Butwal Today

जोखिमकै अवस्थामा सावधानी जरुरी

११ श्रावण २०८३, सोमबार
अ+
अ-

मौसम विभागले आगामी तीन दिन देशका केही स्थानमा भारी बर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । त्यसमा पनि पहाडी जिल्लामा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । गत बर्ष सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको थियो ।

जसका कारण तिनाउ नदीमा बाढीको बहाव उच्च भएको थियो । फेरीपनि त्यही अवस्था आउन सक्छ । तसर्थ बाढी पहिरोको जोखिम कायमै रहेकोले आवश्यक सावधानी अपनाउनु पर्ने देखिएको छ । बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकोले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

मौसमबीदहरुले अझै भारी बर्षाको जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन् । यद्यपि यो बर्ष भारी बर्षा नभएका कारण बुटवलको तिनाउ नदीले खतराको सतह पार गरेको छैन । तर, जोखिम रहेकोले पूर्व सतर्कता अझै आवश्यक छ ।

कि पानी नै नआउने, आयो भने तिनाउ नदी किनारको बस्तीमा जोखिम निम्त्याउने गरि बाढी आउने अवस्था पटक पटक देखिएकोले अव यसको जोखिम न्यूनिकरणतर्फ ध्यान दिनेगरि दिर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।

मौसम विज्ञान विभागले होचा स्थानमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ । त्यसैपनि नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । त्यसैपनि हरेक बर्षको वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नियमितता बनिसकेको छ । विगतमा भन्दा यो वर्ष बाढी पहिरोले नोक्सान गर्न थालिसकेको छ ।

त्यसमाथि खण्ड र क्षणिक बर्षा भैरहेकोले सचेत हुनुपर्ने आवश्यकता छ । पश्चिम तराईका अधिकांश नदी तटीय बस्ती उच्च जोखिममा छन् । पहाडी बस्तीहरुमा गएको पहिरोले निरन्तर जनधनको क्षति भइरहेको छ । प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ ।

प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरुपमा समाधान गर्न सकिने भएपनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन् । हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपको समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरुपमा न्यूनीकरण गर्दै जानुपर्ने आवश्यकता छ ।

बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरुलाई पूर्वसचेत गराउन सावधानीका सूचकको व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरुप आवश्यक पूर्व तयारी एवं पूर्व सावधानीसहितको कार्ययोजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधि लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरु तयारी अवस्थामा राख्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।

भनिन्छ–मौसमको भर हुँदैन । एकछिन अघि घाम लागिरहेको अवस्थामा तत्कालै भारी बर्षा हुन सक्छ । तसर्थ बाढी पहिरोको जोखिम कायमै छ । सावधानी अपनाउनु पर्ने स्थान, नदी किनारका बासिन्दा सतर्क हुनु जरुरी छ । अहिलेपनि तिनाउ तटीय क्षेत्रको वस्ती जोखिममा छ । किनभने पाल्पामा पानी पर्दा बाढी आउने तिनाउ नदीमै हो । तसर्थ उपल्लो तटीय क्षेत्रमा हुने बर्षाजन्य प्रभाव सुरूमै तिनाउमा पर्ने गरेको छ ।

अतः तिनाउ नदीको जोखिमबाट बच्न पूर्व सावधानी जरुरी छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित राख्ने र उनीहरुलाई बर्षाजन्य जोखिमबाट मुक्त गर्ने काममा सम्वन्धित निकायको ध्यान जाओस् । अहिले जसरी नदी तटीय क्षेत्रमा बाढीका कारण जोखिम बढेको छ, त्यसको दिर्घकालीन समाधानका लागि बर्षापछि हिउँदको समयमा जोखिम क्षेत्रलाई सुरक्षित बनाउन तटबन्ध लगायतका काममा सम्वन्धित निकायको ध्यान जानुपर्दछ ।

अहिलेको लागि मौसम विभागले भनेजस्तै भारी बर्षाको संभावनालाई मध्यनजर गर्दै पूर्व सचेतताको आवश्यकता छ । संघीय, प्रदेश र स्थानीय तहका सरकारले जोखिमबाट बच्न आवश्यक काम समय अगावै गरुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?