Butwal Today

नेपाल–क्यानडा व्यापारको बढ्दो सम्भावना 

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

नेपाल र क्यानडाबिचको व्यापारिक सम्बन्ध पछिल्ला वर्षहरूमा क्रमशः विस्तार हुँदै गए पनि दुई देशबिच उपलब्ध व्यापारिक सम्भावनाको तुलनामा व्यापारको मात्रा अझै सीमित हुँदै गएको छ ।

नेपाल र क्यानडा भौगोलिक रूपमा निकै टाढा रहेका कारण लामो ढुवानी दूरी, उच्च पारवहन लागत, लामो आपूर्ति समय र प्रत्यक्ष व्यापारिक सम्पर्कको सीमितताले दुई देशबिचको व्यापार विस्तारमा चुनौती सिर्जना गरेको छ ।

उपलब्ध क्यानडेली आधिकारिक व्यापार तथ्याङ्क अनुसार क्यानडाको समग्र वस्तु व्यापार सन् २०२४ मा करिब CAD ७२१.१ अर्बको निर्यात र CAD ७६५.७ अर्बको आयात रहेको थियो । सन् २०२५ मा क्यानडाको कुल वस्तु निर्यात करिब CAD ७७९.० अर्ब र आयात करिब CAD ७८९.० अर्ब पुगेको थियो । यी तथ्याङ्कले क्यानडाको विश्वव्यापी व्यापारको व्यापकता देखाउँछन् ।

नेपालसँगको द्विपक्षीय व्यापार भने यसको तुलनामा काफी सानो भएपनि विस्तारको पर्याप्त सम्भावना रहेको छ । नेपालबाट क्यानडातर्फ मुख्यतः कृषि तथा खाद्य उत्पादन, हस्तकला, ऊनी गलैँचा, जडीबुटी, चिया, मसला तथा अन्य मौलिक नेपाली उत्पादन निर्यात हुने सम्भावना रहेको छ । नेपाली हस्तकला, हिमाली तथा प्राकृतिक उत्पादन, उच्च मूल्यका कृषि उत्पादन तथा विशिष्ट खाद्य सामग्रीले क्यानडाको बजारमा आफ्नो स्थान बनाउन सक्ने पर्याप्त सम्भावना बोकेका छन् ।

क्यानडामा रहेका नेपाली मूलका व्यवसायी तथा उद्यमीहरूले नेपालमा उत्पादित खाद्य सामग्री, मसला, चिया, जडीबुटी, हस्तकला तथा अन्य उपभोग्य वस्तुहरू आयात गरी बजार विस्तार गर्ने प्रयास गरिरहेका छन् । नेपाली डायस्पोरा यस व्यापारिक सम्बन्धको महत्त्वपूर्ण पुलका रूपमा विकसित हुन सक्ने देखिन्छ ।

यद्यपि, नेपालबाट क्यानडामा उत्पादन निर्यात गर्दा उच्च ढुवानी लागत, लामो पारवहन समय, सीमित आपूर्ति, गुणस्तरीय प्याकेजिङको अभाव तथा आयात–निर्यातसम्बन्धी प्रक्रियागत जटिलताले नेपाली व्यवसायीहरूलाई चुनौती दिइरहेको छ ।

यसका बाबजुद क्यानडामा ठुलो नेपाली डायस्पोरा, बढ्दो नेपाली व्यावसायिक समुदाय तथा नेपाली उत्पादनप्रतिको चासोका कारण नेपाल–क्यानडा व्यापार विस्तारको ठुलो सम्भावना रहेको छ । यदि नेपाल सरकारले उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, निर्यात प्रक्रिया तथा आपूर्ति प्रणालीमा सुधार गर्न सकेमा नेपाली उत्पादनलाई क्यानडाको नेपाली समुदायभन्दा बाहिर व्यापक क्यानडेली बजारमा समेत विस्तार गर्न सकिने सम्भावना छ ।

अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (ANCC) को आयोजनामा जुलाई १८ मा आयोजित कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालको प्रमुख आतिथ्यमा क्यालगरी, टोरोन्टो तथा अन्य सहरमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली मूलका उद्यमी तथा नेपालसँग व्यापारिक सम्बन्ध राख्न इच्छुक क्यानडेली व्यवसायीहरूको सहभागिता रहेको थियो ।

नेपाली उत्पादनमा प्याकेजिङ सुधार आवश्यक:
कार्यक्रममा सहभागी व्यवसायीहरूले नेपाली उत्पादनको गुणस्तर राम्रो भए पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न प्याकेजिङ र ब्रान्डिङमा अझै सुधार आवश्यक रहेको बताएका थिए । विशेष गरी कृषि उत्पादन, जडीबुटी, हस्तकला, ऊनी गलैँचा तथा अन्य नेपाली उत्पादनको प्याकेजिङ आकर्षक, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

नेपाल सरकारले निर्यात हुने वस्तुहरूको प्याकेजिङका लागि स्पष्ट मापदण्ड निर्धारण गर्नुका साथै त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने व्यवसायीहरूको भनाइ थियो ।

नेपाली नाममा विदेशी उत्पादन बिक्री हुने गुनासो:
नेपाली उत्पादनको नाम र पहिचान दुरुपयोग गरी अन्य देशबाट आयात गरिएका वस्तुहरूलाई नेपाली उत्पादनका रूपमा बिक्री गर्ने प्रवृत्तिबारे पनि कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।

विशेष गरी कृषि उत्पादन, जडीबुटी तथा हस्तकलाका सामग्रीहरूमा यस्तो समस्या देखिने गरेको व्यवसायीहरूले बताएका थिए । नेपाली उत्पादनको मौलिकता र पहिचान संरक्षण गर्न नेपाल सरकार, निर्यातकर्ता तथा आयातकर्ताबिच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

महँगो ढुवानीले प्रतिस्पर्धामा चुनौती:
नेपालबाट क्यानडासम्मको लामो दूरी र प्रत्यक्ष ढुवानीको सीमितताका कारण नेपाली उत्पादनको लागत बढ्ने गरेको व्यवसायीहरूको भनाई छ । हवाई मार्गबाट विभिन्न देश हुँदै सामान क्यानडासम्म ल्याउनुपर्ने भएकाले ढुवानी खर्च महँगो हुने गरेको छ ।

समुद्री मार्गबाट कन्टेनरमार्फत सामान ल्याउँदा पनि तीनदेखि चार महिनासम्म लाग्ने भएकाले छोटो म्याद भएका खाद्य तथा अन्य उत्पादनमा थप चुनौती उत्पन्न हुने गरेको व्यवसायीहरूको अनुभव थियो । भारत, पाकिस्तान तथा बङ्गलादेशजस्ता देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादनका लागि ढुवानी लागत घटाउनु प्रमुख चुनौती बनेको सहभागीहरूको भनाई थियो ।

आपूर्तिको समस्या:
नेपालका धेरै उत्पादन कम्पनीहरूले सीमित थोक विक्रेतामार्फत मात्र सामान आपूर्ति गर्ने भएकाले क्यानडाका विभिन्न सहरमा नेपाली उत्पादनको नियमित आपूर्ति व्यवस्था गर्न कठिनाइ हुने गरेको व्यवसायीहरूले बताएका थिए । भौगोलिक दूरी, सीमित आपूर्तिकर्ता र केही क्षेत्रमा देखिएको आपूर्तिकर्ताको एकाधिकारका कारण नेपाली उत्पादनको मूल्य तथा बजार पहुँचमा समस्या हुने गरेको उनीहरूको भनाइ थियो ।

