© 2026
सुनसरीको देवानगञ्जमा विगत चार दिनदेखि जारी तनावलाई मत्थर गर्न नसक्नु सरकार असफलताको बाटोतर्फ अघि बढेको एउटा सानो सङ्केत हो ।
देशमा यति ठुलो सङ्कट उत्पन्न हुँदासमेत प्रधानमन्त्री बालेन शाह र उनको नेतृत्वको सरकारको घटनास्थलमा उपस्थिति नदेखिनु चिन्ताको कुरा हो । संवेदनशीलताको यो घडीमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नु जरुरी छ ।
विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थिए । आज त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ ।
राष्ट्रिय महत्वको यस्तो संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसक्नु सरकारको असफलताको छनक हो । घटनामा सरकारले अत्यधिक बल प्रयोग गरेको छ । कैयौँ स्थानीय बन्दुकको गोली लागेर अस्पतालको शैयामा छटपटाइरहेका छन् । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन ।
संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ । घटनास्थलमा स्थानीयबाहेक बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वहरूसमेत सक्रिय हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
विगतका सङ्कटहरूमा राजनीतिक तनावका बिच पनि दलहरू एकै ठाउँमा उभिने परम्परा थियो । तर, वर्तमान प्रधानमन्त्री बालेन शाह अहिलेसम्म निष्क्रिय मात्रै बनेका छन् । यस्तो बेलामा प्रधानमन्त्रीले सबै दलहरूसँग बैठक गरेर साझा सहमतिको ढोका खोल्नुपर्ने हो । यस्ता घटना दबाउन राज्यले अतिरिक्त बल प्रयोग गर्ने होइन, समस्याको जड कहाँ छ ? त्यो पत्ता लगाएर उपचार गर्ने हो तर सरकार बल प्रयोग गर्ने मानसिकताबाट परिचालित भएको छ ।
यो राज्यको एक प्रकारको असफलताको निरन्तरता हो । सुनसरीलगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासहरूलाई अगाडि बढाउन साझा सहमति जनाउनु जरुरी छ ।
अर्कोतर्फ दंगा र भीड नियन्त्रण गर्ने कुरामा सुरक्षा निकाय किन असफल भइरहेको छ भन्ने कुराको गहिरो समीक्षा गर्नु आवश्यक छ । मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्ने कुरामा अव सरकारको ध्यान जाओस् । विशेष गरी सुनसरीलगायत प्रभावित क्षेत्रका नागरिकलाई सरकारले अभिभावकका रूपमा आफ्नो उपस्थिति अनुभूत गराउन सकेन । यसमा सरकार चुकेको छ ।
यो घटनामा कसैलाई दोष दिएर मात्र उन्मुक्ति पाइँदैन । अव सरकारले बल प्रयोग गरेर समस्याको समाधान हुँदैन भन्ने कुरा बुझ्न अति आवश्यक छ । सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोस्दैमा समाधान होइन । राज्य यो घटनामा चुकेको छ । यस्तो संवेदनशील बेलामा प्रधानमन्त्रीले आफैले सर्वदलीय बैठक बोलाउनु पर्ने हो ।
कुनै एक पार्टीको सभापतिले बैठक बोलाएर समाधान खोज्ने कुराले सरकार यो घटनाप्रति संवेदनशील छैन भन्ने पुष्टि हुन्छ । दलहरू सबैलाई समेटेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री संवेदनशील नबन्नु लापरबाही हो । विशेष गरी सुनसरीलगायतका क्षेत्रका जनतालाई सरकार अभिभावकका रूपमा छ भन्ने अनुभूति सरकारले गराउनुपर्छ ।
यस्तो संवेदनशील समयमा प्रधानमन्त्रीले सबै राजनीतिक दल, प्रदेश र स्थानीय तहसँग संवाद गरेर सामाजिक सद्भाव कायम राख्न नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनी चुकेका छन् । सुनसरीमा घटेको घटना सरकारको निरन्तर असफलता हो ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको महत्त्वपूर्ण सम्पत्ति भएकाले कसैले पनि उत्तेजनामा नआई धैर्यतापूर्वक संवादमार्फत समस्या समाधान गर्नुपर्छ । यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नु जरुरी छ । सरकारको घटनास्थलमा उपस्थिति छैन । यतिखेर सरकार के गर्दै छ ? सरकार कहाँ छ ? सरकार केवल बन्दुकको गोलीमा र लाठीमा मात्र भेटिनु हुन्न ।