Butwal Today

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

१६ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

कर्णाली ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिएका छन् । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताए ।

मन्त्री पोखरेलले भने, “खेलुकद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकार भएका निकाले आफ्नो भूमिका इमान्दरीपूर्वक निर्वाह गर्नुपर्छ । खेलकुद क्षेत्रको महामेला कर्णालीमा सञ्चालन हुने भएकाले प्रदेश तथा स्थानीय सरकारले विशेष महत्त्व दिएर आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त छु ।” अब प्रचारप्रसारका कामलाई व्यापक बनाउँदै लैजाने जनाउँदै सङ्घ सरकार प्रतियोगिता सम्पन्नताका लागि प्रतिबद्ध भएर अगाडि बढेको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकार सहआयोजक भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रतिष्ठासँग जोडिएको विषय भएको बताए । रङ्गशालाको पूर्वाधार निर्माणको सबै काम पूरा भइसकेको जनाउँदै उनले मङ्सिर १६(२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा बसाइँ व्यवस्थापन, सबैका लागि सहज वातावरण निर्माणलगायतमा प्रदेश सरकार लागिपरेको उल्लेख गरे ।

सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले खेलकुद प्रतियोगताको सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसार र राष्ट्रव्यापी बनाएर भव्य रूपमा सम्पन्न गर्ने दौडलाई तीव्र बनाइएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?