© 2026
नेपाल कृषि प्रधान मुलुक हो । तर, अव यो एकादेशको कथा जस्तै हुने भएको छ । कृषि प्रधान मुलुकुले चालु आर्थिक वर्ष २०८३ /८४ को पहिलो तीन महिना (साउन–असोज) मा करिब साढे ४ अर्ब रूपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् ५६ हजार ८ सय ९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ ।यसका लागि नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रूपैयाँ बाहिरिएको छ ।
अघिल्लो महिनासम्मको तथ्यांकसँग तुलना गर्दा असोजमा धानचामल आयात ह्वात्तै बढेको छ । चालु आव पहिलो त्रैमासमा कुन धानचामल कति भित्रियो भनेर हेर्दा सबैभन्दा धेरै परिमाणमा ‘अन्य चामल’ र कच्चा धान आयात भएको देखिन्छ । यस अवधिमा १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रूपैयाँ बराबरको २ करोड ३० लाख ७४ हजार ४ सय २८ किलो (२३ हजार ७४ टन) अन्य चामल र ८४ करोड ६१ लाख ४५ हजार बराबरको १ करोड ८७ लाख १८ हजार ६ सय ६० किलो (१८ हजार ७ सय १८ टन) कच्चा धान आयात भएको छ ।कृषि प्रधान मुलुक नेपाललाई यो तथ्याँकले कताकता गिज्याएको जस्तो आभाष गराएको छ ।
नेपालीहरूमा कृषि अर्थात खेतीपातीभन्दा पनि सौखिन प्रवृत्ति हावी भएको देखिन्छ । भन्सार विभागको तथ्याँकले सबैभन्दा धेरै पैसा बासमती चामल खरिदमा बाहिरिएको देखाएको छ । तीन महिनामा १ अर्ब ९६ करोड ८५ लाख ५९ हजार बराबरको १ करोड ४४ लाख ४९ हजार ४ सय ५६ किलो (१४ हजार ४ सय ४९ टन) बासमती चामल भित्रिएको छ ।
हरेक बर्ष कृषि मन्त्रालयले धान उत्पादनमा बृद्धि भएको तथ्याँक सार्वजनिक गर्छ । तर वास्तविकता भने अर्कै छ । गत बर्षपनि नेपालमा ४० अर्बको चामल आयात भएको थियो । यो बाध्यता कतिन्जेल सम्म ? प्रश्न उत्पन्न भएको छ । धान उत्पादनमा बर्षेनी बृद्धि हुने तर चामल भने भारतबाट आयात गर्नुपर्ने केवल बाध्यता होइन, यथार्थ हो । आखिर उत्पादन भएको धान कहाँ जान्छ ? चिन्ताको कुरा छ ।नेपालको कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत हिस्सा ओगटेको छ । नेपालले कृषि क्रान्ति गर्न नसक्नुमा सिँचाई संयन्त्र तथा सुविधाको अभाव, निरन्तरको बन्द र द्वन्द्वका कारण कृषि कार्यमा निरन्तर अवरोध, रासायनिक मल आपूर्तिमा कठिनाइ लगायतलाई कारण मान्ने गरिएको छ ।
अवको दिनमा नेपालले भूगोल र जलवायुसुहाउँदो अन्य नगदे बाली प्रोत्साहित गर्ने नीति अख्तियार गरेमा कृषिमा आत्मनिर्भर हुन समय लाग्ने छैन् । तर, त्यसका लागि सरकारको प्रतिवद्धता आवश्यक छ । सरकारले सिंचाईको प्रभावकारी व्यवस्था गर्नुपर्दछ । समयमै मल पाउने वातावरण तयार हुनुपर्दछ । अवको दिनमा कृषियोग्य भूमि संरक्षण गर्ने र उत्पादन बढाउने हो भने खेतीयोग्य जमिनलाई घडेरी बनाउने सरकारको नीतिमा परिवर्तन जरुरी छ । खेतीमै रमाउने कृषकहरूलाई सरकारले प्रोत्साहनको नीति लिनु जरुरी छ ।
विगतको पञ्चायती व्यवस्थाको बेला नेपालले विदेशका विभिन्न देशमा अनिकाल पर्दा चामल र गहुँ निर्यात गरेर सहयोग गरेको इतिहास बिर्सन सकिदैन् । तसर्थ नेपाललाई कृषि प्रधान मुलुक अझैपनि बनाउन सकिन्छ तर त्यसका लागि भाषणमा होइन यथार्थमा देखाउनु जरुरी छ ।