© 2026
नवलपरासी ।
सुस्ता गाउँपालिका सुस्ताकी १८ वर्षिया किशोरी बृन्दा हरिजन मलिन अनुहार लिएर स्वास्थ्य संस्थामा आफ्नो समस्या लिएर पुगिन् । उनको समस्या सुनेपछि स्वास्थ्यकर्मी पनि दिक्क परिन् । आफ्नै उमेर समूहको आफ्नै गाउँको एक युवक संग भएको असुरक्षित यौन सम्पर्कका कारण पेटमा तिन महिनाको गर्भ रहेको उनले थाहा पाइन् । गरिवी र अशिक्षाले च्यापेको परिवारमा जन्मिएकी हरिजनले लाज र डरका कारण असुरक्षित यौन सम्पर्क गरेको बताइन् । लाजसंगै धम्की र डरका कारण पटकपटक असुरक्षित यौन सम्पर्कका कारण पटकपटक गर्भ रहेपछि सुस्ताकै २४ वर्षिया सुनिता चौधरीले पनि गाउँकै स्वास्थ्य संस्थामा गर्भपतन गराएको पीडा सुनाईन ।
सुस्ताका किशोरी मात्र नभएर तिन तिनवटा सन्तानकी आमा नाम नबताउने ३२ बर्षीया एक महिलाले पनि पटकपटक असुरक्षित यौन सम्पर्क गर्दा दसौंपटकसम्म गाउँकै स्वास्थ्य संस्थादेखि जिल्ला अस्पताल परासीसम्म पुगेर गर्भपतन गराएको सुनाईन ।
गरिवी मात्र नभएर महत्वाकांक्षी जीवनशैली, मनोरञ्जन र जीविकोपार्जनका लागि यौन व्यवसायलाई मुख्य माध्यम बनाउँदा अधिकांश महिलाहरु परिवार नियोजनका साधन विना असुरक्षित यौन सम्पर्क गर्दा गर्भ रहेको विवसता सुनाउँछन । यौन व्यवसायलाई आम्दानीको मुख्य माध्यम बनाएकी ४३ वर्षिया एक महिलाले स्वास्थ्य क्षेत्रमा काम गर्ने एक परपुरुषसंग यौन सम्पर्कबाट तिन पटकसम्म बुटवलमा गर्भपतन गराएको बताईन । गरिव र अशिक्षित बस्तीमा मात्रै होइन, बर्दघाट नगरपालिकाकी दुई सन्तानकी आमा एक शिक्षित परिवारकी महिला पनि असुरक्षित यौन सम्पर्कले स्वास्थ्य जोखिममा परेको सुनाउँछिन । श्रीमान रोजगारीका क्रममा विदेश रहेको बताउँदै उनी भन्छिन्– सावधानी अपनाउँदा अपनाउँदै पनि दुईपटक गर्भ बस्यो, कावासोतीको एक नीजि अस्पतालमा पुगेर गर्भपतन गराएँ ।
भारतको उत्तर प्रदेश बिहार राज्यसंग सिमाना जोडिएको सुस्ता गाउँपालिका मात्र नभई बिहारका महिला पनि असुरक्षित यौन सम्पर्क गर्ने गरेको बताउँछन ।
एक महिलाले अनुसार पुरुषहरु अस्थायी साधन बिना नै यौन सम्पर्कका लागि राजी भएपछि महिला पनि अस्थायी साधन खरिद गर्न लाज र डर भएका कारण जोखिम युक्त यौन सम्पर्क गर्दै आएको बाध्यता भएको बताईन । त्यस क्षेत्रमा थुपै्र महिलाहरुले यौन पेशाबाट जीविकोपार्जन गर्ने गरेको बताउँछन । सुस्ताकी ४६ वर्षिया चौधरी थर भएकी महिला आफू पनि पहिला यौनकर्मी भएको बताउँछिन् । गरिबी त्यसैमाथि श्रीमानले अत्याधिक मदिरा सेवन गर्ने गरेको कारण जीविकोपार्जनको माध्यम यौनलाई बनाएको ती महिलाको गुनासो छ ।
नारी आवाज नामक संस्थाकी ४६ वर्षिया गंगा चौधरी भन्छिन– यौनलाई कुनैले रहरले मात्र नभएर बाध्यताका कारण व्यवासायीक बनाएका छन । यो उनीहरुको बाध्यता हो ।
उनका अनुसार गरिबी र अशिक्षा एकातर्फ छ, अर्कोतर्फ सम्पन्न परिवारका महिलाहरु पनि रहरले यसमा फसेका छन । नेपाल परिवार नियोजन संघ रुपन्देहीको सहयोग र समन्वयमा संचालित कार्यक्रमबाट त्यस क्षेत्रमा यौनकर्मीहरुमा सचेतना र असुरक्षित यौन सम्पर्कबाट निम्तिने खतराका विषयमा जानकारी पाएपछि पहिलेको तुलनामा यतिखेर असुरक्षित यौन सम्पर्क गराउने महिलाको सख्या कम हुँदै गएको छ ।
नारी आवाज संस्थाकी अध्यक्ष दुर्गा तिमिल्सिना जोखिममा रहेका महिलाहरुको क्षेत्रमा सचेतनासंगै अस्थायी साधनको नियमित वितरणले यो क्षेत्रको समस्या केही कम भएको बताउँछिन ।
उनका अनुसार आफनो संस्थामा नियमित सम्पर्कमा आउने आठसयजना महिलाहरु छन् । कतिपय महिलाहरु गोपनियताका कारण सम्पर्कमा आउन नचाहेको उनले बताइन् । परिवार नियोजन संघ रुपन्देहीले जोखिममा रहेका महिलाका लागि यौन रोग तथा एचआईभी एडस् रोगबाट जोगिन पूर्व तयारीका लागि प्रेप नामक औषधी नियमित वितरणसंगै महिलाले प्रयोग गर्ने अस्थायी साधन वितरण गरेको शाखा प्रवन्धक शोभाकान्त न्यौपाने बताउँछन् । उनका अनुसार असुरक्षित र जथाभावी यौन सम्पर्कले महिलाहरुमा पाठेघरको क्यान्सरको जोखिम समेत बढिरहेको छ ।