययनले भीड धेरै भएका र कम भएका दिनमा मृत्यु दरमा स्पष्ट अन्तर नदेखिएको जनाएको छ। यद्यपि भीडका कारण हुने ढिलाइले आरोहीहरूलाई ‘डेथ जोन’मा लामो समय रहन बाध्य बनाउने भएकाले अप्रत्यक्ष रूपमा जोखिम बढ्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

अध्ययनअनुसार पछिल्ला वर्षहरूमा मौसम पूर्वानुमान, स्थायी डोरी, अनुभवी गाइड र व्यवस्थापनमा सुधार आएपछि सफल आरोहणको दर बढेको र प्रतिशतका हिसाबले मृत्यु दर केही घटेको छ। तर आरोहीको संख्या उल्लेख्य रूपमा बढेकाले कुल मृत्यु संख्या भने अझै पनि चिन्ताको विषय बनेको छ।

विशेषज्ञहरूका अनुसार एभरेस्टमा सबैभन्दा कठिन काम शिखर चुम्नु मात्र होइन, सुरक्षित रूपमा आधार शिविरसम्म फर्किनु हो। अधिकांश दुर्घटना शिखरबाट फर्किने क्रममा हुने भएकाले समय व्यवस्थापन, पर्याप्त अक्सिजन, मौसमको सही मूल्याङ्कन तथा उचाइजन्य लक्षणको समयमै पहिचान सुरक्षित आरोहणका आधारभूत पक्ष मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?