Butwal Today

तापमान वृद्धिको बढ्दो चुनौती

२२ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

आज विश्व वातावरण दिवस । ‘अव जलवायुमा ध्यान दिऔँं भन्ने नाराका साथ यो दिवस आज विश्वभरि मनाईदैछ । खास गरी विश्व वातावरण दिवसको विश्वव्यापी आयोजना भने अजरबैजानमा हुँदै छ ।

जलवायु परिवर्तनका चुनौती र तिनका समाधानमा केन्द्रित गरि यो दिवस मनाईदैछ । निश्चित रूपमा यो वर्षको दिवसले भनेजस्तै जलवायु परिवर्तनको विश्वव्यापी प्रभावको न्यूनिकरणका लागि अव ध्यान दिनु जरुरी भैसकेको छ ।

वातावरण दिवस मनाई रहँदा नेपाल जलवायु परिवर्तनको दुष्प्रभावबाट प्रभावित भएको छ । अतिबृष्टि, अनाबृष्टि, खडेरी, पानीको सङ्कट, वन जंगलको विनास लगायतका कारण नेपालले भोलिको दिनमा ठूलो चुनौतिको सामना गर्नुपर्ने छ । नेपाल विश्वव्यापी जलवायु परिवर्तनबाट प्रभावित विश्वकै दश मुलुकभित्र पर्दछ ।

वातावरणमा आएको परिवर्तनकै कारण नेपालको औसत तापक्रम प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियसका दरले बढेको छ र हिमाली क्षेत्रमा यो दर अझ बढी देखिएको छ । यो वर्ष तापक्रम अझै बढ्ने प्रक्षेपण गरिएको छ । पानी कम पर्ने मौसमविद्हरूको चेतावनी जलवायु परिवर्तनमा आएको असर हो भन्दा अत्युक्ति हुँदैन । पहिले बर्सेनि हिउँले ढाक्ने उच्च पहाडी क्षेत्रमा अहिले हिउँ पर्न छाडेको छ ।

वर्षा कम र हिमपात विनाको हिमाल नाँगो देखिन थालेपछि त्यसको असर पानी चक्रमा परेको छ । देशभर पानीका मूल सुक्दै गएका छन् भने तराई, भित्री मधेसमा भूमिगत पानीको सतह घट्दै गएको छ । वातावरणीय प्रभावकै कारण पानीका स्रोत संरक्षणमा झनै समस्या थपिएको छ ।

सुख्खा मौसममा खडेरी लाग्ने समस्या एकातिर छ भने अर्कोतर्फ बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुने क्रम बढेको छ । वातावरण संरक्षणमा नेपाल सरकारले खासै चासो र चिन्ता गरेको पाइएको छैन । हाम्रो घर आँगनका बन जङ्गल, रुख बिरुवाको संरक्षण नहुँदा पहाडी जिल्लाहरूमा मूल सुक्दै गएका छन् ।

जलवायु परिवर्तको कारणमा वायुमण्डलमा ताप सञ्चय गर्ने कार्बनजस्ता वस्तुको मात्रा बढ्नु पनि हो । कार्बन उत्सर्जनमा कमी नहुँदा वातावरण संरक्षणको नारा नारामै सीमित भैरहेको छ । वातावरण विनाशका कारण वायु प्रदूषण, जल प्रदूषण, जैविक विविधतामा ह्रास र विभिन्न सङ्क्रामक रोगहरू फैलिँदै गएका छन् ।

यसै गरी चुरेको बढ्दो दोहन, वन विनास लगायतका कारण नेपाल पनि मरुभूमिकरणको समस्याले आक्रान्त बन्ने अवस्था उत्पन्न भएको छ । वातावरण विनासको असर प्रकृतिमा परेको छ । विश्व मरुभूमिकरणको खतरा बढिरहेको छ ।

जैविक तथा प्राकृतिक सन्तुलन कायम गरी मानव जीवन अनुकूलित वातावरण कायम राख्ने उद्देश्यले सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालको संविधान ०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गरेको छ । साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण, ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।

चिन्ताको कुरा के छ भने प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्याय लगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ ।

अहिले विश्वकै चासो र चिन्ताको विषय बढ्दो तापमान कसरी घटाउने भन्ने नै हो । त्यसै गरी जथाभाबी विषादीको कारण विश्वबाट कयौँ प्रजातिका जङ्गली जनावर नै लोप भएका छन् । औद्योगिक प्रदूषणले ओजोन तह विनास भएको छ ।

त्यसकै कारण लाखौं मानिस र जीवजन्तु र अन्नबाली प्रभावित भएको छ । मानव जीवन र प्रकृति बीच असन्तुलन छ । त्यसमाथि बढ्दो औद्योगिकरण र बिलासिताका सामग्रीहित यातायातजन्य सवारी साधनको अत्यधिक प्रयोग, वायुमण्डलमा कार्बन डाइअक्साइडको अस्वाभाविक वृद्धि, हरितगृह प्रभावमा नकारात्मक असर, तीव्र उष्णीकरण, लगायतका कारण पर्यावरणीय असन्तुलन बढ्दै गएको छ ।

अतः यो बर्षको नाराले भनेजस्तै जलबायु परिवर्तनमा ध्यान दिने बेला आएको मात्रै होइन, ढिलाई भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?