व्यापार सहजीकरणमा नीतिगत सुधारमा जोड:
नेपाल र क्यानडाबिचको व्यापारलाई थप सहजीकरण गर्न आयात प्रक्रिया, व्यापारिक अनुमति, भन्सार क्लियरेन्स तथा अन्य कानुनी प्रक्रियालाई सरल र स्पष्ट बनाउनुपर्नेमा व्यवसायीहरूको जोड छ । क्यानडाको बजारमा नेपाली उत्पादनको ठुलो परिमाण, निरन्तर आपूर्ति र गुणस्तर आवश्यक पर्ने भएकाले नेपाल सरकारले उद्यमी तथा निर्यातकर्तालाई प्रोत्साहन, सहुलियत, क्षमता विकास र बजार प्रवद्र्धनमा सहयोग गर्नुपर्ने सहभागीहरूको माग थियो ।

नेपाली डायस्पोरा र नेपालको अर्थतन्त्र:
क्यानडाका लागि नेपाली राजदूत महामहिम भरतराज पौड्यालले कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडामा करिब एक लाख नेपाली मूलका मानिसहरू बसोबास गरिरहेको र उनीहरू विभिन्न पेशा तथा व्यवसायमा सक्रिय रहेको बताउनुभयो ।

नेपाली डायस्पोराका उद्यमीहरूले नेपालमा उत्पादित वस्तुहरूलाई क्यानडा लगायत अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन र निर्यात गर्न सके नेपालमा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तर र प्याकेजिङमा सुधार आवश्यक रहेको उल्लेख गर्दै राजदूत पौड्यालले यस विषयमा नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले क्यानडामा रहेका नेपाली मूलका उद्यमी तथा व्यवसायीहरूलाई आवश्यक सहयोग र सहजीकरणका लागि नेपाली दूतावास सधैं तयार रहेको बताउँदै आफ्ना समस्या र सुझाव लिएर सहज रूपमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

व्यापारसँगै पर्यटन प्रवद्र्धनमा पनि सहकार्य:
क्यालगरी, टोरोन्टो तथा अन्य स्थानमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली मूलका व्यवसायीहरूको सहभागिता थियो । नेपालमा म्बममथ Kitchen का विभिन्न २५ शाखा मार्फत १,२०० भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आउनुभएका उद्यमी कमलजंग कुँवरलगायत विभिन्न व्यवसायीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

क्यालगरीमा सक्रिय त्इक्क् का प्रतिनिधिले ANCC सँग सहकार्य गर्दै नेपाल–क्यानडा व्यापार, आयात–निर्यात तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालका राम्रा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारः 
नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीको सचिवालयसँग सम्बद्ध सल्लाहकार सुदीप ढकालले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको थियो । उहाँले नेपाल सरकारले जलस्रोत, प्रविधि, कृषि, उच्च मूल्यका उत्पादन तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै विदेशमा रहेका नेपाली मूलका व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

विदेशमा रहेका नेपाली व्यवसायीहरूलाई नेपालका उत्पादनको निर्यात प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै उहाँले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारबाट नेपालको अर्थतन्त्र सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

ANCC को सहजीकरण भूमिकाः
कार्यक्रमको समापन गर्दै ANCC का अध्यक्ष समीर पाण्डेले अल्बर्टामा नेपालसँग व्यापारिक सम्बन्ध राख्ने र नेपालसँग व्यवसाय गर्न इच्छुक व्यवसायीहरूले भोग्दै आएका समस्या पहिचान गरी समाधानका लागि मद्दत गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरूबीच अनुभव आदानप्रदान, नेटवर्क विस्तार गर्न र नेपाल र क्यानडा सरकारसमक्ष आवश्यक नीतिगत सुधारका विषयहरू प्रस्तुत गर्नANCC ले निरन्तर भूमिका खेल्ने बताए । कार्यक्रममा उठाइएका विभिन्न व्यावहारिक तथा नीतिगत विषयहरूलाई राजदूतमार्फत नेपाल सरकारसमक्ष प्रस्तुत गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धतासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

(डा. भण्डारी– एनआरएनका सल्लाहकार तथा पूर्व उपाध्यक्ष, हाल क्यानडाको सहयोगमा भारतमा सञ्चालन भइरहेको योजनाका प्रमुख हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?