© 2026
सरकारले २०८५ भदौ मसान्तसम्मको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयले बन्द रहेको अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने झिनो आशा पलाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णयले भैरहवा र पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो ।
यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । भैरहवाका उद्योगी व्यवसायीले सरकारले गरेको उक्त निर्णयले अब अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्राउन सहज वातावरण सिर्जना गर्ने विश्वास गरेका छन् ।
सञ्चालनमा आएको चार वर्ष बितिसक्दासमेत भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन नसक्नु चिन्ताको कुरा हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा रहेकोले बौद्धमार्गीहरू भैरहवाबाट सिधै लुम्बिनी आउन सक्नेछन् ।
यसमा सरकारको प्रोत्साहनले काम गरोस् भन्ने हो । सञ्चालनमा आएको चार वर्ष पूरा हुँदा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडान बढ्न नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको अवस्था छ ।
विमानस्थलले अन्तर्राष्ट्रिय उडान नपाउँदा नेपाल सरकारको लगानी समेत नउठ्ने चिन्ता छ । विमानस्थल सञ्चालनमा आएको चार वर्ष भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान सङ्ख्या वृद्धि नहुँदा स्थानीय व्यवसायी निराश भएका छन् ।
यो विमानस्थल ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो वर्ष जजिरा एयरलायन्सले नियमित उडान भरेको कारण उत्साह सिर्जना भएको थियो तर त्यसपछि फ्लाई दुबई, कतार एयरवेज, थाई एयर एसिया लगायतले उडान गरेपनि स्थायी हुन सकेन ।
अहिले अन्तर्राष्ट्रिय उडान रोकेपछि विमानस्थल वरिपरिको वातावरण सुनसानमात्रै बनेको छैन, विमानस्थलबाट रोजगारीसँग जोडिएको धेरै क्षेत्रमा असर पुगेको छ । एक्काइसौँ शताब्दीमा हवाईयात्रीको सङ्ख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी छ तर नेपालमा सञ्चालनका लागि तयार रहेका विमानस्थल समेत सञ्चालनमा आउन नसक्नु चिन्ताको विषय हो ।
अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसै अनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो । तर, चार वर्ष पूरा हुँदा पनि विमानस्थलले सञ्चालन खर्च समेत उठाउन नसक्नुका पछि कहाँनेर समस्या छ, त्यसको निराकरणमा अव ध्यान दिएर समाधानको खोजीतर्फ लाग्नुपर्दछ ।
त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु हामी सबै नेपालीका लागि खुसीको कुरा हो । तर, यसको सञ्चालनमा समस्या आउनु चिन्ताको विषय हो । अर्बौँ ऋण सहयोग लिएर बनाएको विमानस्थल कतै प्रयोगमा नआएरै थन्कियो भने त्यो नेपालकै लागि दुर्भाग्य हुनेछ । अर्बौँको लगानी जोखिममा पर्नेछ ।
अतः विमानस्थल सञ्चालनमा दबाब दिनु जरुरी छ । अर्को कुरा छिमेकी भारतको असहयोगले गर्दा गोरखपुर (भारत) को आकाश मार्ग हुँदै छोटो समयमा अवतरण गर्न सक्ने जहाज भैरहवाभन्दा धेरै पर रहेको सिमरा क्षेत्रको आकाश मार्ग प्रयोग गर्दै पूर्वबाट पश्चिम अनावश्यक चक्कर लगाउन बाध्य हुनुपरेको कारण पनि अन्तर्राष्ट्रिय उडान कम्पनीहरू भैरहवामा आकर्षित नभएको हुन सक्छन् ।
भारतको असहयोग विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउनुको प्रमुख कारणमध्ये एक हो । ढिलै भए पनि सरकारले अन्तर्राष्ट्रिय उडान कम्पनीहरूलाई छुट दिएर भैरहवामा आकर्षित गर्ने योजना बनाएको छ । तर, यतिले मात्रै पुग्दैन । सरकारले अब भैरहवाबाटै श्रमको व्यवस्था, स्वास्थ्य जाँचको सुविधा, ट्राभल कम्पनीहरूलाई भैरहवा आमन्त्रित गर्ने वातावरण तयार गरोस् ।